म केही थिइनँ
न म केही छु
जे छु, सही छु
न आकाश छुन चाहे
न धर्तीमा हराउन चाहे
जहाँ छु, सही छु ।
मालिक रिझाएको
दासत्व स्वीकारेको
मुखियाको तागत ।
त्यो तागतको अधीनस्थ
दासानुदास उज्यालोको टहकमा
कुरूप चुरिफुरीको दबदबा ।
विकट बाध्यतामा बाँच्नेको
वीर हुने अर्को बाध्यता
जिउनको लागि मर्ने अठोटमा ।
हराएको मान्छे
हराएको स्वर
डरलाग्दो मूक पीडा ।
पीडाको नसुनिएको आवाज
उदयाचलको शंखनाद
निसासिएको उन्मुक्ति ।
रम्नु जिन्दगी
गुमाउन न गम्नु
यात्रा अन्ततः अन्त्यको ।
प्रतिक्रिया