सगरको यात्रामा मेघ थाक्छ
हलचल गर्न सक्तैन
अनि झर्छ
तिर्खाएकी धरा
प्यास बुझेर तृप्त भएपछि
बल्ल जल कणहरू मिल्छन्
अनि बाटो खोज्छन् यात्राको
कहिले नटुंगिनेजस्तो प्रवाह बनेर
यसरी हुर्किंदै जाँदा नदी बन्छ
नदीले आफ्नै बाटो आफैं बनाउँछ
जति घुम्न परे पनि
जति बुहार्तन भोग्नु परे पनि
अरूको बाटोमा हिँड्दैन
आफ्नै बाटो पहिल्याउँछ
तर वेगवान् बन्न
उच्च धरातलसँग
पानीको मुस्लोले
चिप्लेटी खेल्न सक्नु नै पर्दछ
त्यति वेला –
प्रत्येक बुँदमा
कोटी सूर्य जल्न सक्छ
आफ्नै बाटोमा हिँडेको यो तागतलाई
हाम्रा स्वनामधन्यहरू
कार्यकर्तासरह हिँडाउन चाहन्छन्
अन्तले भनेको ठाउँमा पानी पु¥याउन
आफ्नै माटो सिच्ने तन्नेरी ज्यान
मरुभूमिमा पु¥याउँछन्
आफू स्वप्न बगैंचामा रमाउन
असीमित बुँदहरू लहरिएपछि
बनेको वेग
सागरमा पुग्न लाग्दा
हलहल गर्न नसक्ने भइसकेको हुन्छ
त्यति वेला –
सागरले अंकमाल गर्दछ
उसको गहिराइमा समाधिस्थ हुँदा
बल्ल शान्ति पाउँदछ
यात्रा नदीको होस् या मान्छेको
एउटै हो, एउटै नै हो ।
प्रतिक्रिया