देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने

देशान्तर


काठमाडौं । गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जादैछन् । इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामको लागि सहमत हुन इच्छुक रहेको बताएपछि उनको इजिप्ट यात्राबारे जानकारी आएको हो ।
संयुक्त राष्ट्रसङ्घले युद्धविरामको आह्वानमा मतदान गर्न लागेकाले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्रमा सहायता बढाउन सक्ने नयाँ युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ । गाजा पट्टीमा इजरायली आक्रमणमा परी थप ११ जनाको मृत्यु भएको हमासको स्रोतले बुधबार जनाएको छ ।

कतारस्थित हमासका नेता इस्माइल हनियाहले इजिप्टका गुप्तचर प्रमुख र अन्यसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाईका लागि सम्झौता तयार गर्न’ वार्ता गर्न ‘उच्चस्तरीय’ प्रतिनिधिमण्डलको नेतृत्व गर्ने अपेक्षा गरिएको समूहनिकट स्रोतले एएफपीसँग बताएको छ ।

इजरायली नेताहरूले गाजामा बन्धक बनाइएका १२९ जना बन्धकहरूको रिहाईका लागि बढ्दो मागहरूको सामना गरिरहेका छन् र मङ्गलबार उनले हमाससँग वार्ताको टेबुलमा फर्कने सङ्केत दिएका थिए ।
इजरायली राष्ट्रपति इसाक हर्जोगले आफ्नो देश बन्धकहरूको रिहाईका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना गुप्तचर प्रमुखलाई बन्धकहरूलाई मुक्त गर्न दुई पटक युरोप भ्रमणमा पठाएको बताएका छन् । यसैबीच प्यालेस्टिनी लडाकू समूह इस्लामिक जिहादले मङ्गलबार भिडियो फुटेज सार्वजनिक गर्दै गाजामा आफ्नो हिरासतमा रहेका दुई जना बन्धकलाई जीवितै देखाइएको दाबी गरेको छ ।

गत अक्टोबर ७ मा गाजाबाट हमासका लडाकुहरू बाहिर निस्केपछि युद्ध सुरु भएको र इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको इजरायली तथ्याङ्कले देखाएको छ । गाजाको हमासको नेतृत्वमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले १९ हजार ६६७ जनाको ज्यान गएको र त्यसमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ । रासस