काठमाडौं । पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई आसन्न आम निर्वाचनलाई मध्यनजर गर्दै जेलमै रणनीतिक बैठक गर्न अनुमति दिएको छ ।
पाकिस्तानमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुँदैछ । यसलाई लिएर पाकिस्तानमा अहिले राजनीतिक सरगर्मी बढेको छ । तर, तहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खान भने जेलमा छन् ।
अदालतले इमरान खानले पार्टी सदस्य असद कैसर, जुनैद अकबर खान, सिनेटर औरंगजेब खान र मोहम्मद खान र इश्तियाक मेहेरबानसँग बैठक गर्न अनुमति माग्दै दायर गरेको रिटमा फैसला सुनाएको हो ।
शुक्रबारको सुनुवाईको क्रममा, पाकिस्तानका महान्यायाधिवक्ता ९एजीपी० मन्सुर उस्मान अवान, इमरान खानको पार्टीका वकिलहरू र अदियाला जेल सुपरिटेन्डेन्ट अदालतमा उपस्थित भएका थिए ।
पाकिस्तान तहरीक–ए–इन्साफका वकिल शोएब शाहीनले पार्टीले ७०० टिकटको बाँडफाँडमा छलफल गर्न आवश्यक रहेको बताएका छन् ।
निर्वाचन कार्यक्रम सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलका शिविरमा चुनावी गतिविधि सुरु भएको छ ।
आइतबार उम्मेदवारी दर्ताको अन्तिम मिति सकिँदै गर्दा निर्वाचनको कार्यक्रम धमाधम चलिरहेको छ । निर्वाचन अधिकृतले डीसेम्बर २५ देखि ३० सम्म मनोनयनपत्रको छानबिन गर्ने कार्यतालिका रहेको छ ।
गत वर्ष मार्चमा वाशिंगटनस्थित देशको दूतावासले पठाएको गोप्य कूटनीतिक पत्र खुलासा गरेर आधिकारिक गोप्य कानूनको उल्लंघन गरेको आरोपमा पूर्व प्रधानमन्त्री इमरान खानलाई अगस्टमा पक्राउ गरिएको थियो ।
७१ वर्षीय इमरान खान र उनका निकट सहयोगी ६७ वर्षीय पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई सोमबार विशेष अदालतले गोप्य सूचना चुहावट गरेको आरोपमा दोषी ठहर गरेको हो ।
प्रतिक्रिया