काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनको नतिजालाई चिन्ताजनक विषय भएको उल्लेख गरेका छन् । आजबाट शुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले उपनिर्वाचनको नतिजालाई गम्भीर रुपमा हेर्नु पर्ने उल्लेख गरेका छन् ।
उपनिर्वाचनको नतिजाले सत्ता गठबन्धनको विकल्प एमाले हो भन्ने तथ्यमै प्रश्न उठेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तो नतिजा आउनुको कारणबारे गम्भीर समीक्षाको आवश्यकता प्रतिवेदनमा औल्याइएको छ । यसैगरी माओवादी केन्द्रको राजनीतिक बेइमानी, अस्थिरता र अवसरबादले राष्ट्रिय राजनीतिलाई फेरि पुरानै बिन्दुमा धकेलेको निचोड प्रस्तुत गरिएको छ । माओवादी केन्द्र विभिन्न शक्ति केन्द्रहरूको प्रभावमा परेको प्रतिबेदनमा आरोप छ ।
आज पार्टीको केन्द्रीय कमिटी वैठकमा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा चुनावअघि र पछिका घटनाक्रमको समीक्षा गर्दै यस्तो आरोप लगाइएको हो । नयाँ सहकार्यलाई भत्काएर फेरि पुरानै गठबन्धन स्थापित गर्ने, नेपाललाई अन्त्यहीन अस्थिरतातर्फ धकेल्न चाहने एवं मुलुकलाई शक्ति राष्ट्रहरुको स्वार्थको क्रिडास्थल बनाउन प्रयासरत विभिन्न शक्ति केन्द्रको चलखेल बढेको ओलीको दाबी छ ।
पुस २६ गते कांग्रेसबाट समेत विश्वासको मत प्राप्त गरिसकेपछि प्रधानमन्त्रीले बोली फेर्न थालेको प्रतिवेदनमा उल्लेख छ ।माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्र पुरानै भएको ओलीको टिप्पणी छ । यस अघि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणबारे आगामी जेठ चार गते संसदमा बोल्ने बताएका थिए । यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको ओलीले भनाई थियो ।
२०–२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको दाबी ओलीको दाबी छ ।
ओलीले माओवादी लडाकु शिविरलगायतका भ्रष्टाचार पनि छानविन हुनुपर्ने भनाई बैठकमा राखेका थिए । वैशाख ३० गते सम्म सञ्चालन हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल हुने छ । बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने सातै प्रदेशसहित आयोग अध्यक्षहरुले प्रतिवेदन पेश गरेका छन् । ती प्रतिवेदनमाथि भोलिबाट आठ समूहमा समूहगत छलफल हुने छ ।
पहिलो दिनको बैठकपछि प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार संग बोल्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि सचिव टोपबहादुर रायमाझी पार्टीको सम्पर्कमा नरहेको जानकारी दिए ।
गुरुङले पार्टीको केन्द्रीय कमिटीसंग सम्पर्कविहीन भएकै कारणले पार्टीले निलम्बन गरेको पनि बताए । गुरुङले अनुसन्धानमा सघाउन पार्टीले निर्देशन दिइसकेको भएपनि अहिलेसम्म कुनै सम्पर्कमा नआएको दाबी गरे ।
प्रतिक्रिया