काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको टोली बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने सिलसिलामा संखुवासभाको तुम्लिङटार पुगेको छ । प्रधानमन्त्री प्रचण्डले आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डले जिल्लाका जनप्रतिनिधिहरुसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा गएका हुन् । टोलीमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिका पूर्वाधारमन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री सीता गुरूङ, एमाले सचिव योगेश भट्टराई, वसन्त नेम्वाङ छन्।
प्रधानमन्त्रीले संखुवासभाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै प्रधानमन्त्री प्रचण्डले तत्कालै पुल भत्किएको ठाउँमा बेलिब्रिज जोडेर सडक सञ्जालमा जोड्न, घरबार विहीनलाई आवासको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालमा हाल सम्म ८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएका छन् ।प्रहरीका अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता छन् ।
बेपत्तामध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना छन् । पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बाढी र पहिरोका कारण पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ । मेची राजमार्ग अवरुद्ध भएको छ । हिजो प्रदेश सरकारको तर्फबाट मन्त्री तिलकुमार मेन्याङ्बो नेतृत्वको टोली प्रभावित क्षेत्र पुगेको थियो । प्रदेश सरकारले प्रभावितका आपतकालीन राहत सामग्री सम्बन्धित जिल्लामा पठाएको छ । पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको भने नेपाली सेनाको टोलीले उद्धार गरेको छ । गएरातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको छ ।
प्रतिक्रिया