देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुरुषोत्तम बस्नेत

देशान्तर

पुरुषोत्तम बस्नेतबारे लेख्दा, म एकदम उदास छु, यो मात्र मलाई अझै बानी परेको छैन उनी अब छैनन् । मेरो उनीसँग परिचयको थालनी साहित्यिक रूपमै भएको हो । पछि उनको राजनीतिक समर्पण पनि स्पष्ट हुँदै गयो । जीवनभरि उनी लोकतन्त्रप्रति प्रतिबद्ध रहे । अन्त कतै हेरेनन् । उनी लेखक पनि थिए । कथा लेख्ने, ‘मुकुट’ पत्रिकाको सम्पादन गरे ।

कमलाई थाहा होला, ‘मुकुट’ ०१९–०२० तिरको एक मानक साहित्यिक पत्रिका थियो । त्यसबखतका शीर्ष साहित्यकार धेरैको रचना त्यसमा छापिएको थियो । त्यस बखतको एक नयाँ लेखकको रूपमा कमैले चिने मेरो रचना पनि उनले मागेर छापेका थिए । सम्पादकका रूपमा उनले सूक्ष्म दृष्टि उनी लेखककै कारण हो, भन्ने मलाई लाग्दछ ।
पुरुषोत्तम बस्नेतसँगको मेरो परिचय, यति पुरानो हो, जति मेरा अन्य कतिपय साथीहरूको मैले नाउँसमेत सुनेको थिइन् । उनको राजनीतिक व्यक्तिका आधारमा भन्ने हो भने मेरो कुनै पनि राजनीतिक साथीभन्दा पुरानो हो, वीरगन्जका केही स्कुल संगातीबाहेक । उनीसितका मेरा कैयौं सम्झनाहरू छन् । एउटा लेखमा अटाउँदैन ।

२०१६–०१७ तिर एउटा होस्टल थियो, लाल दरबार होस्टल । त्यो कुनै दरबार नै हुँदो हो । त्यो रातो रङको थियो, त्यसैले पहिले लाल दरबार पछि होस्टल भएपछि त्यही नाउँअनुसार त्यो लाल दरबार होस्टल भनेर चिनियो । अहिले त्यसको अस्तित्व छैन । पुरुषोत्तम बस्नेत त्यसै होस्टलमा थिए । त्यहीँ उनीसित मेरो भेट भएको हो । मेरा अरु पनि कति साथी थिए त्यहाँ । पुरुषोत्तम बस्नेत, स्कुलका एकदुई सहपाठीबाहेक, राजनीतिक साथीमा सबभन्दा पुराना साथी थिए ।
त्यस समयदेखि आजसम्म पनि उनीसँग मेरो सम्बन्ध उस्तै रह्यो । अब त्यति घनिष्ट मित्र, पुरानो मित्र नहुँदा म एक रित्तोपनको अनुभव गरिरहेको छु ।

बीपी ट्रस्टको स्थापना हुँदा संस्थापनाकाल अझ स्थापना गर्दाको छलफलदेखि नै पनि हामीसँगै थियौं । यत्रो कालसम्म संगत गर्दाखेरि उनको र मेरो मनमुटाव छाडिदिउँ कहिल्यै कुनै विषयमा हलुका बहससमेत भएन । उनीसँग मेरो र मसँग उनको सधैं सहमति रहन्थ्यो । पुरस्कारका लागि चयन गर्दा होस् वा अन्य कुनै विषयमा ।

मसँग कुनै पत्रकारले सोधे उनी अल्पभाषी थिए रे हो ?

मैले भने ‘अल्पभाषी मात्र होइन, इष्टभाषी पनि थिए । मसिनो बोल्थे, तर्कपूर्ण बोल्थे तर सटिक बोल्थे ।’

पार्टीमा उनको स्थान कहाँसम्म थियो र कति थियो, म जान्दिनँ तर नेपाली कांग्रेसका प्रायः सबै नेताले उनलाई मान्दथे । बीपीप्रति उनको श्रद्धा थियो । सम्भवतः त्यही प्रेरणाले उनी जीवनभरि लोकतन्त्रप्रति समर्पित रहे ।
उनले दुई भागमा लेखेको ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप इतिहासको र राजनीतिको एक अनुपम ज्ञानप्रद ग्रन्थ हो । आज सुनेँ, उनी त्यसको तेस्रो खण्ड पनि लेख्न चाहन्थे । अब त्यो लेखिन्न ।

‘प्रारूप’को प्रथम भागको एक प्रसंग सम्झन्छु । ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’को प्रथम भागको विमोचन थियो । श्रोतामा राजनीतिज्ञ पूरापुर थिए । ठूला नेतादेखि विद्यार्थीसम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रमुख अतिथि । त्यतिका दिग्गजहरू हुँदाहुँदै, उनले त्यस समारोहको प्रमुख वक्ता मलाई बनाएका थिए । मलाई अचम्म पनि लागेको थियो । अन्य नेताहरू शुभकामना व्यक्त गर्थे । मैले पनि जिम्मेवारी दिएपछि आफ्नो ‘प्रमुख वक्ताको जिम्मेवारी परिश्रमपूर्वक पालना गर्ने प्रयत्न गरेको थिए । पछि मैले पुरुषोत्तम बस्नेतसित सोधेँ– ‘किन पुरुषोत्तमजी एक प्रकारको राजनीतिक समारोहमा मलाई प्रमुख वक्ता बनाउनु भयो ?’
उनले जवाफ दिए– फरक हुन्छ नि ?’
बरु यति नै केही पाउने कुरामा भने, उनको योगदान हेरेर उनी पछि नै परेजस्तो लाग्छ । उनको योग्यता बढीको थियो । उनले पाएका थिए । गोरखापत्र संस्थानको अध्यक्ष पद । तर उनलाई त्यसको कुनै गुनासो वा अन्यथा भाव थिएन । उनकै समय ‘गोरखापत्र’मा मैले अलिफ लैला’को नेपाली रूपान्तर धारावाहिक लेख्न थालेको थिएँ । धेरै भाग लेखेँ पनि । उनीपछि अर्काे हाकिम आएपछि त्यो हटाइदियो । त्यस कारण त्यो पूरा भने हुन पाएन ।
हामी एक योजनाअन्तर्गत भारतका केही ठाउँ घुमेर केही नेताको अन्तर्वार्ता लिन भनेर गयौं । पुरुषोत्तम बस्नेत दिल्लीसम्म गएका थिए । केही अन्य ट्रस्ट सदस्य पनि थिए ।

