काठमाडौं । १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन भएको छ । गोरखा जिल्लामा बन्ने जलविद्युत आयोजनाको फिल्ड कार्यालयको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् ।
सरकारले आयोजनालाई अगाडि बढाउन भन्दै यही साता काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरेको थियो । बुढिगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा जगत श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी खुलेर केन्द्रीय र स्थानीय कार्यालय खुले पनि आयोजनाका लागि चाहिने लगानी रकम भने टुङ्गो लागेको छैन ।
आयोजना बनाउने लक्ष्यसहित हालसम्म करिब ४२ अर्ब खर्च भैसकेको छ । यस्तै, सरकारले बुढिगण्डकीका लागि भन्दै पेट्रोलियम पदार्थबाट प्रतिलिटर १० रुपैयाँका दरले ७२ अर्बभन्दा बढी सङ्कलन गरिसकेको छ । यो आयोजनाको निर्माण कार्य अघि बढेकाले राष्ट्रिय गौरवको आयोजना छिट्टै अघि बढ्ने कम्पनीका प्रमुख श्रेष्ठले बताए ।
प्रतिक्रिया