काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिण मूल ढोकाअघि प्रदर्शन गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, तीन तहको सरकार , सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजको आह्वानमा प्रदर्शन गरिएको हो ।
लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको संस्था शान्ति समाजले १६आँै गणतन्त्र दिवसको पूर्वसन्ध्यामा काठमाडाँैमा प्रदर्शन गरेको हो । प्रदर्शनबाट प्रहरीले १७ जना अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।
प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरु चन्द्रमणि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान् पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणि गौतम, रीता अधिकारीसहित १७ जनालाई गिरफतार गरेको थियोे ।
यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका एक इन्द्रजित राईले बयान नै नदिइ हिरासतमा फर्किएका छन् । आइतबार जिल्ला अदालत काठमाडौँमा राईलाई बयानका लागि उपस्थित गराइएपनि ‘स्वास्थ्यमा समस्या रहेको’ बहाना बनाएर उनले बयान दिन चाहेनन् । दिनभर इजलासमै कहिले पत्रिका पढ्ने र कहिले आफ्ना वकिलसँग छलफल गरेर समय बिताएका उनले टी ब्रेकपछि बयान दिन्छु भनेका थिए । ’
उनले त्यसो भनेपछि न्यायाधीशले अन्य प्रतिवादी टंककुमार गुरुङ र सन्दीप रायमाझीको बयान लिन लिएका थिए । तर, टी ब्रेकपछि पनि राई बयान दिन तयार भएनन् । उनले पुरानै कुरा दोहोर्याएपछि अर्की प्रतिवादी लक्ष्मी महर्जनको बयान लिइयो । कार्यालय समय सकिन लागेपछि उनले आफू बयान दिने तयारीका साथ अदालतमा आएपनि अदालतमा आइसकेपछि भने सञ्चो नभएको न्यायाधीशलाई बताए । अब उनको बयान पर्सी हुनेछ । आइतबारसम्म यो प्रकरणमा ५ जनाको बयान सकिएको छ ।
प्रतिक्रिया