देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एफएमहरुले संगीतकार सुरेश अधिकारी किन गरे बहिस्कार ?

देशान्तर


काठमाडौं । संगीतकार सुरेश अधिकारीलाई निजी तथा सामुदायिक एफएम रेडियो सञ्चालकहरुका तीन संस्थाले बहिष्कार गरेको घोषणा गरेका छन् । नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) का अध्यक्ष आरके श्रेष्ठ, नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष कुमार भट्टराई र सामुदायिक रेडियो प्रसारक संघ (एक्यो¥याब)का अध्यक्ष अर्जुन गीरी द्वारा जारी गरिएको विज्ञप्तिमा बहिस्कारको घोषणा संगै नेपाल सरकारसँग आमसञ्चार गृहको सुरक्षाको मागसमेत गरिएको छ ।
विज्ञप्तिमा सुरेश अधिकारीले फेसबुकमा लेखेको स्टाटस र टेलीफोन सम्बादलाई लिएर आपत्ति जनाइएको छ । उक्त अभिव्यक्ति अत्यन्त अमर्यादित, गालीगलौज, मानमर्दन र भ्रम सिर्जना गर्ने खालको भएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली संगीत क्षेत्रका एकजना सर्जकका रुपमा समाजिक पहिचान बनाएका व्यक्तिबाटै यसप्रकारको तुच्छ र अमर्यादित अभिव्यक्ति सार्वजनिक हुनु कुनै पनि अर्थमा सभ्य समाजमा सहाउँदो कुरा हुनै सक्दैन । यस्तो अभिव्यक्तिले समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाउनेमात्र नभएर सञ्चारमाध्यमसितको सम्बन्धमा समेत दूरी बडाउने काम गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘संगीत रोयल्टी संकलन समाज’ का नाममा राज्यको चौथो अंगका रुपमा स्थापित आमसञ्चार गृहका उपकरणहरुसमेत उठाउने अभिव्यक्ति दिइएको भन्दै विज्ञप्तिमा खेद व्यक्त गरिएको छ र सरकारसँग सुरक्षा माग गरिएको छ ।
‘समाजले एक संगीत सर्जकद्वारा यसरी सञ्चारमाध्यमलाई लक्षित गर्दै प्रसारण गृहमा आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिनु पक्कै पनि विधि, विधान र लोकतान्त्रिक चरित्र विपरीतको कार्य भएकाले यस्तो अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली संगीत क्षेत्रबीचको सुमधुर सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने कुराको महसुस गर्दै उहाँका सम्पूर्ण सांगीतिक कृतिहरु रेडियोबाट प्रसारण गर्न नसकिने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत अवगत गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।
साउने सक्रान्तीको दिन बिहान अर्जुन र सुरेश बीच रेडियो नविकरण र रोयल्टीबारे फोनमा कुराकानी भएको थियो । राम्रै तरीकाले शुरु भएको कुराकानी फोन राख्ने बेला सम्ममा भयंकर भनाभनको अबस्थामा पुगेर पुगेर टुङ्गिएको थियो। “कान्तिपुर पछि मैले नै रोयल्टी बुझाएको छु, तर यहि विषयमा कुरा गर्न खोज्दा म र मेरो संस्थामाथी प्रहार भयो, जुन सह्य भएन अर्जुनले भने । गीरीले यस अघि रोयल्टी कानुनको दायरामा रेडियोहरुलाई ल्याउन र रोयल्टी संकलन समाजले तोकेको मापदण्ड अनुसार बान र एक्यो¥याबलाई रोयल्टी तिर्न मञ्जुर गराउन संस्थागत पहल गरी संझौता गराउन पनि भुमिका खेलेका थिए । फोन बार्ता पछि संगीतकार अधिकारीले रोयल्टी विवादलाई लिएर रेडियोहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । जसमा केही ‘अमर्यादित’ शब्दहरु प्रयोग गरिएको थियो । संगीतकार अधिकारी रोयल्टी संकलन समाजका अध्यक्ष पनि हुन् । रोयल्टी समाजले गीतसंगीतको सार्वजनिक प्रयोग गरेवापत रोयल्टी नतिर्ने निकायविरुद्ध कानूनी उपचार खोज्ने तयारी गरिहेको छ भने अधिकारीको अभिब्यक्ति बिरुद्ध साईबर ब्यूरोमा समेत उजुरी दिइएको गीरीले जानकारी दिएका छन् ।
यसैबीच शुक्रवार संगीतकार संघ नेपालको आयोजनामा बसेको बैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो–टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ । बजाइयो भने कानुनले प्रदान गरेको अधिकार प्रयोग गरि अदालत जाने संघले जनाएको छ ।
बैठकले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृति प्रसारण नगर्ने भन्ने रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघको निर्णयप्रति पनि आपत्ति जनाएको छ ।