देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टीमा हामी ल्याप्चे केन्द्रीय सदस्य 

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमसेर राणाले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीले गम्भीर रूपमा समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । वैशाख १० मा भएको उपनिर्वाचनको मत परिणामबारे गम्भीर समीक्षा गरेर युवा र महिलाहरू नेपाली कांग्रेसप्रति किन आकर्षित भएनन्, त्यसको समीक्षा गरेर पार्टीलाई अगाडि बढाउन ढिला गर्न नहुनेमा जोड पनि दिए । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा तीन तहको संरचना रहेको र त्यसमा आफूहरू ल्याप्चे केन्द्रीय सदस्यको भूमिकामा रहेको उल्लेख गरे । अब नीति अधिवेशन वा महासमिति जे बोलाए पनि चाँडो बोलाएर अबको पाँच वर्षमा नेपाली कांग्रेसले लिने नीतिबारे प्रस्ट हुनुपर्ने बेला भइसकेको पनि उल्लेख गरे । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले केन्द्रीय सदस्य राणासँग गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय सार्वजनिक रूपमा अलि कम देखिनु र सुनिनुहुन्छ, केमा व्यस्त हुनुहन्छ ?

हाँस्दै । खास केही काममा व्यस्त छैन । यही राजनीतिमै व्यस्त हो । अहिले विशेष गरेर बजेट बनाउने समय छ । त्यसमा पनि अलिअलि अध्ययन गर्नुपर्‍यो । त्यसका साथसाथै आफ्नो जिल्ला, आफ्नो क्षेत्रका लागि बजेट लैजाने काम गर्नु पर्‍यो ।

नयाँ सरकार बनेपछिका राजनीतिक घटनाक्रमहरू जसरी अगाडि बढेका छन्, यसप्रति तपाईंको विश्लेषण के हो ?

चुनाव सकिएको पाँच महिना हुन लाग्यो । तर अहिलेसम्म सरकारले पनि स्थिरताको एउटा बाटो राम्ररी लिन सकेको छैन । सरकारले स्थिरता लिन नसकेको विषयमा विभिन्न कारण त होलान् । मुख्य कारण के हो भने हाम्रो जुन संविधानमा जुन चुनावी प्रक्रियालाई तय गरेका छौं । २०७० सालको संविधानसभाको सदस्य म पनि हुँ । २०७२ सालमा संविधान जारी गर्दाको सदस्य भएकाले म पनि यसमा जिम्मेवारी लिन्छु । संविधान बनाउँदा केही कमी, कमजोरी भयो । हामीले कस्तो संविधान बनायौं भने सरकार बनाउन अत्यन्त कठिन हुने, एउटा अथवा दुईवटा पार्टी मिलेर मात्र होइन धेरै पार्टी मिलेर सरकार बनाउनु पर्ने परिस्थति सिर्जना गर्‍यौं । अहिलेको परिस्थितिमा समानुपातिक प्रतिनिधित्व, हाम्रो देशको निम्ति अत्यन्तै आवश्यक छ । त्यो लागू गर्नुपर्छ । त्यो बिना हुँदैन । किनभने सिंहदरबार सीमित व्यक्तिको मात्र होइन, त्यो हामी सबैको हो ।

३-४ वटा विकल्प मैले देखेको छु । एउटा विकल्प भनेको समानुपातिक प्रतिनिधित्वलाई राष्ट्रियसभा लैजाने ।

तर, संसद्को प्रतिनिधिसभामा ६० प्रतिशत प्रत्यक्ष निर्वाचित, ४० प्रतिशत समानुपातिक प्रणालीबाट निर्वाचित भइसकेपछि बहुमत कुनै पार्टीलाई बनाउन अथवा दुई तीनवटा पार्टी मिलेर पनि सरकार गठन गर्न असहज परिस्थिति सिर्जना भएको छ । त्यसैले यसको बारेमा दुईचार वटा परिवर्तन गरेर भोलि आउने दिनमा कुन पार्टीले प्रधानमन्त्री, कुन पार्टीले मन्त्री, कुन पार्टी विपक्षमा भन्ने जुन अहिले ‘म्युजिकल चेयर’ अहिले हामीले खेलिरहेका छौं, त्यसबाट मुक्त भएर स्थिर सरकार बनाउनेतर्फ हामीले अलिकति ध्यान दिनुपर्छ भन्ने मलाई लागेको छ । ३-४ वटा विकल्प मैले देखेको छु । एउटा विकल्प भनेको समानुपातिक प्रतिनिधित्वलाई राष्ट्रियसभा लैजाने । २० देखि २५ प्रतिशत सिट प्रत्यक्ष निर्वाचित पनि कोटा सिस्टममा आरक्षणको व्यवस्था गर्ने । कतिपय सिट महिलाको निम्ति, कतिपय सिट दलितहरूको निम्ति । तर, यो सिट ‘रोटेसन गर्नुपर्छ, एउटा चुनावमा एक ठाउँको सिट आरक्षण गरिएको छ भने अर्को चुनावमा अर्को ठाउँको सिट हुनुपर्छ । त्यसैगरी अर्को विकल्प भनेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्धतिमा जान पनि सकिन्छ ।

