देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डको नयाँ चोला


काठमाडौं। समय र वातावरणअनुसार छेपारोले भन्दा छिटछिटो रंग फेर्न सक्ने नेताको रूपमा चर्चित पुष्पकमल दाहालले केही समयको अन्तरालमा अनेक चोला परिवर्तन गरेका छन् । भारतमा कम्युनिस्टको उग्रविरोधी राजनीतिक दल भारतीय जनता पार्टी सत्तामा भएको र झन्झन् बलियो हुँदै गएको र भाजपासित निकट सम्बन्ध बनाउन सके फलिफाप हुने अन्यथा कुनै पनि क्षण सत्ताबाट सडकमा पछारिन सक्ने, भयले उनी अब आफ्नो पार्टीको नामबाट ‘कम्युनिस्ट’ शब्द झिक्न हतारिएका मात्र छैनन्, आफू हिन्दू विरोधी नभएको सावित गर्न अनेक अभ्यास गरिरहेका छन् । यस क्रममा जेठ ३० गते दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा गएर विद्वतजनहरूको सभाको मञ्चमा उपस्थित भएर ‘जयतु संस्कृतम्’ भनेर सवैलाई अभिवादन गरे । केही समय अघिसम्म उनी सभा समारोहमा उपस्थित व्यक्तिहरूलाई अभिवादन गर्दा मुठ्ठी उचालेर ‘लाल सलाम’ भन्ने गर्दथे ।

संस्कृत भाषालाई कम्युनिस्टहरूले प्रायः बक्रदृष्टिले नै हेर्दथे । त्यसमाथि माओवादी सम्पूर्ण परम्परालाई ध्वस्त पार्ने संस्कृत विद्यालय र पाठ्यपुस्तकहरूलाई नष्ट गर्ने र संस्कृतका विद्वानहरूलाई अपमानित गर्ने गर्दथे । संस्कृत शिक्षा शास्त्रले धर्म, संस्कृति र अध्यात्मलाई विशेष महत्व दिने तथा देवी देवाताको आराधना र पूजापाठलाई प्राथमिकतामा राख्ने भएकाले उनीहरू यसलाई नष्ट गर्न चाहन्थे । तर, केही समय यता धरातलीय यथार्थ महसुस गरेपछि प्रचण्ड र अन्य माओवादीहरूसमेत धार्मिक अनुष्ठानहरूमा स्वस्फुर्तरूपमा सहभागी हुन थालेका छन् । धेरैले यसलाई हिन्दूहरूको मनमा उनीहरूप्रति जमेको वितृष्णा र आक्रोश मेट्न विगतमा आफूले गरेका ज्यादतीहरू ढाकछोप गर्न र सबैको सहानुभूति प्राप्त गर्न योजनाबद्ध रूपमा गरिएको नाटक ठान्ने गरेका छन् । प्रचण्डले गरेको यस्तो पूजा अर्चना र संस्कृतको गुणगानलाई जनता झुक्याउने चालबाजीमात्र हो भन्ने उनीहरूको प्रतिक्रिया पाइन्छ । हालै दाङमा संस्कृत भाषा सम्पूर्ण ज्ञानको भण्डार हो भन्दै जयतु संस्कृतम्बाट गरेको अभिनन्दनलाई उपस्थित विद्वतजनहरूले यस्तै नाटकको रूपमा लिएको देखियो ।

हुन त, तत्कालीन माओवादीले सुरु गरेको सशस्त्रद्वन्द्वका बेला माओवादी कार्यकर्ताहरूले गाउँघरमा लगाइने सत्यनारायण पूजाआजा, तीज पञ्चमीको व्रत पूजा भाँड्नेदेखि मन्दिरका पुजारीलाई दुव्र्यवहार गर्ने गर्थे । हिन्दू धर्मावलम्बी ब्राह्मण–क्षेत्रीको टुप्पी काट्ने, मन्दिरमा पिसाब फेर्ने अप्रिय पनि गरे । बाचन शिरोमणि भनेर चिनिने पण्डित नारायणप्रसाद पोखरेलको माओवादी कार्यकर्ताले हत्या नै गरे । विद्यालयमा पुगेर संस्कृत विषयको पुस्तक च्याते । संस्कृत शिक्षालाई दुत्कारे । विद्यालय–विद्यालय पुगेर संस्कृत पढाउन बन्द गराए । संस्कृत विषयको परीक्षाका दिन प्रश्नपत्र जलाए ।माओवादीको बिगत हेर्दा यस्तो देखिन्छ । तर केही दिनपहिले दाङको बेलझुन्डी माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिखित मन्तब्यमा भने संस्कृतका श्लोक उच्चारण गर्दै नेपाल संस्कृत विश्वविद्यालयबाट राष्ट्रले अध्यापन र अनुसन्धानमा ठूलो अपेक्षा गरेको बताए ।

