काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।
शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताए ।भट्टराईले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताएका छन् । सबै भ्रष्टाचारसम्बन्धी मुद्दाहरुको छानबिनका लागि उच्चस्तरीय आयोग जरुरी रहेको उनको भनाइ थियो । भ्रष्टाचार निर्मूल पार्न व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने बताउँदै उनले संरचनागत ढङ्गले नै अगाडि जानुपर्ने धारणा राखे ।
उनले विगतमा बनाइएका आयोग जस्तो नभई बलियो र निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरु खोल्नुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताए ।
आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए ।
ललितानिवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने बयान दिन जाने बताए । सय केजी सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठनको माग गर्नु गलत नभएको भट्टराईले बताए । भट्टराईले लुम्बिनी विकास कोषमा विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गर्नु ठीक नभएको बताए ।
प्रतिक्रिया