देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिमूर्तिको मसिहा–रजाइँ


त्रिमूर्ति, तीन मूर्ति– हाम्रा तीन शासकहरू
सबैको एउटै रूप
घिनलाग्दो, बीभत्स, कुरूप
वाक्पटुताको खोल ओढेर
आलोपालो मसिहा–रजाइँ गर्दै आएका
कहिले टमटम, कहिले तमतम
कहिले मिलेर, कहिले झगडा गरेर
कहिले घाँटी जोडेर, कहिले पानी बाराबार
जुनसुकै बेलामा होस्, साँझ सबेर
जतिसुकै पानी बारबार होस्
थुक नलगाएर अरबौँ खाँदा
ताल र सुर ढ्याप्प मिलेको
राष्ट्र लुटको कोरस
एउटै भाका, एउटै लयमा
मसिहा स्वर निकालेर
गला खेलाएर गाउन खप्पिस यी
सुनाउने बोल भने ‘विकास र समृद्धि’को

कस्तो विकास ? कस्तो समृद्धि ?
पहाड सम्याएर बेच्ने
सात तह पहाडको साङ्लो नेपाल
सबभन्दा कमजोर कडी चुरे
त्यसलाई विध्वंस परेर
कसरी बच्छ नेपाल ?
नदीको पानी बेचिसके
रिन लिएर नदी मोड्ने
पानी अर्काले भनेको ठाउँमा पु¥याउन
आफ्नै खोलाको पानी बेचेर सके
आफैँले हात हाल्न नपाउने गरी
प्रत्येक वर्ष खर्बको ऋण
ऋणबाट मख्खन खाने
दर्जन खर्ब आयात
भन्सारको दररेटमा हेराफेरी
आयातको आम्दानी, आयातको तस्करी कमिसन
मुलुक भने उपनिवेश–मन्डी
जंगल बेच्ने, युवा बेच्ने, युवती बेच्ने जे बिक्छ त्यही बेच्ने
कस्तो सरकार पायौँ हामीले
केही भन्यो भने भन्छन्– ‘जनता नै खराब’
सुरसाको कहिले नअघाउने
मुख लिएर
खाएर कहिले नअघाउने

प्रत्येक मूर्ति अघिपछि आलोपालो आफैँ मात्र खाने
आफ्नालाई मात्र बाँड्ने
भ्यु टावर ठड्याएर
कति चरण खाइसकेका यी
त्यहाँबाट हेरिरहेका
चाटचुटको पालो पर्खेका फ्याउराहरू
आँखा नझिम्काएर हेरिरहेका
अधैर्य ¥याल चुहाइरहेका
कतिबेला चाटचुट गर्न पाइने हो भनेर
कहिले कोही घुम्छन् एकापट्टि
कहिले अर्का घुम्छन् अर्कापट्टि
यिनको प्रत्यागमन र आगमनमा
बाँडिएका झुट, फरेबी र बेइमानीका
गगनचुम्बी विकासको सपना साँचेर
जिउने नियति बनेको छ हाम्रो

यी फ्याउराहरू पनि कहिले बेस्करी घुक्छन्
आगो ओकल्ने गरी घुक्छन्
तर फ्याउरालाई नै बोलाउन
कहिले सेतो पुच्छर हल्लाउँछन्
त्रिमूर्तिको हरेकलाई हरेकले फेरे काटेर
यस्तै यस्तै वेला
जति बल्झिन्छ त्रिमूर्तिको झगडा
त्यति अन्त बन्ने झन तगडा
सुलह गराउने कालिगड बनेर
मसिहा–रजाइँको नटबोल्ट कस्ने खोल्ने उनै
उनले रोपिदिएको यो झगडाको बिउ
अहिले झाँगिएर सर्वत्र फैलिएको
केन्द्रमा ‘क्राउन फरेस्ट’ सरह
त्यसैले घाम पूरै छेकिएको
उज्यालो देखिँदैन कतै
घनीभूत निस्पट्ट अँध्यारो
त्यो अँध्यारोमा अपराधीको पोषक भन्छन्–
‘उसको चिन्ता नलिनू’
त्रिमूर्तिको एउटै चिन्ता छ
अर्को अपराध कसरी गर्ने ?
अपराधीलाई अपराध नदेखिने कसरी बनाउने ?
त्यसैले
वाक्पटुताको क्षीण हुदै गएको बलमा
सोह्र भाइको बाटो खन्ने सत्रौँ भाइ
निष्कलंकित स्वरूप देखाउन
नाटकभित्रको नाटकीय संवाद ‘मसिहा स्वरूप’ मा बोल्छन्–
‘हिलो छ्यापे सह्य नहुने’
बोल्दै नबोलेर काम तमाम गर्ने अर्का प्रतिप्रश्न गर्छन्– ‘के बोल्ने ?’

तर सधैँ तुलना गर्छन् एक अर्काबीच
ऐनाको घरभित्रका यी नाङ्गाहरू
केवल जगलाई सुनाउन भन्छन्
तँभन्दा म चोखो छु, थाहा छ ?
घोक्रो पुलाएर भन्छन्– ममात्र मसिहा हुँ
बाँकी सबै चोर हुन्
तर अपराधी छुटाउन
वा अपराधीलाई अपराधमुक्त गराउन
टाउको जोडेर त्रिमूर्ति एक छन् ।