‘उदार चरितानां तु वसुधैव कुटुम्बकमको पाठ सिकाउने संस्कृत वाङ्मयको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने गराउने यो विश्वविद्यालयबाट राष्ट्रले धेरै ठूलो अपेक्षा गरिरहेको छ ।’ प्रचण्डले लिखित सम्बोधनमा भने । उनले संस्कृत भाषा केवल प्राचीन भाषा मात्र नभई प्राच्य दर्शन र चिन्तनको अपार ज्ञान भण्डार पनि भएको भनाइ राख्दै असतोमा सद्गमय, मृत्योर्मा अमृतं गमय, तमसोमा ज्योतिर्गमयको ब्याख्यासमेत गरे । मन्तव्यको अन्त्यमा प्रचण्डले जयतु संस्कृतम् भनेर आफ्नो भनाइ अन्त्य गरे । प्रचण्डको यो फेरिएको अवतारमध्येको पछिल्लो अवतार थियो । त्यसो त धर्मलाई विकासको बाधक मान्ने प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा भैंसी पूजा हुँदै कुण्डली देखाएर काम थाल्ने गरिसकेका थिए । तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिँदा उनि दौरा सुरुवालसहितको नेपाली पोसाक लगाएको अवतारमा देखिएका थिए । अहिले यही पोसाकलाई औपचारिक रूपमा निरन्तरता दिइरहेका छन् ।
प्रचण्डमात्र हैन नेपाली कम्युनिस्टहरूको दोहोरो चरित्र बेलाबखतमा उदांगो हुने गरेकै छ । पद तथा गोपनीयताको शपथ लिँदा शपथमा लेखिएको ’ईश्वर’ शब्दको ठाउँमा जनताका नाममा भनेर उच्चारण गरी शपथ लिने कम्युनिस्ट नेताहरूको ढोंगी र देखावटी व्यवहार नेपाली जनाताले देखेकै छन् । तर पशुपतिमा जलहरी राख्न होस् या महाकांलेश्वरमा गेरुवस्त्रसहित जल चढाउन यिनै कम्युनिस्टका ठूला नेता सबैभन्दा अगाडि पुग्छन् । गाई काटेर भोज खानेदेखि किरिया गर्न लाग्दा ढिकुरो फुटाउनेसम्मका काम गरेको माओवादी नेतृत्व अहिले पूरै बदलिएको छ । हुन त हिजो गरिएको कर्म ठीक थिएन भनेर सच्चिनु नराम्रो हैन । प्रचण्डले भारतको मध्यप्रदेशस्थित महाकांलेश्वर मन्दिरभित्र गेरुवस्त्र लगाएर, नेपालबाट लगेको रुद्राक्ष र भेटीसमेत अर्पण गरेका थिए ।

प्रचण्डको यो पछिल्लो नयाँ अवतारलाई केहीले आलोचना गरेका छन् भने केहीले प्रशंसा पनि गरेका छन् । प्रचण्डले प्रोटोकलका कारण गेरुवस्त्र लाउनु परेको भनेर यसबारे प्रस्टीकरण दिइसकेका छन् । प्रचण्डका पूर्वसहयात्री बाबुराम भट्टराईले महाकांलेश्वर मन्दिरको पूजापाठको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखे हामी कता जाँदै छौं, देश कता जाँदै छ ? भारत भ्रमणबाट फर्केपछि प्रचण्डले आफ्नो मन्त्रिमण्डलका पाँचजना सदस्यसहित पशुपतिनाथ मन्दिरमा दर्शन गरे । यसमा पनि कतिपय वाम विचारधाराका व्यक्तिहरूले प्रचण्डको आलोचना गरे । केहीले समर्थन गरे । पशुपतिनाथ पुग्नुको कारण भने चारधाम वा अन्य कुनै ठूलो तीर्थस्थलबाट आएपछि त्यहाँबाट ल्याएको जल तथा प्रसाद पशुपतिनाथमा ल्याएर चढाउनुपर्छ भन्ने मान्यता रहेको र त्यही धार्मिक मान्यताअनुसार महाकांलेश्वर मन्दिरबाट ल्याएको जल तथा प्रसाद चढाउन उनीहरू गएको भनिएको छ । यस्लाई पनि नेसपा अध्यक्षसमेत रहेको प्रचण्डका पूर्वसहकर्मी भट्टराईले राजनीति भएको टिप्पणी गरे ।

कट्टर कम्युनिस्ट प्रचण्ड विस्तारै छविलालमा रूपान्तरण हुँदै गरेकोमा दुईमत छैन । बाबुको निधनमा मुठ्ठी बटार्दै कोट जुत्तामै दागबत्ती दिने प्रचण्डले पुत्र प्रकाश दाहालको निधनमा शोकमग्न हुँदै कोट जुत्ता फुकाली मन्त्र पढ्दै दागबत्ती दिएका थिए । प्रचण्ड बेलाबेला आक्रोशित हुन्छन् र फेरि जंगल जाने कुरा गर्छन् तर पछिल्ला गतिविधिले उनी अन्ततः जंगल हैन आध्यात्मतिर नै अग्रसर देखिन्छन् । सायद त्यसै भएर होला प्रचण्डले कुनै भाषणमा भनेका छन् सबै चिज त्यागेर गौतमबुद्ध बन्न सक्छु ।