काठमाडौं । उपत्यकाका स्थानीय तहको विकास बजेट खर्चमा चाँगुनारायण नगरपालिका एक नम्बरमा छ । उपत्यकाका २१ स्थानीय तहमध्ये गत आवमा सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकाले विकास बजेट खर्च गर्न सफल भएको हो ।
जवकि काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८-७९ मा १६ अर्ब ५१ करोड ६८ लाख रुपैयाँको बजेट विनियोजन गरेकोमा ७ अर्ब ३० करोड ८९ लाख खर्च भएको छ ।
चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीका अनुसार आर्थिक वर्ष २०७९÷८० मा चाँगुनारायण नगरपालिका ८१ दशमलव २६ प्रतिशत बजेट खर्च गरेको हो । जसका कारण काठमाडौं उपत्यकाका २१ स्थानीय तहमध्ये चाँगुनारायण सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तह बन्न सफल भएको छ ।
नगर प्रमुख खत्रीका अनुसार नगरपालिकाले चालूतर्फ ८० करोड १० लाख ७७ हजार विनियोजन गरेकामा ६७ करोड २१ लाख दुई हजार ९८३ दशमलव नौ प्रतिशत र पुँजीगततर्फ रु. १ अर्ब ३३ करोड ७२ लाख २७ हजार विनियोजन गरेकामा १ अर्ब ६ करोड ५५ लाख ६९ हजार ९ सय ७९ दशमलव ६९ प्रतिशत खर्च गरेको छ ।
नगरपालिकाले चालू र पुँजीगततर्फ गरेर कुल रु. २ अर्ब १३ करोड ८३ लाख ५ हजार विनियोजन गरेकामा कुल रु. १ अर्ब ७३ करोड ७६ लाख ७२ हजार खर्च गरेको छ । नगरपालिकाको मेयरमा जितेको एक वर्षमै खत्रीले नगरपालिकाको विकासमा ध्यान पुर्याएको कारण यो सम्भव भएको जिकिर गरे । आर्थिक वर्ष सुरु हुने बित्तिकै विकासका योजनालाई पूर्णता दिन बोलपत्र आह्वान गर्नेदेखि उपभोक्ता समिति गठन गरेर तीव्र गतिमा विकासका कार्यलाई अगाडि बढाउने गरेकाले विकासलाई तीव्रता र पूर्णता दिन सफल भएको खत्रीले बताए ।
चाँगुनारायण नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का वडाध्यक्ष जनक खत्रीले नीति तथा बजेटमा व्यवस्था भएअनुसार स्थानीयको आवश्यकतालाई प्राथमिकतामा राख्दै छिटो टेन्डर गर्ने, उपभोक्ता समिति गठन गरेर कामको थालनी गर्ने र उपभोक्ताको साथ, समर्थनले बिकास बजेट खर्चको लक्ष्य हासिल गर्न सफल भएको बताए । भक्तपुुर जिल्लाका चार पालिकामध्ये विकास बजेट सबैभन्दा कम खर्च गर्नेमा भक्तपुर नगरपालिका रहेको छ ।
प्रतिक्रिया