देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नागरिकता विधेयकमा रास्वपाभित्र रडाको

देशान्तर

काठमाडौं । विश्व राजनीतिमा ‘पपुलिज्म’ अलोकप्रिय हुँदै गए पनि नेपालमा भने यसप्रति अझै अनाकर्षणको तहमा पुगिसकेको छैन । राष्ट्रिय राजनीतिका मियो बनेका ठूला भनिने दलहरूको अकर्मण्यता सत्तालिप्सा र जनताप्रति अनुत्तरदायी क्रियाकलाप र बढ्दो भ्रष्टाचार प्रमुख कारण ‘पपुलिज्म’हरू थपिएका छन् । २०६४ देखि नेपालमा देखिएको ‘पपुलिज्म’ बीचमा अलोकप्रिय हुँदै फेरि लोकप्रियतातर्फ गएको देखिन्छ । यो २०८४ सालसम्म देखिन सक्छ ।
तर एकाएक राजनीतिमा उदाएका हस्तीहरू कमजोर हुँदै गएको अमेरिकी निर्वाचन, भारतमा हालै सम्पन्न विधानसभा निर्वाचन र २०७४ को नेपालको आम निर्वाचन र त्यसपछिको अहिलेको अवस्थासम्मलाई उदाहरणको रूपमा लिन सकिन्छ ।

यस्तै ‘पपुलिज्म’बाट नेपालको राजनीतिमा एकाएक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी हो । यसका संस्थापक विवादित टेलिभिजन प्रस्तोता रवि लामिछाने अहिले व्यक्तिगत भ्रमणका क्रममा भारतमा छन् । संयोग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भारत भ्रमण गएका बेला लामिछाने पनि उतै पुगेका हुन् । यद्यपि यो भ्रमण नितान्त व्यक्तिगत हो या राजनीतिसँग जोडिएको छ अहिले भन्न सकिँदैन । किनकि उनले पार्टीमा व्यक्तिगत पारिवारिक भ्रमण भएको बाहिर आएको छ । तर केही समयपहिले नेपालको एक होटेलमा विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आफ्नै भाइ प्रह्लाद दामोदर मोदीसँग लामिछानेले गोप्य भेट गरेका थिए ।

स्मरण रहोस् ३२ दिने उपप्रधानसहित गृहमन्त्री बन्दा लामिछानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रिस्तरीय निर्णयबाट राजनीतिक नेतृत्व, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग व्यक्तिगत भेटमा रोक लगाएका थिए । उनले तोकिएका अधिकारीसँग स्वीकृति लिँदै विषयवस्तुको पूर्वजानकारी गराएर मात्र भेटघाट गर्न कडा निर्देशन जारी गरेका थिए । तर आफैंले विदेशीसँग गोप्य भेट गर्नु सशंयपूर्ण दोहोरो मापदण्डअन्तर्गत देखिन्छ । यसबीचमा सरकारको सिफारिसमा राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरे । नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणमा पनि रास्वपाभित्र दोहोरो मापदण्ड देखिन्छ ।

पार्टीका तर्फबाट महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तिमार्फत रास्वपाले नागरिकता विधेयकविरुद्ध आवश्यक परेमा सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले भने नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन् । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टाअघि नागरिकता विधेयक प्रमाणीकरण गरिनुले भने शंका उब्जाएको उनको भनाइ छ । तथापि नागरिकताविहीन हुँदा लाखौं युवाले जागिर खान नपाएको अवस्थालाई समाधान गर्ने भएकाले विधेयक प्रमाणीकरण स्वागतयोग्य रहेको उनले भनाइ छ ।

पार्टी सभापति रवि लामिछानेले भने फेसबुक पेजमार्फत संसद्मा छलफल नगराई पुरानै विधेयक प्रमाणीकरण हुनु राष्ट्रहितविरुद्ध रहेको प्रतिक्रिया दिएका छन् । ‘पपुलिज्म’को राजनीति गरेका लामिछानेले तत्कालको खपतका लागि मात्र नागरिकता प्रमाणीकरणलाई विपक्षीको धर्म निर्वाह गर्दे राष्ट्रहितविरुद्ध रहेको देखेका हुन् वा साँच्चै नै उनको पार्टीले पनि दर्शन सिद्धान्त र नीतिले पनि राष्ट्रहितविरुद्ध देखाउने हो त्यो भने हेर्न बाँकी नै छ ।