काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सुन तस्करी प्रकरणमा पार्टी नेता कृष्णबहादुर महराको नाम जोडिएको तर यथार्थ बाहिर आएजस्तो नभएको दाबी गरेको छ ।
प्रवक्ता नियुक्त भएपश्चात् बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै अग्नि सापकोटाले बाहिर आएजस्तो यथार्थ नभएको दाबी गरे । सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताए ।
उनले पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पनि निष्पक्ष छानबिनको माग गरेको बताए । साथै, महरा आफैले निष्पक्ष छानबिन गर्न माग गरेको पनि उनले जानकारी दिए ।
उनले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्याउने कुरामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दृढ भएको पनि बताए ।
प्रवक्ता सापकोटाले ल्यारक्याल लामाको नियुक्तिबारे टिप्पणी गर्न आवश्यक नभएको बताए ।
पार्टी नेता लामालाई माओवादी कोटाबाट लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष बनाइएको उनले बताए ।
त्यस्तै उनले संसदमा एमालेको अवरोध बार्गेनिङका लागि भएको आरोप लगाउँदै उनले सुन प्रकरणमा राज्यका आधिकारिक निकायले छानबिन गरिरहेकाले छुट्टै छानबिन समिति आवश्यक नभएको जिकिर गरे ।
प्रतिक्रिया