देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि काठमाण्डौमा सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदै

देशान्तर

काठमाण्डौमा आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदैछ । पर्यटन क्षेत्रलाई लक्षित गरी आजदेखि परीक्षणका रुपमा सम्पदा घुम्ती बस सेवा सञ्चालन गर्न लागिएको हो ।

काठमाण्डौ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र साझा यातायातसँगको सहकार्यमा बस सेवा सञ्चालनमा हुन लागेको हो ।

यो सेवाको दिउँसो साढे १ बजे ललितपुर महानगरपालिकाको प्राङ्गणबाट पर्यटनमन्त्री सुदन किराँतीले शुभारम्भ गर्दै हुनुहुन्छ । यस्तो बस सेवाले स्वदेशी तथा विदेशी पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचीकृत काठमाण्डौ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म सेवा दिने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।

आजदेखि साझाका दुई वटा विद्युतीय बस सम्पदा बसका रूपमा चल्ने छन् । साझाले काठमाण्डौमा पहिलो पटक सम्पदा बस सेवा सुरु गर्न लागेको हो । साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेका अनुसार भोलिदेखि हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बसले सेवा दिने गरेको छ ।

केही दिन परीक्षणका रुपमा निःशुल्क बस चलाउने र त्यसपछि शुल्कको व्यवस्था गरिने पनि उहाँले बताउनुभयो । यो सेवा सुरु भए पछि अब एउटै बसमार्फत् ठाउँठाउँमा रहेका सम्पदाको अवलोकन गर्न सकिने छ ।