अहिले आएर यो कुरा गर्न ठीक हुन्छ त ?

हामी राजनीतिक व्यक्तिहरूबाट केही कमी, कमजोरी भयो भने, त्यसलाई हामीले महसुस गर्नुपर्छ । म पनि संविधानसभाको सदस्य, जनताबाट निर्वाचित भएको व्यक्ति हुँ । हामीले हाम्रो नेता सुशील कोइरालाको नेतृत्वमा संविधान बनायौं भनेर जुँगा मुसार्दै हिँड्ने कि, केही कमीकमजोरी भएको छ भने त्यसलाई सुधार गर्दै जाने ? नेपाली कांग्रेस भनेको एउटा परिवर्तनशील पार्टी हो । र हामीले केही कमी, कमजोरी गरेका छौं अथवा केही परिवर्तन गरेर देश र जनतालाई फाइदा हुन्छ भने हामी त्यो बाटोतर्फ लाग्नुपर्छ भन्ने मलाई लागेको छ । र यो पाँच महिनाको उथलपुथल पाँच महिनाको अस्थिरता, पाँच महिनाको अन्योल हामीले जुन देख्यौं, यो हामीले केही न केही परिवर्तन नल्याएपछि चुनावी प्रक्रियामा केही परिवर्तन गरिएन भने अहिलेको जस्तो अवस्था भोलि, पर्सका दिनमा पनि दोहोरिरहनेछ । त्यसैले हामीले समस्या के हो ? समस्या नेताहरूमात्र होइन, समस्या उमेरमात्र होइन, समस्या नयाँ पार्टी र पुरानो पार्टी मात्र होइन, समस्या सोच मात्र होइन, यी सबै समस्याको साथसाथै सिस्टममा पनि केही कमी, कमजोरी भएको छ । त्यसैले हामी सबै पार्टीको युवाहरूले र विशेष गरेर हामी नेपाली कांग्रेस जो संविधान बनाउँदा सबैभन्दा ठूलो पार्टी थियो । अहिले पनि हामी सबैभन्दा ठूलो पार्टी छौं । त्यसैले यो परिवर्तनका निम्ति हामीले अग्रभूमिका निर्वाह गर्दै नेतृत्व लिनुपर्छ भन्ने मेरो धारणा हो ।

यस्तो कुरा गर्दा फेरि राजनीतिक नेतृत्वमाथि नै प्रश्न उठाइन्छ त ?

कुनै पनि पार्टीले एउटा चुनाव जितेपछि सबैबाट तारिफ पाउँछ । सबैभन्दा ‘वाहवाह’ त नेताले नै पाउने हो । त्यसैले राजनीतिमा होस् अथवा कुनै कम्पनी वा व्यापारमा होस्, कुनै पनि कम्पनीले असाध्यै राम्रो काम गर्‍यो भने त्यसको ‘सीईओ’ले सबैभन्दा बढी प्रशंसा पाउँछ । तर, कम्पनी डुब्ने परिस्थितिमा गयो भने सीईओले नै सबैभन्दा बढी गाली पाउँछ । यो कुरा राजनीतिमा पनि यही लागू हुन्छ । हाम्रो लोकतन्त्रमा ‘क्रिटिसाइज (आलोचना) गर्ने सबैको अधिकार हो । हामी पार्टीभित्र पनि, मिडियाको जिम्मेवारी त्यही हो । केही कमीकमजोरी पार्टीमा देखियो भने त्यो बोल्ने अधिकार यो लोकतन्त्रमा छ । हामी नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक भएको कारणले त्यसलाई नकारात्मक रूपमा पनि हेर्दैनौं । जिम्मेवारी हामी सबैको हुन्छ, तर सबैभन्दा बढी जिम्मेवारी नेताहरूकै हुन्छ । यसमा कुनै दुविधा छैन र यसमा कुनै व्याख्या गर्नु पनि छैन ।

उपनिर्वाचनको सन्दर्भमा, मंसिरमा पत्याएका तनहुँका मतदाताले वैशाखको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई किन पत्याएनन् ?

