काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ किलो सुन प्रकरणमा भएको अनुसन्धानमा सरकारलाई चित्त नबुझे थप छानबिन गर्न सक्ने बताएका छन् ।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार बन्नुभन्दा पहिला नै ३३ किलो सुन आएको दाबी गरे । ओलीले एमालेलाई सत्ता मोह नरहेको बताए । उनले एमालेले हेरको छैन भनेर सरकारले जे गर्न पनि नपाउने बताए ।
पत्रकार सम्मेलनमा ओलीले सञ्चारमाध्यमले पनि प्रतिपक्षका आवाजलाई बेवास्ता गरेको गुनासो गरे । उनले आफूहरुले सुन प्रकरणमा निष्पक्ष छानबिनको माग गरिरहेको बताए । अध्यक्ष ओलीले नेकपा एमालेले संसद अवरोध नगरेको प्रस्टिकरण दिए । पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले निश्पक्ष छानबिन आयोग गठन गर्न किन नहुने भन्दै प्रश्नसमेत गरे ।
साथै उनले तस्करीको सुनमा सरकारको संलग्नता नभए किन आयोग बनाउन तर्सिएको भन्दै प्रश्न गरे । उनले संसद अवरोध हुन नहुने र एमालेले नभई सत्तापक्षले नै संसद अवरोध गरेको बताए । उनले संसदमा प्रतिपक्ष बोल्न उठ्ने वित्तिकै सत्तापक्ष उठेर होहल्ला गर्ने बोल्नै नदिने गरेको समेत बताए ।
बहलवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने ओलीको माग छ ।
फरक प्रसंगमा पत्रकारले सोधेको प्रश्नको जवाफमा ओलीले पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भनेर कोसिस भइरहेको टिप्पणी गरे ।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा ल्याउने प्रयास भइरहेकोबारे सञ्चारकर्मीको जिज्ञासामा त्यस्तो बताएका हुन् । उनले भण्डारी पार्टीका सबै नेताहरुको आदरणीय व्यक्तित्व भएको समेत बताए ।
यसैबीच नेकपा एमालेले सुन तस्करी प्रकरणमा स्वतन्त्र र निश्पक्ष उच्चस्तरिय छानबिन समितिको अडानबाट पछि नहट्ने भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा विशेष पत्रकार सम्मेलन गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले करिब क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले नै तस्करहरुलाई संरक्षण गरेको आशंका गर्दै आफूहरुले भनेजस्तो उच्चस्तरीय छानबिन आयोग गठनको कुरा सुन्नै नचाहेको भनाई राखे ।
पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति वाचन गर्दै गौतमले एमालेले अघि सारेको माग पुरा नभएसम्म दबाबका कार्यक्रम जारी नै राख्ने एमाले निर्णय कायम रहेको बताए । एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको भन्दै यही सरकार रहे मुलुक असफल राष्ट्र बन्ने दाबी गरेको छ ।
प्रतिक्रिया