काठमाडौं । झण्डै एक क्वीन्टल सुन विमानस्थलबाट बाहिरिएको प्रकरणको छानबिनका लागि भन्सार विभागले एक समिति गठन गरेको छ ।भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिलाई भन्सार जाँच पार गरेर तस्करीको सुन कसरी बाहिर गयो भन्ने विषयमा छानबिन गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई पाँच दिनको समय दिइएको छ । समितिले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई प्रतिवेदन बुझाउनेछ ।
राजश्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । यस प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये चारजनाको नाम खुलेको छ । जसअनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ रहेका छन् ।
उक्त दिन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल बिदामा रहेको र जाँचपासमा नयाँ भन्सार अधिकृत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ । अवैध सुन बोक्ने चालकसहित ट्याक्सीलाई नियन्त्रणमा लिइएको छ । ट्याक्सी राजश्व अनुसन्धान विभाग परिसरमा राखिएको छ । सुन तस्करले हङकङबाट करिब १०० किलोग्राम सुन ल्याउँदा जम्मा ४८० अमेरिकी डलरको राजश्व तिरेको पाइएको छ । हङकङबाट ‘ब्रेक प्याड’मा लुकाएर ल्याइएको उक्त परिणामको सुनको मूल्याङ्कन ४८० डलर गरेर उक्त मूल्यको मात्रै भन्सार तिरेको पाइएको हो ।
तस्करले १६० वटा ‘ब्रेक प्याड’सेटको भन्सार जाँच पास गराएका थिए । उक्त ब्रेक प्याडको मूल्य प्रतिसेट ३ डलर मूल्याङ्कन गरिएको थियो ।सुन लुकाइएको ब्रेक प्याड सेट आयातकर्ता रेडी ट्रेड प्राली हो ।
प्रतिक्रिया