देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको अडानका कारण प्रतिनिधि सभाको बैठकको अनिश्चित :बदनाम गराउने खोजेको ओलीको आरोप

देशान्तर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाएका छन् । पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जबर्जस्ती मुछ्न खोजेको भन्दै शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको दाबी गरेका छन । ओलीले भ्रष्टाचार कहिले कसरी भएको विस्तारै खुल्दै जाने बताए ।

यो प्रकरणमा योजनाकार केशव दुलालले बयानका क्रममा ओलीको स्वकीय सचिव, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृहसचिव प्रेमकुमार राई लगायको नाम मुछेकोमा ओलीले आपत्ति जनाए ।
पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र आफ्नो पार्टीमाथि लगाइएको भ्रष्टाचारको आरोप विषयमा पुष्टि हुने कुनै आधार नभएको दाबी गर्दै संसद अवरुद्ध हुनै पर्ने पनि बताए ।

माओवादीका सांसद लेखनाथ दाहालले ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी लगाउने भनेर पित्तल लगाएको आरोप लगाएपछि एमालेले संसदमा अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेको अडानका कारण प्रतिनिधि सभाको अर्को बैठकको समय अनिश्चित भएको छ । शुक्रवार बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको कुरालाई लिएर एमाले सांसदले संसद् अवरुद्ध गरेका थिए ।

मध्यान्ह १२ बजे बैठक सुरु हुने बित्तिकै एमाले सांसदले संसद् अवरुद्ध गरेका थिए । जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा सांसद दाहालले तत्कालीन एमाले सरकारको पालामा पशुपतिनाथको मन्दिरमा सुनको भनेर पित्तलको जलहरी राखेर भ्रष्ट्राचार गरेको आरोप लगाएका थिए । सोही विषयलाई लिएर शुक्रवारको बैठकमा एमाले सांसदहरूले दाहालको भनाइप्रति आपत्ति जनाउँदै पशुपतिमा राखिएको जलहरी सुनको हो कि पित्तलको भन्दै सरकारको धारणा मागेका थिए ।

साथै सांसद दाहालले भनेको कुरा संसद्को रेकर्डबाट हटाउन पनि सभामुखसँग माग गरेका थिए । आफ्नो पार्टी अध्यक्षलाई भ्रष्ट्राचारको आरोप लगाएपछि एमाले सांसदहरूले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक रोकेका थिए ।त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका संसदीय दलका नेताहरूसँग सभामुखले संवाद थाले पनि बैठक सञ्चालनको विषयमा सहमति जुट्न सकेन । सभामुखले अपराह्न ३ बजेका लागि अर्को बैठक बोलाए पनि एमाले र सरकारले राखेको अडानका कारण बैठक अहिले सम्म अघि बढ्न नसकेको हो ।