देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केसीको सिनेमेट्रोग्राफी यात्राः बलिउडदेखि नेपालसम्म

देशान्तर


काठमाडौं । नेपाली फिल्म उद्योगका सफल सिनेमेट्रोग्राफरको सूचीमा पर्छन्, रामकुमार केसी । उनले नेपाली मात्रै होइन बलिउड फिल्म उद्योगमा पनि काम गरेका छन् । सिनेमेट्रोग्राफीमा उनको लगाव र समर्पण देख्दाधेरैलाई लाग्न सक्छ, उनको परिवारिक पृष्ठभूमि नै यही प्रकारको थियो ।तर, होइन ।
ललितपुरमा जन्मिएका केसीले स्कुले पढाइ सक्दासम्म कुनै सपना देखेनन् । एसएलसीको परीक्षा सकेर दिल्ली पुगेका केसी त्यहाँ फोटोलाई दिइएको महत्व देखे । त्यतिबेला उनकी दिदी दिल्लीमा थिइन् । दिदी भेट्न दिल्ली पुगेका केसीको मन त्यहाँ खुलेका स्टुडियोहरूमा गएर अल्झियो ।
नेपालमा त्यतिबेला सम्झनाका लागि पारिवारिक फोटो खिच्ने र रिल धुलाएर राख्ने प्रचलन थियो । तर जीवनका हरेक उत्सवहरूलाई फोटो भिडियोमा कैद गरेर राख्ने प्रचलन सुरु भएकै थिएन ।दिल्लीमा उनले पहिला विवाहको भिडियो खिचेको देखे । हिजोआज नेपालमा जसरी म्युजिक भिडियो बनाउँछन्, त्यतिबेला मुम्बईमा त्यसैगरी विवाहको भिडियो बनाइन्थ्यो । फोटो स्टुडियो पनि प्रशस्तै थिए । केसीलाई पनि सिनेमेट्रोग्राफीमा रुचि भयो । त्यसपछि उनले मुम्बईमा सिनेमेट्रोग्राफीको तालिम लिए ।
केही समय मुम्बई बसे । केही विवाहमा सामेल भए, फोटो भिडियो खिचे र नेपाल फर्किए । आईएस्सी भर्ना भए । पढ्नु थियो साइन्स, मन अल्झिएको थियो सिनेमेट्रोग्राफीमा । उनी आईएस्सी सकेर फेरि मुम्बई हानिए । सिनेमेट्रोग्राफीमै ढेड वर्षको डिप्लोमा कोर्स गरे ।यसपछिका केही वर्ष उनले उतै बिताए । मुम्बईका सिनेमेट्रोग्राफरसँग सहायक सिनेमेट्रोग्राफरका रूपमा काम गरे । भारतका चलेका टेलिसिरियलमा काम गरे । त्यहाँ उनले सात वर्ष बिताए । उनी बलिउडमा स्थापित सिनेमेट्रोग्राफर बनिसकेका थिए ।
सिनेमेट्रोग्राफरका रूपमा आफूलाई आत्मविश्वासी बनाएपछि नेपाल फर्किएका केसी अहिले नेपाली फिल्म उद्योगमा सक्रिय छन् । तर, नेपाल आउनेबित्तिकै उनका लागि सिनेमेट्रोग्राफीको यात्रा सहज थिएन । भन्छन्, ‘हिजोआज त सामाजिक सञ्जालले हरेक मान्छे कहाँ के गरिरहेको छ थाहा हुन्छ ।
उनलाई नेपाली फिल्ममा काम गर्नु थियो । उताको करियर छोडेर नेपाल आए । करिअर छोडेर आउँदा समय यस्तो थिएन । मैले मुम्बईको इन्ड्रस्टीमा बिताएको समय, त्यहाँ गएर अध्ययन गरेको शिक्षा र बटुलेको अनुभव कसैलाई थाहा थिएन ।त्यसैले यहाँ आउनासाथ काम पाइहाल्ने अवस्था थिएन ।मलाई नेपाली फिल्म उद्योगमा प्रमाणित गर्न समय लाग्यो ।’
