देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनमा कर लगाएर आयात खोलौ :सभापति देउवा

महरा जोडिएको सुन प्रकरणमा पार्टीले नभइ राज्यका निकायले छानबिन गर्नु पर्छ :महामन्त्री थापा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सुनमा कर लगाएर आयात खोल्नुपर्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सुनको आयात खोल्नुपर्ने राय राखेका हुन् ।

सुन तस्करी प्रकरणलाई लिएर कांग्रेस बैठकमा चर्को बहस छ । छानबिनको लागि नेताहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् । उनले नेताहरूको आलोचना गर्न पाइने पनि बताएका छन् । तर उनले पार्टीको अनुशासनभन्दा बाहिर गएर बोल्ने कुरा राम्रो नहुने भन्दै नेताहरूलाई जथाभाबी नबोल्न चेतावनी दिएका छन् ।

यसैगरी महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको सुन प्रकरणमा माओवादीले धारणा प्रष्ट पारेर नहुने बताएका छन् ।
संसदीय दलको बैठकमा आफ्ना धारणा राख्दै उनले यसमा पार्टीले नभइ राज्यका निकायले छानबिन गर्नुपर्ने धारणा राखे । “प्रधानमन्त्रीको पार्टीको होस् कि जो सुकै होस् छानबिनको दायरामा आउनु पर्छ ” थापाले भने । महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका महराबारे केन्द्रीय अनुसन्धान ब्युरोले स्पष्ट पार्नुपर्ने बताए । उनले कुनै एउटा काण्डमा शीर्ष नेताहरुको नाम जोडियो भने हाम्रो नेताको मात्रै तिम्रो खोई त ? भन्ने प्रश्न उठ्न थालेको बताउँदै यस्तो धारणा बदल्नुपर्ने बताए । थापाले आफ्नो नेतृत्वको गठबन्धन सरकारले गरेका राम्रा र नराम्रा दुवै कामको जिम्मा कांग्रेसले लिनुपर्ने धारणा समेत राखेका छन् । यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सुन तस्करी प्रकरणमा राज्यका निकायलाई छानबिनका लागि सहयोग गर्नुपर्ने धारणा राखेका छन् । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस दलको बैठकले प्रमुख प्रतिपक्ष दललाई सदन खुलाउन आग्रह गरेको बताए ।