देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्रीले गरे सपथ ग्रहण

देशान्तर

काठमाडौं । लुम्बिनी प्रदेशका नव नियुक्त तीन मन्त्रीले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेसबाट राजु खनाल, जनता समाजवादीका भण्डारीलाल अहिर र जनमतबाट चन्द्रकेश गुप्तालाई सोमबार नै मन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । स्वास्थ्य मन्त्रीमा खनाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारीलाल र सामाजिक विकासमन्त्रीमा गुप्ताले सपथ लिएका हुन् ।

कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ क बाट, जनता समाजवादीका भण्डारीलाल बाँके क्षेत्र नम्बर २ क बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ ख बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।तीन जना मन्त्री थपिएसँगै लुम्बिनीमा ७ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । ८ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा दाङको ३ क बाट निर्वाचित कांग्रेसका चौधरी गत वैशाख १४ मा मुख्यमन्त्री बनेका हुन ।