भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार भएको प्रधानमन्त्रीको भनाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन् । यस विषयमा कसैले उजुरी गरेर छानबिन गरेर दोशी देखिए जेल जान तयार रहेको उनले घोषणा गरे । क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको दाबी गरे । आज सदनमा सांसदहरु संगको प्रश्नोत्तरमा प्रधानमन्त्रीले राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको आरोप लगाए । भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको उनले स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार दृढ रहेको पनि बताएका छन्।
शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी सबै कामलाई वृहत् शान्ति सम्झौताको मर्म र भावना अनुरूप समाधान गर्न सरकारले प्रयास गरिरहेको बताए। विस्तृत शान्ति सम्झौतासँग सम्बन्धी सहमत सबै राजनीति दलहरूको सहयोगलाई लिएर विधेयक संसदबाट पारित गरेर टुंग्याउने बताए। उनले जघन्य अपराधमा कुनै प्रकारको उन्मुक्ति नदिने प्रतिबद्धता जनाए। द्वन्द्वकालीन मुद्दामा सबै राजनीतिक दल एकजुट हुन आह्वान गरे । प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्ड र दासढुंगा घटनाबारे नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन् । त्यसैगरी गौर हत्याकाण्ड लगायतका हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ भन्ने पक्षमा आफू रहेको प्रधानमन्त्रीको भनाई थियो । त्यसैगरी प्रधानमन्त्रीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको आदेशको कारणले रोकिएको सदनलाई जानकारी दिए । त्यो फैसलालाई कुनै किसिमले पुनरावेदन गरेर खुला गरेपछि सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्ने पनि प्रधानमन्त्रीले जवाफ दिए ।
उनले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । यद्यपि जे गरे पनि एक महिनाभित्र नागरिकताको विधेयक टुंगो लगाउने उनको प्रतिवद्धता छ ।सरकारले उक्त विधेयकका विषयमा पूर्व महान्यायाधिवक्ता, वर्तमान महान्यायाधिवक्ता र संविधान तथा कानुनका विज्ञसँग छलफल गर्दा सबैजसोको मत राष्ट्रपति कार्यालयमा होल्ड भएकै विधेयक प्रमाणीकरण गर्न सुझाव आएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो आसन्न भारत भ्रमणका क्रममा नेपालको नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता वा कुनै भ्रम पर्न नदिने विश्वास पनि सदनलाई दिलाएका छन् । प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हित विपरीतका कुनै किसिमका सम्झौता नगर्ने सदनलाई विश्वास दिएका हुन् ।
प्रतिक्रिया