काठमाडौँ । सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा आलोपालोको सहमति अनुसार अहिलेकै पहिलो चरणमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच यस्तो सहमति भएको गठबन्धन दलका नेताहरुले बताएका छन् । हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । शुक्रबार बसेको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको हो
दोस्रो चरणमा सातवटै प्रदेशको बारेमा छलफल हुने र मधेस प्रदेशमा कुन दलले कतिवटा मन्त्रालय लिने भन्नेबारे आइतवार जनकपुरमा बस्ने गठबन्धनमा सम्बद्ध दलहरुको बैठकले निर्णय गर्ने बताइएको छ । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र मधेस प्रदेशका अन्य नेताहरुबीच छलफल भएको हो ।
प्रतिक्रिया