काठमाडौं । पार्टीभित्रको इतरपक्ष र तमाम कार्यकर्ताको निरन्तर दबाबका कारण एक वर्षपछि नेपालको राजनीतिक इतिहासमै प्रत्यक्षरूपमा चार दिनदेखि जारी सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको बैठक राष्ट्रिय मुद्दाहरू र प्रस्तुत गरिएको १० एजेन्डामा भन्दा पनि झन्डै दुई तिहाइ बहुमत रहेको पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्षले अर्कोपक्षलाई चीरहरण गर्न आयोजना गरिएको नाटकजस्तो देखिँदै गएको छ ।
देउवापक्षीय पाकादेखि युवा भनाउ“दा पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूलेसम्म पार्टीको विधान अनुरूप कुनै पनि कार्य नगरेका र सत्ता गठबन्धन गर्दासमेत एकलौटी निर्णय गर्ने सभापतिको बचाउ गर्दै महामन्त्रीद्वयको तेजोबधमात्र गरिरहेको देखिएको छ । मंगलबारदेखि शुक्रबारसम्म १६७ मध्ये १०४ जना बोल्नेमध्ये सबै देउवापक्षीय सदस्यहरूले एकोहोरो रूपमा देउवाको ‘रक्षाकवच’को रूपमा प्रस्तुतहुँदै युवा महामन्त्रीहरूको आलोचनामात्र गरिरहेको प्रत्यक्षरूपमा कार्यकर्ता र आम शुभेच्छुकले समेत देखिरहेका छन् । यतिसम्मकि, केन्द्रीय सदस्य आरजु राणा (देउवा पत्नी) जसले राजनीतिमा आउनु अगाडि सदैव एनजीओ चलाएर बसिन्, उनले महामन्त्रीको प्रस्तावित प्रतिवेदनलाई एनजीओको ‘विसलिस्ट’ भन्नुलाई राजनीतिमै भद्दा मजाकको रूपमा लिइएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पार्टीलाई सही रूपमा सञ्चालन गर्न र पार्टीका सबै निकाय तथा पदाधिकारीलाई जिम्मेवार बनाउन समय तालिकासहितको वार्षिक कार्ययोजना पेस गरे पनि अधिकांश केन्द्रीय सदस्यहरूले भने आफ्नो गुटको बचाउ, एक वर्षसम्म बैठक बोलाउन नसक्ने सभापति शेरबहादुर देउवाको प्रतिरक्षा र भ्रष्टाचारमा संलग्न नेताहरूको संरक्षणमा वकालत गर्न थालेपछि कांग्रेस अझै पनि सुधारको बाटोमा जान नखोजेको हो कि भन्ने देखिएको छ, यद्यपि बैठक जारी रहेकाले ठोस निर्णय गर्ने अपेक्षा भने कांग्रेसजनमा कायमै छ ।
विधानलाई बेवास्ता गर्दै एकल निर्णयका भरमा पार्टी सञ्चालन गर्दै सभापति देउवा निरन्तरको दबाबपछि बल्ल केन्द्रीय समितिको बैठक बोलाउन बाध्य भएका हुन्, जसका लागि पदाधिकारीदेखि सदस्यसम्म र कार्यकर्ता तहबाट पनि उनले दबाब खेप्नु प¥यो । बैठकमा आफ्नो चर्को आलोचना हुने उनको विश्लेषण थियो, जसलाई रोक्न उनले बैठकलाई फेसबुकबाट प्रत्यक्ष प्रसारण गर्ने रणनीति अपनाए । सभापति देउवाले जारी केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुलाई उनले आफ्नो प्रतिरक्षाको उपाय मात्रै बनाएका छैनन्, आशा गरिएका युवा पदाधिकारीहरूको तेजोबध गर्ने अस्त्रका रूपमा पनि अघि सारेका छन् । पार्टीको गिर्दो साखलाई उकास्न सिर्जनशील उपाय निकालिरहेका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गर्न देउवाले नै आफूपक्षीय केन्द्रीय सदस्यहरूलाई अघि सारेका छन् ।
देउवापक्षीय नेताहरू सामूहिक रूपमा छलफल गरेर नै जसरी पनि थापा र शर्माको आलोचना गर्ने र सभापति देउवाको रक्षा गर्ने नीति बनाएका छन् ।
हरेक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक नबोलाउने, एक महिनामा बस्नुपर्ने कार्य सम्पादन समितिको बैठक पनि नराख्ने, ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिएकोमा त्यसबारेमा कुनै योजना नबनाउने, महाधिवेशन भएको डेढ वर्षसम्म कोषाध्यक्ष चयन गर्न नसक्ने तथा केन्द्रीय समितिलाई पूर्णता पनि नदिने, भ्रातृ तथा शुभेच्छुक संस्था लथालिंग पार्ने, राष्ट्रिय मुद्दाहरूमा आधिकारिक धारणा सार्वजनिक नगर्ने, अपराध र भ्रष्टाचारमा संलग्नलाई कारबाही नगर्ने बरु संरक्षण गर्ने, गुटका व्यक्तिलाई मात्रै अवसर दिने जस्तै दर्जन बढी आरोप लागेका सभापति देउवालाई जोगाएर पार्टी संयन्त्रलाई सक्रिय बनाउन लागिपरेका अन्य पदाधिकारीलाई तेजोबध गर्न सक्रिय गुटे नेताहरूकै कारण कांग्रेस थप संकटमा धकेलिने त होइन भन्ने आशंका बढेको छ ।
