सुत्ने, सुताउने
जाग्ने, जगाउने
जहाँ होस्, जहिले होस्
यही हो आवेग !
गुँड बनाउने अनन्त कौशल
सिकेर नै सिकिँदैन
हुटिट्याउँको गुँड बालुवामा
फिस्टाको पातमा
ढुकुरले पानी खाँदा
टाउको उठेकै देखिँदैन
कोही पत्तै नपाई उडिसक्छन्
कोही उड्नै मान्दैनन्
नपत्याए उड्न नमान्ने
कालो गौँथलीको बच्चालाई सोध
झरिरहेको शिशिरको फूललाई
या, पक्रिँदै गरेको गुलाबलाई
कथा एउटै हो
व्यथा फरक छ
जहाँ लाटोकोसेरोको अभिनय देउताको
त्यहाँ मुस्टेले हो वेग हान्ने
यहाँ हानिरहेका छन् नयाँ युग सुरु गर्न
राष्ट्रनीति नभएर बनेको राजनीति
त्यो हलाहल हो
मोलामोल त्यसको नै छ ।
प्रतिक्रिया