काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुरानो सडक ऐन संशोधन गर्नुका साथै सडक वर्गीकरण गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइने बताएका छन् ।
काभ्रेपलाञ्चोकको पनौतीस्थित चौटकमा आज समाजवादी प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू मन्त्री हुनेबित्तिकै गरेको पहिलो निर्णय नै यही दुई बुँदा रहेकाले त्यसलाई छिट्टै प्रक्रिया अगाडि बढाउने बताए ।
अहिले सङ्घीय सडक, प्रदेश सडक र स्थानीय सडक कुन हो भनेर छुट्याउने अवस्था नरहेकामा अब छिट्टै त्यसको व्यवस्था गर्न मन्त्रालयले गर्ने तयारी गरिरहेको उनले बताए । मन्त्री ज्वालाले सडक सुरक्षाका लागि सडक यातायात व्यवस्था प्राधिकरणलाई तत्कालका लागि प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गरी कामलाई अगाडि बढाउने निर्णय भएको र पछि व्यवस्थित गर्दै खुला प्रतिस्पर्धाबाट नियुक्ति गरेर अगाडि बढ्ने विषयमा मन्त्रालयले योजना बनाएको पनि जानकारी गराए ।
प्रतिक्रिया