साउन २ गते मंगलबार सुरु भएको केन्द्रीय समितिको बैठकको सुरुमै महामन्त्री शर्माले वार्षिक कार्ययोजना र विभिन्न १० वटा एजेन्डामाथि बैठकमा छलफल हुने जानकारी गराएका थिए र सोहीअनुसार अर्का मन्त्री गगन थापाले विधानको व्यवस्था र तीन महले खाकासहित वार्षिक क्यालेन्डर प्रस्ताव गरे । तर, जब छलफल सुरु भयो, केन्द्रीय सदस्यहरू एजेन्डामाथिको छलफलमा भन्दा गुटको बचाउ र सभापतिको प्रतिरक्षामा केन्द्रित भए । यतिसम्म कि केही सदस्यहरूले त सभापतिले पार्टीलाई एक नम्बर बनाएको र प्रदेशदेखि संघसम्म सरकारमा पु¥याएको भन्दै प्रशंसा गरे, तर उनीहरूले देउवाको ढिपी र लोभका कारण चुनावअघि बनेको गठबन्धन चुनावपछि भत्केर केन्द्रदेखि संघसम्म एकैचोटी प्रतिपक्षमा पुगेको विषयमा उनीहरूले नजरअन्दाज गरे ।
सभापति शेरबहादुर देउवाका विश्वासपात्र पूर्वगृहमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी जस्तो गम्भीर मुद्दामा पुर्पक्षमा थुनामा छन् । देउवापत्नी आरजु र खाँणपत्नी मञ्जु पनि यही मुद्दामा आलोचित छन् । तर, यति गम्भीर अपराधमा मुछिएका नेतालाई पनि बचाउ गर्न देउवापक्षीय केन्द्रीय सदस्यहरू उद्धत छन्, बरु उनीहरू खाँणलाई तत्काल रिहा गर्न पार्टीले नै पहल गर्नुपर्ने बताइरहेका छन् । उनीहरूको अभिव्यक्तिलाई फेसबुकबाट प्रत्यक्ष हेरिरहेका कांग्रेसजन मात्रै नभई अन्य दलका नेता, कार्यकर्ता र राजनीतिका जानकार तथा विश्लेषकहरूले नाक खुम्च्याइरहेका छन् । यस्तै बुद्धि भएका नेताहरूकै कारण कांग्रेस दूषित भइरहेको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ ।
हिजो देउवाको गुट बलियो बनाउन लागिपरेका र पछि देउवाकै आशीर्वादमा केन्द्रीय समितिमा मनोनीत भएका केही सदस्यहरूको प्रस्तुति त झनै घिनलाग्दो देखिएको छ । महामन्त्रीहरूलाई गाली गरेर देउवाको बचाउमा उत्रिएका ती केन्द्रीय सदस्यहरूले भ्रष्टाचार र भ्रष्टाचारीको पक्षपोषणमा दिएको धारणा सभापति देउवा, उनीहरू स्वयम् र पार्टीका लागि घातक बनेकोमा उनीहरूले ख्यालै गरेका छैनन् ।
सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधान तथा रक्षामन्त्री एवं उपसभापति पूर्णबहादुर खड्काले एमाले माओवादी गठबन्धन भत्काउनुलाई ठूलो उपलब्धिका रूपमा व्याख्या गरे, जबकि पहिलेको कांग्रेस माओवादी गठबन्धन किन भत्कियो भनेर उनले चुइँक्क बोलेनन् । गत मंसिरमा भएको चुनावको बारेमा बोलेका गोपालमान श्रेष्ठले गठबन्धन गरेकै कारण कांग्रेस पहिलो पार्टी भएको बताए पनि रुख चिह्नमा भोट हाल्नुपर्ने कांग्रेसले अन्य चिह्नमा भोट हाल्नुपर्ने अवस्था सिर्जना हुँदा भोग्नु परेको क्षतिका बारेमा प्रवेश नै गरेनन् । संसद्मा पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भनेर कांग्रेसको आलोचना भइरहेको छ । ठूलो दलको हिसाबले जुन नेतृत्व लिनुपर्ने थियो, त्यो हुन सकेको छैन । तर, संसद्मा पार्टीले निर्वाह गरेको भूमिकाका बारेमा धारणा राखेका मुख्य सचेतक रमेश लेखकले प्रतिपक्षीका कारण संसद् प्रभावकारी हुन नसकेको भन्दै आफ्नो दोष पन्छाए ।
आफ्ना कमजोरी लुकाउने र दोष जति अरूमा थोपर्ने संस्थापन पक्षको रणनीतिले सुविधाजनक बहुमतमा रहेका सभापति देउवाले चाहेअनुसारको निर्णय त हुन सक्ला तर, पार्टीले गति लिन भने नसक्ने कांग्रेसकै नेताहरूको बुझाइ छ ।
प्रतिक्रिया