काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज अपराह्न बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो चार बजे बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफलको एजेन्डा रहेको छ ।
विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले हिजो नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङको आह्वान छ। ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् ।
केन्द्रीय सत्ता गठबन्धन सम्बद्ध जसपाले पहिचान पक्षधरको आन्दोलनको सम्बोधन नहुन्जेल कुनै पनि दललाई सरकार गठनका लागि समर्थन नगर्ने अडानमा लिएको छ । साथै सरकारको नेतृत्व कांग्रेस र माओवादीमध्ये पहिले कसले गर्ने भनेर विवाद छ । यसको टुंगो लगाउन कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका शीर्ष नेताहरु बीच छलफल हुन लागेको हो । यसका साथै संसदीय समितिको सभापतिको भागबन्डाका विषयमा पनि छलफल हुने छ । बैठकमा जनमत पार्टीलाई सरकार ल्याउने बिषयमा पनि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया