जहाँ टुँडिखेल बिक्न सक्छ
त्यहाँ जे पनि बिक्न सक्छ
तराई बिक्न सक्छ
पहाड बिक्न सक्छ
सिङ्गो मुलुक बिक्न सक्छ
भूगोल त्यहीँ नै हुन्छ
टुँडिखेल त्यही नै छ
नेपाल त्यही नै रहन्छ
तर हाम्रो नहुन सक्छ
हो, नेपालीको सामूहिक अभिव्यक्तिको थलो
हाम्रो नहुन सक्छ।
सरहद पारीबाट
नेपाली नागरिकता लिनेको लर्कोले
शिवरात्रिको पशुपति बन्यो
मोफसलका सहरहरू
काठमाडौँको सेटिङ्ग सब मिलेको
टुँडिखेल बिक्री सरह
प्रधानमन्त्री ’विकास र संवृद्धि’को
भोपा लगाइरहेका छन्
बसको प्रेसर हर्न सरह
सरकारी नेता भन्छन्, दिनुपर्यो प्रेसरले गर्दा
कहाँको? कसको प्रेसर हो?
मुलुक सक्ने कस्तो प्रेसर?
अन्ततः मुलुक ब्यालेटबाटै सकिने भयो
सत्तामा पुग्न र टिक्नको लागि
समयको अन्तरालसँगै किस्ता किस्तामा
नागरिकता कहिलेसम्म बेच्दै जान्छौ?
रगत पसिनाको आर्जन
नेपालीले पठाएको डलर
बुझाई भारु लिएर
’सुकुलगुन्डो अर्थतन्त्र’ बनाई
’विकास र समृद्धि’को आकाशमा
कहिलेसम्म हलो जोत्दै जान्छौ?
खै, नेपालको आफ्नो अर्थतन्त्र?
धृतराष्ट्र बनेर जनतालाई गांधारी भन्दा
प्रेम र विश्वासको घात भएको छ
अर्थतन्त्र सरह बन्यो राजनीति
नागरिकतासँग साटेको सत्तामा बसेर
नेपालीलाई सातौँ असमानमा पुर्याई
दासानुदास बनेर
कति दिन रजाईगर्ने नेपालीमाथि?
यी नेताहरू बेपत्ता हुन्छन्
इतिहासको गर्भभित्र
मुलुक पो भोलि नरहने भयो
लामो जेल त अपराधीहरू परेकै छन्
के यसैको लागि हो त्यो यात्रा
सुरुङ युद्धको नाटक
नाकाबन्दीको अभिनय
मुलुक सक्ने पूर्व अभ्यास भनेर
निश्छल नेपाली जनताले
कसरी जानुन?
प्रतिक्रिया