स्फूर्त झुट, आत्मविश्वासको साथ
उसले बोल्न सकेको हुनाले
ऊ महान् बनेको छ
किनकि –
अरूले सुन्दा त्यो सत्य बन्छ
चाकरी भद्दा देखिन्छ
आफूले आफंैलाई अमानवीय जन्तु बनाउँदा
र, शासकलाई आराध्यदेव
यो बौद्धिक पेसा थियो कतिको
दुई टुक्रा रोटीको लागि
केही सान, केही दान पाउनको लागि
विद्वानले यतिसम्म लेखे –
चन्द्रशमशेरलाई भगवान् राम भनेर
के हो यो चाकरी ?
डर, बाध्यता, आकांक्षा, आदत वा वंशाणु
बाध्यतामा कामेका धेरैको लागि
जिउ तताउन चाकरीको राप चाहिन्थ्यो
कतिको त जिनमै लेखिएको
तर केही जिउँदा मान्छे
जिउँदो भएर बाँचेका थिए हिजो
र, छन् अहिले पनि
आज
चाकरीको परिष्कृत स्वरूपमा
माथिकोलाई रिझाउने
तलकोलाई बुट बजाउने
त्यो चाकरी कलाकारिताबाट उठेको ऊ
त्यसको अद्वितीय प्रदर्शन गर्न
निहुरिँदै जाँदा
जमिन छोएको थियो उसको टाउकोले
अहिले ऊ सबैभन्दा ठाडो टाउको देखाउँछ
उँचो देखिन्छ सामाजिक बिहार गर्दा
रजहाँसले जल बिहार गरेसरह
केन्द्र बिन्दुमा राखेको छ उसले
केवल आफूलाई मात्र
मानै, सबै उसैको वरिपरि घुमेका छन्
एउटा महान् कला हो यो
शरद पूर्णिमाको १६ कला अभिव्यक्त याममा जस्तो
बढाइँको अमृत वर्षा हुन सक्ने
झुट लिपिबद्ध भयो भने
स्वनामधन्य विद्वानहरूले
उच्च आसनी दिँदा रहेछन्
इतिहासको चोइलो होइन यो
आत्मरतिको अग्लिएको शृंखला
थुप्रो झूटको गेगरमा केही सत्य लिपेर
महान् कलाले सुरम्य पारिएको
कलाकारी, कारिगरी
यसरी बनेको यो शृंखला
यसको तारिफ छ आजभोलि
खरायो निस्केका छन् टोपीबाट
एकपछि अर्को
पाइड पाइपरको पछि लागेका मुसाहरूजस्तो
झुटबाट सम्मोहित भएकाहरूले
यो आत्मरतिलाई थामिरहेका छन्
काँचो मूल्यांकनको टोपी खस्ने आरोह
सातौं आसमानमा पु¥याइएको
सत्य र असत्यको यो लुकामारी
त्यसबाट निसृत प्रवाहले
कुन बढी सिञ्चित होला ?
होला या नहोला ?
जे होला
अर्को पुस्ता दिग्भ्रमित नहोला?
प्रतिक्रिया