काठमाडौं । नेपाली कांग्रेसका कोसी प्रदेशसभा सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मन्त्री नियुक्त गरेका हुन् । मण्डलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् ।
जसमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।
मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद छन् । सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनको बहुमत पुगेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
थापाले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ । प्रदेशसभाको बैठक भदौ १ गते बोलाइएको छ ।
प्रतिक्रिया