देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा चिनियाँ अपराधको राज

देशान्तर


काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको तयारी गरिरहँदा नेपालमा सक्रिय चिनियाँ अपराधीको सञ्जाल नियन्त्रण भने चुनौतीपूर्ण बनेको छ । एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका अपराधका ठूला घटनामा चिनियाँ नागरिकहरूको सहभागिताले चिनियाँ माफियाले नेपाललाई तस्करी र अपराधको केन्द्र बनाएको खुलेको छ ।
चिनियाँ राजनीतिक नेतृत्व नेपालको राजनीतिमा हस्तक्षेप बढाउँदै लैजाने र माफियाहरूले नेपाली भूमिलाई अपराध कर्मको केन्द्र बनाउनुले समग्र चीनको भूमिकामाथि नै प्रश्न उठेको छ । तस्करहरूले उच्च राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर तस्करीको जालो फैलाउँदै जाँदा सरकारले भने त्यस विषयमा राज्यस्तरमा ठोस छलफल नै गर्न सकेको छैन ।
पछिल्लो पटक सार्वजनिक भएका विद्युतीय चुरोट भेप र ब्रेक सुमार्फत गरिएका सुन तस्करीमा चिनियाँको संलग्नता पुष्टि भइसकेको छ । दुबई र हङकङबाट सुन ल्याउने र नेपालको बाटो हुँदै भारत पु¥याउने चिनियाँ गिरोहको पर्दाफास भइसकेको छ । यतिसम्म कि चिनियाँ तस्करीले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासहितका नेताहरूलाई पनि उपयोग गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । भेपमार्फत सुन तस्करीको घटनामा महराका छोरा राहुल केही दिनअघि मात्रै पक्राउ परेका छन् ।
राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न सहरमा सञ्चालित अवैध कल वाईपास भीओआईपीमा पनि चिनियाँ संलग्न छन् । गत वर्षमात्रै सरकारले १२२ चिनियाँलाई देश निकाला गरेको थियो । विभिन्न आवरणमा नेपाल आउने र अपराध गर्ने चिनियाँहरू पछिल्लो समय बढ्दै गएको सरकारी निष्कर्ष छ ।
कतिपय चिनियाँले त नेपाली नागरिकतासमेत बनाएको पाइएको छ । काठमाडौंसहित विभिन्न जिल्लाबाट नागरिकता बनाएको र सोही आधारमा राहदानीसमेत बनाएको पाइएपछि अनुसन्धान सुरु भएको छ ।