देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्मृतिमा विपिन शर्मा


विपिन शर्मासँग मेरो परिचय धेरै लामो त थिएन । तर, उनी मूलतः एक साहित्यकार भएकाले, मप्रति थोरै समयमै सहृदयी, सहयोगी भए । उनले दीप गोविन्द स्मृति सम्मानहरूको स्थापनाको केही कालपछि नै त्यसलाई आफ्नो संस्थागत दायित्वका रूपमा परिणत गराएका थिए । कार्यसमिति पनि उपलब्धिको साहित्यप्रेमी थिए, त्यसैले त्यसलाई मान्यता पनि दिए । नत्र एक्लै मैले यति लामो समयसम्म सुचारु गर्न कठिन हुन्थ्यो ।

विपिन शर्मा स्वयम्, साहित्यकार थिए । उनका कथाहरू जति पढेको थिएँ, राम्रो थिए । एउटा संग्रह निकाल्ने हाम्रो राय पनि थियो । उनी पनि सहमत थिए । अब के हुन्छ ? यी सबमा रोशन थापा पनि सहयोगी हुन्थे, ‘उपलब्धि’ नामक पत्रिका ‘उपलब्धि’ सम्पादक रोशन थापा नै थिए ।

मैले एक असल मानिसको सूचीमा विपिन शर्मालाई जसरी राखेको थिएँ । उनको सरलता मितभाषिता, सहयोगी र साहित्यलाई माया गर्ने प्रवृत्तिले म वास्तवमा प्रभावित थिएँ ।

विपिन शर्मासँग कतिपय मित्रहरूभन्दापछि परिचय भएको थियो । उनीसँगको परिचयपछि नै तर्क धेरै नगरे पनि तर्क र विचार ग्रहण गर्ने शक्ति स्मरणीय थियो । त्यसैले छोटो समयमै उनी परिचितबाट हितैषी अनि हितैषीबाट मित्र बनेका थिए । यो मेरो स्वभावले होइन, जति उनको स्वभावका कारण भएको थियो ।  

आफ्नो साहित्यिक रुचिका कारण उनको संस्था उपलब्धिबाट उपलब्धि नाम साहित्यिक पत्रिका प्रकाशित गरिन्छ । जसका सम्पादक रोशन थापा छन् । मेरो पुस्तक पनि विपिनले प्रकाशित गरिदिएका थिए । उनले प्रेस पनि चलाएका थिए । यसबाट पनि साहित्यिक प्रकाशनलाई सजिलो भएको थियो । ‘उपलब्धि’ संस्थाले एक साहित्यिक सञ्चय योजना पनि सञ्चालन गरेको थियो । त्यसको एक सदस्य म पनि थिएँ । उनको थानकोटमा कतै घर थियो क्यार सनत रेग्मी पुगेर आएका थिए । एकदिन विपिनजीले भने– ‘डा. साब, एक पटक हजुरलाई पनि त्यहाँ लगेर राख्न चाहन्छु । त्यहाँको प्राकृतिक दृश्यमा रमाइलो हुन्छ । त्यो योजना अब पूरा हुँदैन ।

होमराज आचार्यसँग पनि कुनै कार्यक्रममा सहकार्य गरिरहेका थिए । बेलाबेलामा उनीसँग अभियानमा गएको कुरा गर्ने विपिनजी । म नपरे पनि कसैलाई नाइँ भन्न नसक्ने प्रकृतिका थिए उनी ।

प्रायः मेरो जन्मदिन मनाइदिन्थे । कहिले बाहिर कहिले मेरो घरमा आएर । एक पटक उनी बाहिर थिए । त्यस जन्मदिनमा उनकी श्रीमती आइन् र विधिवत् केक काटेर विधिवत् मनाएर गइन् । रोशन थापा र म बसेर अबेरसम्म मनाइरह्यौं ।
मेरो मात्र होइन, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दथे । एक पटक वरिष्ठ कलाकार लक्ष्मी गिरीको सम्मानमा भव्य कार्यक्रम गरिएको थियो । विपिनजीले नै निम्तो गरेका थिए ।