हरेक क्षेत्रका नेपाली बलिउडको बजारमा करिअर बनाउने संघर्ष गरिरहेका हुन्छन् । लामो समय नेपाली मनोरञ्जन उद्योगमा काम गरेका थुप्रै कलाकारले बेलाबेला भारतीय बजारमा आफूलाई प्रमाणित गर्ने कोसिस गरेका छन् ।कतिले आफूलाई उतै स्थापित पनि बनाएका छन् । तर केसी भने बलिउडमा स्थापित भैसकेपछि नेपाल फर्किए ।उनलाई त्यहाँको बजारले मोहित पार्न सकेन । मोहित पारेर तानेको ज्ञानको भोकले हो । त्यसो त उनीसँग सिनेमेट्रोग्राफी अध्ययनका लागि मुम्बई जानुका पछाडि पनि बेग्लै कथा छ । भन्छन्, ‘त्यतिबेला यहाँ सिक्ने ठाउँ नभेटेर म सिकाइको तिर्खा मेट्न मुम्बई गएको हुँ । तर सिकेर यही केहि गर्ने मेरो उद्देश्य थियो ।’
त्यतिबेला नेपाली फिल्म उद्योगमा नम्बर वान सिनेमेट्रोग्राफरको परिचय बनाएका राजुविक्रम थापासँग केसीको भेट भयो । केसीले उनैको असिस्टेन्ट सिनेमेट्रोगाफरका रूपमा काम सुरु गरे । राजेश हमालदेखि श्रीकृष्ण श्रेष्ठसम्मका थुपै्र फिल्ममा असिस्टेन्टसिनेमेट्रोगाफरका रूपमा काम गरे । राजुविक्रमसँग उनले झन्डै २० वटा फिल्ममा काम गरे ।
‘वीरविक्रम’ फिल्म केसीले आफैं सिनेमेट्रोग्राफर भएर खिचे ।फिल्म चल्यो । त्यसपछि उनले ‘अनुराग, सिसा, फिर्के’ लगायतका थुप्रै फिल्ममा काम गरे । अहिलेसम्म उनले ३० वटाभन्दा धेरै नेपाली सिनेमा खिचिसकेका छन् । पछिल्लो समय केसीको व्यस्तता म्युजिक भिडियोमा देखिएको छ ।
केसीले सिनेमेट्रोग्राफी सुरु गर्दा फिल्मका दृश्यले मागेजस्ता क्यामरा थिएनन् । म्युजिक भिडियो र फिल्म खिच्ने क्यामरा फरक हुन्थे । तर कामका हिसाव निक्कै सहज थियो ।हिजोआज किसिमकिसिमका क्यामरा छन् । चाहेजस्तो दृश्य कैद गर्न सकिन्छ । केसी फिल्ममा होस् अथवा म्युजिक भिडियोमा नयाँनयाँ प्रयोग गरिरहेका हुन्छन् ।
समय एकनास रहेन । हिजोआज मानिसहरू हरेक क्षेत्रको थोरै ज्ञानआर्जन गर्ने र हरेक क्षेत्रमा आउने प्रचलन छ । सिनेमेट्रोग्राफीका क्षेत्रमा पनि अल्पज्ञान लिएर आउने फोटोग्राफर प्रशस्तै छन् । यसले गर्दा प्रोफेसनल भएर काम गर्नेहरूलाई केही अप्ठ्यारो त सिर्जना गरिदिएको छ । त्योभन्दा धेरै फिल्म तथा म्युजिक भिडियोको क्वालिटी खस्किएको छ । केसीलाई उद्योगमा भैरहेको क्वालिटीविहीन कामले बेलाबेला नमज्जासँग झस्काउँछ । भन्छन्, ‘उद्योग जति विस्तारित र पुरानो हुँदै जान्छ, काममा गुणस्तर पनि त्यहीअनुसारको देखिनुपर्ने हो । त्यसो हुन सकेको छैन ।’
अहिले पनि उनी नेपाली फिल्म उद्योगमा मात्रै सीमित छैनन् । बेलाबेला मुम्बईका सिनेमेट्रोग्राफर उनलाई बोलाइरहन्छन् । मुम्बई जान्छन्, केही फिल्ममा काम गर्छन् । कहिलेकाहीँ विहारतिर जान्छन्, भोजपुरी सिनेमा खिच्छन् र फर्किन्छन् । नेपालमा भन्दा प्रविधिका हिसाबले भारतमा काम देखाउने प्रशस्तै ठाउँ भेटिन्छन् । तथापि केसीलाई भने नेपालमै काम गर्दा आत्मसन्तुष्टि मिल्छ । भन्छन्, ‘आत्मसन्तुष्टिभन्दा ठूलो अरू के हुन्छ र?’