आँखाको नानीमा आफ्नै चेहरा हेरिरहेका
हामी दुई प्रिया प्रियतम
श्वास लिँदा छातीको स्पर्श
प्रश्वासमा आर्द्र–रुमानी प्रवाहले छुँदा
सुनिरहेका एक अर्कोको धड्कन
हामी डाँडामाथिको घाम होइनौं
समुन्द्र सतह भन्दा तल झर्न लागेको
गोधूलिमा रमाइरहेका जोडी
कहिले आँखाको नानीभित्र आफूलाई देख्छौ
कहिले एक अर्कोको अनुहार हेर्छौ
चेहरामा कुँदिएका रेखाहरू पढ्छौ
हाँस्दा खेरिको, रुँदा खेरिको
नबोलेर ठुस्स पर्दाको
एकले अर्कोलाई पकाउँदाको
आफ्नो मनभित्रको कुरु क्षेत्रमा
सधैं उद्गम, सधैं पङ्क्तिबद्ध भएका
दैविक र आसुरी शक्तिहरूबीच –
युद्ध चलिरहेको छ, अनवरत
यो हाम्रो संघर्ष
बामे सरेर उठ्न खोज्दा कति पल्ट लड्यौ
केही पाइलाहरू हिँड्यौ, दौड्यौ पनि
पृथ्वीको गुरुत्वाकर्षणले जस्तै
हामीलाई उठ्न नदिनेहरू पनि
कति नै माथि उठ्न सके र ?
यसरी तय गरेको लामो सहयात्रा
समय–प्रवाहसँग अनुबन्धित भएर
हामी देख्छौ भूगोल बदलिएको
तापक्रम बदलिएको
छटाहरू झन् बदलिएको
प्रकृतिको, अनि आफ्नो
यसरी बदलिएको हाम्रो आकाश
बदलिँदै गएका हामी, हाम्रो काया
सुरुवातले बदल्दै पु¥याउने अन्त्य
तर नबदलिएको एउटा प्रगाढता
पूर्ण बनेको प्रत्येक पलसँग
त्यो हो हाम्रो पलपलको समागम
जीवनको रागसँग लयबद्ध अनुराग
हाम्रो माया, हाम्रो अमर प्रेम
प्रतिक्रिया