देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा रूपान्तरणको लागि सर्वत्र दबाव

देशान्तर

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो, ऐतिहासिक र लोकतान्त्रिक दल नेपाली कांग्रेसको शीर्ष नेतृत्वको कार्यशैली र निर्णयहरूलाई लिएर आन्तरिक, बाह्य र सर्वत्र रूपान्तरणको लागि दबाब बढ्दै गएको छ । अहिलेको आधुनिक प्रविधिको जमानामा पुरानै संरचनामा रहेको पार्टीलाई निर्ममतापूर्वक रूपान्तरण गरी नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने नेता, कार्यकर्ता, शुभेच्छुक र जनताको माग देखिएको छ । तर, शीर्ष नेतृत्व सत्तालाई नै, प्रमुख एजेन्डा बनाएर अघि बढिरहेकोले जनमानसमा कांग्रेसप्रति रुझान झन्झन् घट्दै गइरहेको छ । त्यसैले युवा भनी दाबी गर्ने दोस्रो तहका नेतृत्वको लागि यो विषय सतिसालझै चुनौतीको रूपमा देखिएको छ । रूपान्तरणबाहेक अर्को विकल्प नभएको लोकतन्त्रवादीहरूको भनाइ छ ।

अहिले नेपाली कांग्रेसको मूल नेतृत्व नै अलोकतान्त्रिक, स्वेच्छाचारी र एकलौटी मात्रै भएको छैन, पार्टीले गर्ने हरेक निर्णय विधि, पद्धति र प्रक्रियाभन्दा बाहिरबाट हुने क्रम बढेपछि पार्टीका प्रभावशाली पदाधिकारीसहितका नेताहरूले नै सभापति शेरबहादुर देउवाको विकल्पको खोजी गर्न थालेका छन् । वर्तमान नेतृत्व रहेसम्म पार्टी सध्रिने सम्भावना नरहेकाले नेतृत्व नै परिवर्तनका लागि पहल थालिएको नेताहरूले बताएका छन् ।
कांग्रेसमा सभापति देउवा र नेता शेखर कोइरालाको नेतृत्वमा दुई फरकफरक समूह सक्रिय रहे पनि केही नेताहरूले घोषित रूपमा नै पार्टी रूपान्तरण अभियान थालेका छन् ।

नौ महिनासम्म पनि केन्द्रीय समितिको बैठक नराख्ने, केन्द्रीय समितिलाई नै पूर्णता नदिने, ६ महिनाभित्र भइसक्नुपर्ने कोषाध्यक्षको मनोनयन अहिलेसम्म पनि नहुने, सरकारमा सहभागिताका विषयमा केन्द्रीय समितिमा छलफल नै नहुने, सीमित नेताहरूको सल्लाहमा सरकारमा मन्त्रीहरू पठाउने, नक्कली शरणार्थी प्रकरणजस्तो गम्भीर मुद्दामा पार्टीका नेता पक्राउ परिसक्दा पनि निलम्बन नगर्ने बरु ढाकछोप गर्दै उम्काउन खोज्नेलगायतका कारणले पार्टीको छवि खस्किँदै गएको र जनताबाट विश्वास पनि हट्दै गएको भन्दै पार्टीका युवा नेताहरूले नेपाली कांग्रेस रूपान्तरण अभियान सुरु गरेका हुन् । अभियानअन्तर्गत सात वटै प्रदेशमा भेलाको तयारी छ ।
अभियानबाट देशभरका कार्यकर्ताको सुझाव संकलन गरिने, सुझावको विश्लेषण गरिने, सुझावअनुसार सच्चिन नेतृत्वलाई दबाब दिने र त्यति गर्दा पनि नेतृत्व नसच्चिए नेतृत्व नै परिवर्तनका लागि प्रयास थाल्ने अभियानको तयारी छ । यसो हुँदा कांग्रेसमा विशेष महाधिवेशनका लागि दबाब बढ्ने छ ।

केही नेताहरूले रूपान्तरण अभियानमार्फत दबाब बढाइरहँदा पार्टीका प्रभावशाली युवा नेताहरू तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि नेतृत्व सच्चिनै पर्ने र नसच्चिए परिवर्तन गर्नुपर्ने बताउन थालेका छन् । पार्टीमा देउवा र कोइराला गुटभन्दा पनि सुधार चाहने र सुधार नचाहने गुट रहेको र सुधार नचाहने गुटका विरुद्ध सुधार चाहने गुटले पार्टीमा सुधारको पहल गरिरहेको महामन्त्री थापाको भनाइ छ ।
सभापति देउवा केन्द्रीय समितिमा प्रचण्ड बहुमतमा छन् । झन्डै ८० प्रतिशत केन्द्रीय सदस्य देउवाका छन् । यसको अर्थ महाधिवेशन प्रतिनिधि पनि देउवा पक्षकै बढी छन् । कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा आग्रह गरेमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्छ । देउवा इतर पक्ष अहिले यही संख्याको जोडघटाउमा लागेको देशान्तरलाई जानकारी प्राप्त भएको छ ।