चितवनमा हामीलाई गाह्रो थियो । तर, मतान्तर कम हुन्छ भन्ने थियो, त्यो पनि भएन । मतान्तर झन् बढ्यो । तनहुँमा ‘टाइट कम्पिटिसन’ हुन्छ, तर हाम्रो उम्मेदवार गोविन्द भट्टराई ‘पपुलर’ उम्मेदवार हो, पार्टीका नेता कार्यकर्ता सबैले चाहेको उम्मेदवार दिएका थियौं । उहाँले पनि १५ हजारको अन्तरले पराजय भोगिसकेपछि अहिले पार्टीभित्र पनि ओहो ! यो के भयो भन्ने पनि हामी सबैलाई परेको छ । एक किसिमले तनहुँमा हामीले हेर्‍र्यौं भने, कांग्रेसको भन्दा बढी भोट एमालेको पनि घटेको छ । त्यसैले यसलाई हामीले अलिकति अध्ययन नै गर्नुपर्छ । र तनहुँमा मात्र होइन, त्यहाँको जुन किसिमको ‘सेन्टिमेन्ट’ छ, त्यो सेन्टिमेन्ट मेरो ललितपुरमा पनि होला । अरू ठाउँ विशेष गरेर ठूला सहर तथा नगरपालिकाहरूमा यस्तो सेन्टिमेन्ट होला भन्ने महसुस मैले गरेको छु । पुरानो पार्टीहरूप्रति नेपाली जनताको असन्तुष्टि बढेको रूपमा हामीले बुझ्नु पर्छ । दुई वटा कुरा हामीले तनहुँ र चितवनबाट सिक्नुपर्छ । एउटा, नेपाली जनताले पुराना पार्टीहरूलाई जति विश्वास गरेका थिए, त्यसमा कम विश्वास र एक किसिमको त्यहाँ आक्रोश पनि देखियो ।

पहिला पनि धेरै पटक कांग्रेस सिद्धियो भनेर भनिन्थ्यो । म फेरि भन्छु एउटा चुनावको नतिजालाई हेरर कांग्रेस सिद्धिदैन ।

त्योभन्दा अर्को महत्वपूर्ण कुरा, हाम्रै पार्टीका कार्यकर्ता क्रियाशील सदस्यहरूले पनि पार्टीका उम्मेदवारलाई भोट नहालेको कुरा पनि बाहिर आएको छ । यसलाई एक किसिमले पार्टीका कार्यकर्ता साथीहरूले ग्रासरुटमा बस्ने साथीहरूले एक किसिमको ‘साइलेन्ट रिभोल्ट’ गरेको रूपमा मैले बुझेको छु । त्यसैले यसलाई महसुस गरेर अघि बढ्नुपर्छ । पहिला पनि धेरै पटक कांग्रेस सिद्धियो भनेर भनिन्थ्यो । म फेरि भन्छु एउटा चुनावको नतिजालाई हेरर कांग्रेस सिद्धिदैन । हामीले हाम्रो कमी, कमजोरीलाई महसुस गर्नुपर्छ । एक किसिमले नयाँ पार्टीहरू, विशेष गरेर स्वतन्त्र पार्टीमा सहरी क्षेत्रमा महिला र युवाहरूमा खासगरी १८–३५ वर्षको युवा र महिलाहरू तथा सहरकेन्द्रित क्षेत्रमा यसले ठूलो प्रभाव पारेको छ । यसलाई हामीले कसरी ‘ट्याक्कल’ गर्ने, यो सेन्टिमेन्टलाई नेपाली कांग्रेसतर्फ कसरी फर्काउने ।

त्यतातिर हाम्रो अध्ययन हुनुपर्छ । हाम्रो केही कमीकमजोरीहरू संगठनभित्र नै भएको छ । भ्रातृ संगठनहरूले पूर्णता पाउन सकेका छैनन् । विशेष गरेर तरुण दल, नेविसंघ, महिला संघहरू अहिले पनि अपूर्ण छन् । यी भ्रातृ संगठन नेपाली कांग्रेसका ‘ब्याक बोन’ हुन् । यसलाई पनि पूर्णता दिनुपर्छ । यसपटक भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पनि हेर्‍यौं । आजको दिन पनि स्ववियु निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले सबैभन्दा धेरै क्याम्पसमा जितेको छ । त्यसैले हामी सिद्धिसकेको छैनौं । तर अहिले आमूल परिवर्तन नगरी विशेष गरेर उपत्यकासहित ठूला सहरहरूमा समस्याहरू समाधान गरेर अघि बढ्नु पर्छ ।

अहिले नेपाली कांग्रेसमा सच्चिने कि सक्किने भन्ने शब्दले खुबै स्थान पाएको छ है ? 