एउटा अर्काे कुरो थियो ‘उपलब्धि’को कुनै पनि कार्यक्रममा निम्त्याउँदा गाडीले लिने पु¥याउने व्यवस्था गरिन्थ्यो, हामी केहीलाई । सहकारीको कार्यक्रममा प्रायः सहकार्यसम्बन्धी पदाधिकारी मुख्य अतिथि हुन्थे भने, साहित्य संस्कृतिका कार्यक्रममा तिनै क्षेत्रका अथवा अन्य क्षेत्रका व्यक्ति भए पनि साहित्य कला संस्कृतिका जानकार व्यक्ति मुख्य अतिथि बनाइन्थ्यो । जस्तो उदाहरणका लागि प्रदीप गिरी मुख्य अतिथिका रूपमा निम्त्याइएका थिए । मित्र प्रदीप गिरीसित सम्भवतः त्यही मेरो अन्तिम भेट थियो । त्यसमा बोल्दा उनले भनेका थिए– ‘म धु्रवचन्द्रजीसँगै भेट्न भनेर आएको हुँ । धेरै दिनमा भेट भएकाले खुसी पनि लाग्यो । प्रदीप गिरीसँगको त्यो भेट र पछि कुराकानी । तर के थाहा, त्यही भेट अन्तिम जस्तै हुनेछ…. ।

यद्यपि, ‘उपलब्धि’को प्रत्येक साहित्यिक गतिविधिमा कार्यसमिति वा अन्य पदाधिकारीको पनि सहमति हुन्थ्यो तर मलाई सबको फेस भने मलाई विपिनजी नै लाग्दथ्यो ।

यद्यपि उनी मेरा घनिष्ट मित्र त्यस्तरी होइनन् । तर मलाई लेखकका रूपमा मान्दथे । त्यसरूपमा निकट थिए । त्यसकारण दीप गोविन्द सम्मानबारे उनी सहमत नै रहन्थे मसित । त्यसअन्तर्गत हामी बैशाख २० गते आख्यान दिवस मनाउने गर्दछौं । ‘सहकारी’मा समस्या हुँदा, उनी भन्थे, म गर्दैछु, छिट्टै समाधान हुन्छ । उनी आशावादी थिए । मिलाउँदै पनि थिए ।
अब बैंक त अन्य मानिसबाट अन्य किसिमले चल्ला तर उपलब्धिले गर्ने साहित्यिक कार्यक्रम के हुन्छ ? यो प्रश्न मेरो मनमा छ अवश्य ।

वास्तवमा एक असल र हरेक किसिमले भद्र मित्र अब छैनन् भन्ने सुन्दा मलाई अचम्म पत्यार लाग्दैन । एक साहित्यकार साहित्यलाई प्रेम गर्ने व्यक्ति गुमाउनु, हर, किसिमले एक ठूलो क्षति हो ।

जुन दिन म बारम्बार फोन गरिरहे, फोन उठेन । मलाई थाहा थिएन । पछि मैले विपिनजीको आकस्मिक किसिमले भएको निधनबारे सुन्दा, मलाई एउटा शक लागेको थियो । जसको परकम्प अझै छ ।

‘जलरिका’ कार्यक्रमको बेलामा उनीसित भेट भएको थियो । हाँसेरै भेटे । हारी फालेका थिए । केही उदास हाँसो भए पनि मलाई बधाई दिए । त्यही मेरो अन्तिम भेट सिद्ध भयो । विपिनजीसित ।

झन् परिवारलाई कस्तो भएको होला । म विपिन शर्माको आत्माको शान्तिको कामना गर्दै श्रीमती, सन्तान र अन्य पारिवारिक सदस्यलाई धैर्यसाथ सहन गर्ने शक्ति आओस् भन्ने आन्तरिक कामना गर्दछु ।