काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ बिहीबार बिहान सिंहदरबारभित्रै बाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। मियाँले चढ्ने सरकारी गाडी भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहले प्रयोग गरेको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान क्रममा प्रहरीले गृह मन्त्रालयकै एउटा गाडी बरामद गरेको छ।प्रहरीले बिएबी १४०५ नम्बरको सेतो नम्बर प्लेटको मन्त्रालयको गाडी बरामद गरेको हो। अहिले सो गाडीमा इम्बोस्ड नम्बर प्लेट राखिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मानिसहरूसँग पैसा उठाउने र ठगी गर्ने गिरोहले गृह मन्त्रालयको यो गाडी पटकपटक प्रयोग गरेको प्रहरी स्रोतले बतायो।
अमेरिका पठाउने भनेर मानिस ओसारपसार गर्न र उनीहरूबाट असुल गरेको पैसा ओसार्न पनि यो गाडी प्रयोग भएको प्रहरीले बताएको छ।यसअघि पनि उक्त गाडीको नम्बर पटकपटक फेरेर चलाइएको प्रहरी स्रोतले बतायो। कुनै समयमा उक्त गाडीको नम्बर बा १ झ १५८१ पनि थियो।
प्रतिक्रिया