दुई एक पटक पुरुषोत्तम बस्नेतसँग पिकनिक पनि गएको छु । पुरुषोत्तम बस्नेतको सिफलको घरमा त्यस बखत गाईबस्तु पालिएका थिए । बेलाबेलामा हामी समूहमै उनको घर जान्थ्यौं । त्यहाँ उनी गोरसका परिकारले हाम्रो स्वागत गर्दथे । पछिसम्म पनि सिफलमा जति जना गए पनि कफी त अनिवार्य रूपमा आउँथ्यो ।

२०२७ सालतिर उनी जेलमा थिएँ । म त्यस बखत त्रिचन्द्र कलेजमा सरकारी शिक्षक थिएँ । पञ्चायतकालमा त्यस बखतको कडाइ अत्यन्त खतरनाक थियो । त्यति खतरा हुँदाहुँदै पनि पुरुषोत्तमजीलाई भेट्नदेखि मैले आफूलाई रोक्न सकिनँ । म गएँ । निर्धारित समयसम्म कुरा गरेँ र फर्केँ ।

हाम्रो बीचमा विभिन्न विषयमा कुरा हुन्थ्यो । तर व्यक्तिगत कुरा जुन अप्रासांगिक होस्, त्यो कहिल्यै भएन । एक प्रकारले भन्ने हो भने, उनको एक साधकसमान जीवन थियो । ‘बीपी ट्रस्टमा बस्दा उनको व्यक्तित्वका अन्य बौद्धिक पक्ष पनि थाहा पाएँ । मलाई थाहा छैन उनी डायरी लेख्दथे कि लैख्दैनथे लेख्थे भने त त्यस्ता व्यक्ति मात्र होइन, सम्बन्धहरूको मात्र होइन, एउटा समयको समग्र परिवेशको सूक्ष्म अध्ययन गर्ने एउटा मौका पाइन्थ्यो । सुनेको छु, उनका कागतपत्रहरू छन्, जसलाई उनले सावधानीसाथ राख्नु भनेर अह्राएका थिए रे । त्यो हो भने, वीपी ट्रस्टले पनि त्यसमा सौहाद्रता देखाओस् परिवारका साथै मिलेर ।

मेरो उनीसित २–४ दिन २–४ दिनमा फोनमा कुरा भइरहन्थ्यो । म गर्थे कि उनी गर्दथे । हालचाल सोधिन्थ्यो । अलिकति देशको कुरा हुन्थ्यो, अलिकति ट्रस्टको कुरा हुन्थ्यो, ट्रस्टका प्रमुख राजेन्द्र पराजुलीबारे म सोध्दथें, उनी बताउँथे । पुरुषोत्तमजी घरमै हुनुहुन्छ होइन ?’

हो, उनी भन्थे । कहिलेकाहीँ भन्थे कहाँ एकअर्का कुरा फोनमा अवश्य हुन्थ्यो । उनी भन्थे– ‘राजेन्द्र आओस् अहिले घर गएको छ, त्यसपछि २–४ दिनमा भेटौंला । केही नाउँहरू पनि सोच्दै गरुँ ।’
म भन्थे– “नामहरू त बसेर मिलेरै सोचौंला ।’

नामहरू भनेको आगामी पुरस्कारका नाउँहरू । यता केही समयदेखि पुरुषोत्तम बस्नेतको फोन आएको थिएन । मैले विभिन्न कारणले गर्न पाइनँ । एक्कासि एकदिन….
मैले राजेन्द्रलाई फोन गरेँ– ‘यो के सुन्नु परेको राजेन्द्रजी ।’

राजेन्द्रले बताएपछि स्पष्ट भयो पुरुषोत्तम बस्नेत अब दुनियाँमा छैनन् । अब मेरो मित्रताको रुचिमा एक सर्वाधिक घनिष्ट र असल मित्रको कमी भइसक्यो ।

‘बीपी ट्रस्ट’मा बेलाबेलामा कुरा उठ्छन् । सत्य के हो भने, राजेन्द्र पराजुली ‘ट्रस्ट’लाई यहाँसम्म पुर्‍याउनमा उनको राम्रो योगदान त्यसकारण ‘ट्रस्ट’ त अब यति बलियो भएकोे छ, त्यो अब राम्रै चल्न सक्छ । राजेन्द्र पराजुलीले समेत यसमा योगदान राम्रो पु¥याएका छन् । चिन्ता संस्थाको होइन चिन्ता मेरो आफ्नै छ, ‘ट्रस्ट’मा प्रासंगिक रहन्छु, पुरुषोत्तमजीको अभाव अभाव मात्र होइन, शून्यता बनेको छ मेरा लागि… ।