देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टी सभापतिले गरेका पार्टी हित विपरीतका निर्णय अब सहेर नबस्ने महामन्त्री थापाको चेतावनी

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताएका छन् ।
नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै थापाले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताएका हुन् । पार्टीभित्र विश्वास फर्काउन कांग्रेस बदलिनुपर्नेमा थापाको जोड थियो ।महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले जनतामा आशालाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबीसमेत गरे ।
कांग्रेसभित्रको सबै गुट भत्काउनुपर्ने भन्दै थापाले उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्ने बताए । महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने भन्दै अहिले कांग्रेस भित्र सुधार चाहने र सुधार नचाहने गुट रहेको बताए । उनले पार्टीभित्र हुने गुट सामान्य भए पनि गुटहरू गिरोह बनेकोमा चिन्ता व्यक्त गरे ।
उनले पार्टीभित्र सामूहिक नेतृत्वको अभ्यास नहुनु, विधान अनुसार नचल्नु, जनताका समस्या समाधानमा ध्यान नदिनु र जनताका अपेक्षा विपरीत चल्नु समस्या भएको बताए ।
महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले गरेका पार्टी हित विपरीतका निर्णय अब सहेर नबस्ने पनि बताएका छन् ।
थापाले रेशम चौधरीलगायतको आममाफी, नागरिकता विधेयक र सांसद विकास कोषजस्ता अलोकप्रिय विषयमा कांग्रेस सभापति एक्लैले गरेको भन्दै अब त्यस्ता निर्णयमा सहेर नबस्ने बताएका हुन् ।

उनले पार्टी नेतृत्वको यो निर्णय प्रक्रियाको तरिकाले पार्टीलाई अहित गरिरहेको भन्दै अव नसहने बताए ।
पार्टीलाई हित नगरेको निर्णय पार्टीका सबैले बोक्न नसक्ने उनको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल प्रेस युनियन सधैँ लाग्नुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य मदन अमात्यले कांग्रेसविना जनताको अधिकार सुनिश्चित नहुने भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताए । कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले कांग्रेसभित्र शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिए ।
बरिष्ठ पत्रकार कबिर राणाले प्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने भन्दै त्यसका लागि लोकतान्त्रिक पार्टी सच्चिनु पर्ने बताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको पेसागत सुरक्षाका लागि नेपाल पत्रकार महासङ्घ नेपाल प्रेस युनियनसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको भनाई राखे ।
नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, रमेश तुफान, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलीप पौडेललगायतले नेपाल पत्रकार महासङ्घले सदस्यता शुद्धीकरणका लागि पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तिलाई हटाउन खोजेको भन्दै त्यसविरुद्ध प्रेस युनियनले सङ्घर्ष गर्नुपर्ने बेला आएको भनाइ राखे । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले सांसद विकास कोषमार्फत सांसदलाई पैसा दिने निर्णय गरे पनि पत्रकारको क्षमता अभिवृद्धिका लागि छुट्याएको रकम कटौती गरेको भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरे ।