देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्ड र देउवाको सौदावाजीको चर्चा

देशान्तर

संसद विघटनपछि पुनगर्ठनदेखि आम निर्वाचनहुँदासम्म एउटा गठबन्धन र चुनाव पछि सरकार बन्दा अर्को गठबन्धन अनि राष्ट्रपतिको चुनाव हुँदा अर्को गठबन्धन गरेर गन्जागोल अवस्थामा रहेको नेपाली राजनीतिमा अहिले फेरि अनेक खेलहरु पर्दापछाडि सुरु भएको चर्चा चल्न थालेको छ । पछिल्लो समय नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समिकरण बनाएर सरकार परिवर्तन गर्ने कुरा सतहमा आइरहेका बेला नेपाली कांग्रेसका सभापति एवं संसदको सबभन्दा ठूलो दलका संसदीय दलका नेता शेरबहादुर देउवा उपचारका लागि सिंगापुरमा रहेका थिए ।

उनको सिंगापुर बसाईका बेला त्यहाँ उच्च राजनीतिक भेटवार्ता भयो या भएन भन्ने स्वतन्त्र पुष्टि नभए पनि काठमाडौंमा भने दोस्रो तहका नेताहरुकाबीचमा छलफल भएका कुराहरुले सार्वजनिक सञ्चारमाध्यमका मुख्य खबर नै भए ।

शुक्रबार राति उपचार पछि नेपाली कांग्रेसका सभापति देउवा उपचार पछि काठमाडौं उत्रिएका थिए भने सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्तारुढ गठबन्धनको बैठकमा देउवाले अहिले गठबन्धन दायाँबायाँ नहुने बताएका छन् । देउवाले अहिले नयाँ समिकरण नबन्ने भन्दै प्रचण्डलाई प्रष्ट पारेको बताइएको छ ।

नयाँ समिकरण भन्दा पनि पछिल्लो समय नेपाली राजनीति नक्कली भुटानी शरणार्थी प्रकरणले तरंगित भएको छ । अहिले १६ जना हाइप्रोफाइल अभियुक्तहरु कारागार चलान भएका छन् भने पछिल्लो समय केही सञ्चारमाध्यममा कांग्रेससभापति पत्नी आरजु राणा र नेपाली कांग्रेसकै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिनुपर्ने समाचार प्रकाशित भएको थियो ।

जसका कारण कांग्रेससभापति देउवाले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा यो विषयमा पनि कुराकानी भएको बुझिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन चलिरहेको र सिटौला र आरजुको विषयमा कुनै पनि प्रमाण नभएको भन्दै गृहमन्त्रालयले विज्ञप्ति नै प्रकाशित गरेर समाचारको खण्डन गरेको छ ।

लगत्तै प्रधानमन्त्री प्रचण्डले यो गठबन्धन ५ वर्ष टिक्ने बताउँद आफू नै प्रधानमन्त्री बनीरहने संकेत गरेका थिए । यही विषयलाई सवैले प्रचण्डसँग देउवाले केही विषयमा सौदावाजी गरेको रुपमा पनि हेरेका छन् । तर पछिल्लो समय सरकारको कार्यशैली र बढ्दो असन्तुष्टिका कारण पनि यो सरकार लामोसमय टिक्नेमा धेरैले विश्वास गरेका छैनन् । अहिलेको अवस्था रहे ढिलोमा कार्तिकसम्ममा यो सरकार ढल्ल्ने राजनीतिकवृत्तमा चर्चा चलेको छ ।