देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित

देशान्तर

काठमाडौं । मिटरब्याजसम्बन्धी विधेयक (मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०) राष्ट्रिय सभाबाट पुनः पारित भएको छ। बिहीबारको बैठकले विधेयक पारित गरेको हो।

यसअघि राष्ट्रिय सभाबाट पारित भइसकेको सो विधेयकलाई प्रतिनिधि सभाले संशोधनसहित पारित गरेको थियो। राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पारित गरेको हो।

कानुनमन्त्री धनराज गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई सभाले ध्वनी मतबाट सर्वसम्मत रुपमा पारित गरेको हो।

त्यसअघि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा कुनै सांसदले पनि भाग लिएका थिएनन्। जसले गर्दा विधेयक पारित हुने प्रक्रिया केही छोटो भएको थियो ।

मिटरब्याज पीडितलाई न्याय दिनका लागि यो विधेयकलाई छिटोभन्दा छिटो पारित गरिनुपर्ने आवाज उठेको थियो। राष्ट्रिय सभाको बिहीबारको पहिलो बैठकमा मन्त्री गुरुङले विधेयक छिटो पारित गरिदिन अनुरोध गरेका थिए। उनले सबैजना पीडितको पक्षमा उभिनुपर्ने बताएका थिए। उनले प्रतिनिधि सभाबाट संशोधन गर्दा विधेयकको रुप फेरिए पनि सार नफेरिएको भन्दै आश्वस्त बनाएका थिए।
सुरुवातमा अध्यादेशलाई प्रतिस्थापन गर्न आएको विधेयक सोही रुपमा पारित भएर प्रतिनिधि सभामा पठाइएको थियो। तर प्रतिनिधि सभामा यसलाई सामान्य विधेयकको रुपमा संशोधनसहित पारित गरिएको थियो ।

प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने थियो। तर, अन्तिम दिन प्रतिनिधि सभामा अवरोध भएपछि विधेयक पारित हुन सकेको थिएन। त्यसपछि प्रतिस्थापन विधेयकलाई साधारण विधेयकमा परिणत गरिएको थियो।

त्यसैले यो विधेयकको प्रक्रियामा एमालेले प्रश्न उठाएको थियो।

विधेयकका सन्दर्भमा महान्यायाधिवक्ता दीनमणि पोखरेलको राय लिइएको थियो। उनले विधेयक अगाडि बढाउनु उचित हुने सुझाव दिएका थिए।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्को केही नेपाल ऐन संशोधनका रूपमा विधेयक ल्याउनुपरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताए । अब यो विधेयक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन् । राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्नेछ । राष्ट्रिय सभाको अर्को बैठक साउन १८ गते बिहीबार अपराह्न १ः०१ बजे बस्नेछ ।