देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भत्किएको परिस्थितिबाट अनुकूल तर्फ : खड्का

संसदमा प्रतिपक्षी दलहरु आक्रामक, अधैर्य र अपरिपक्व - लेखक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका उपासभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भत्किएको परिस्थितिबाट अनुकूल परिस्थिति बनेको भन्दै सुधार्नमा लाग्नुपर्ने बताएका छन् । आजको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन परिवर्तनप्रति संकेत गर्दै एक झड्काबाट निराश भएको पङ्तिमा उत्साह भरिएको बताए । नेताहरुको बोली र गतिविधिबाट भत्किने अवस्था सिर्जना नगर्न उनले आग्रह गरे । उनले सरकारमा गएकाहरुबाट शीर झुकाउने काम नगर्ने प्रतिवद्धता जनाए ।

खड्काले अर्थतन्त्र सुधार्ने कोसिस भइरहेको बताए । बजेटका सन्दर्भमा सांसद र मन्त्रीहरुको गुनासा भए पनि कानुनले मिल्ने ठाउँबाट केही समाधान गर्न सकिने उनको भनाइ छ । केन्द्रीय समितिले सरकारलाई सुझाव र ध्यानकर्षण गराउन उनले आग्रह गरे ।

यसैगरी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा प्रतिपक्षी दलहरु आक्रामक, अधैर्य र अपरिपक्व भएको आरोप लगाए । कांग्रेस ठूलो दल भएकाले उसको काँधमा सत्ता गठबन्धनमात्रै नभई संसदमा समेत नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी आइलागेको उनले बताए ।
मंगलवार सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा लेखकले रास्वपा, नागरिक उन्मुक्ति, जनमत पार्टीहरुलाई संकेत गर्दै उनीहरुले संसदीय प्रक्रिया बुझ्न अझै समय लाग्न सक्ने बताए । उनले सत्ता गठबन्धनभित्र विश्वास सिर्जना गरेर निरन्तरता दिने जिम्मेवारी कांग्रेसकै भएको बताए ।