पार्टी सच्चिने कि सक्किने, सिद्धिने कि उक्लिने, झर्ने कि चढ्ने भन्ने कुरा कुनै पनि राजनीतिक पार्टीको जीवनमा आइरहन्छ । माओवादीले २०६४ सालको चुनाव ‘स्विप’ गरेपछि नेपाली कांग्रेस सक्कियो भन्ने पनि थियो । किसुनजी र गिरिजाबाबुको झगडा भएर पार्टी सरकारबाट गिरिसकेर दोस्रो चुनावमा एमाले सबैभन्दा ठूलो पार्टी भइसकेपछि त्यतिबेला पनि नेपाली कांग्रेसमा यो प्रश्न उठेको थियो । त्यसैले पार्टीको इतिहासमा यस्तो प्रश्नहरू आइरहन्छन् ।

भ्रातृ संस्थालाई अहिले पनि यसैगरी चल्न दिने, तपाईं तरुण दलको अध्यक्ष हुँदाको समय र अहिलेको तरुण दल कसरी तुलना गर्नुहुन्छ ?

म तरुण दलको केन्द्रीय अध्यक्ष हुँदाखेरि साढे तीन वर्षभित्र सबै जिल्लाको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन पोखरामा गरेर तरुण दल हस्तान्तरण गरेको थिएँ । त्यतिबेला नै एउटा गल्ती मैले के गरे भने, सर्वसम्मतिको नाउँमा चुनाव नगर्ने, सबै नेताहरूलाई एकै ठाउँमा राख्नुपर्छ भनेर पोखरा महाधिवेशनमा सर्वसम्मतिको वातावरण सिर्जना गरेको हुँ । अहिले हेर्दा त्यतिबेला मैले गल्ती गरेको रहेछु जस्तो लाग्छ । त्यतिबेला मैले चुनाव हुन दिनुपथ्र्यो जस्तो लाग्छ । सायद त्यतिबेला चुनाव भएको भए, यो भ्रातृ संगठन तरुण दलमा त्यो किसिमको ‘भाइब्रेन्ट’ आउँथ्यो जस्तो लाग्छ । त्यो नै गल्ती भयो कि जस्तो लाग्छ । त्योभन्दा पहिला नेविसंघ र महिला संघको चुनाव भयो, त्यो अत्यन्तै तिक्तताको बीचमा दुई पक्षको दुई वटा पार्टीको बीचमा जसरी चुनाव भइसकेपछि म झस्किएर यस्तो किसिमको चुनाव पार्टीभित्र गर्नु हुन्न भनेर नै मैले सर्वसम्मतिमा नेतृत्व हस्तान्तरण गरेको हुँ । योभन्दा पहिला पनि तरुण दल चार जनामा सीमित थियो । त्योभन्दा पछाडि नयाँ कमिटी आए पनि विद्वान गुरुङले पूर्ण कमिटी पाउनु भएको छैन । त्यसैले उहाँलाई पनि काम गर्न अत्यन्तै गाह्रो छ । उहाँभन्दा पनि यसको जिम्मेवारी हामी पार्टीकै नेताहरूले लिनुपर्छ ।

अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले भ्रातृ संगठनहरूलाई पूर्णता दिन्छ त ?

अब भ्रातृ संगठनलाई पूर्णता दिनै पर्छ । कांग्रेसको केन्द्रीय कार्यसमितिमा तीन तह देखिन्छ । एउटा शीर्ष नेता र पदाधिकारीहरू, त्यसपछि सचिवालय र त्यसपछि बल्ल केन्द्रीय कार्यसमिति । भ्रातृ संगठनलाई पूर्णता दिने ‘होमवर्क’ गरेर सचिवालय वा पदाधिकारीले ल्याउनु प¥यो । तर उहाँहरूले यो विषयमा अलिकति कम ध्यान दिएको देखिन्छ । उहाँहरू आफ्नै किसिमले लागिरहनु भएको छ । उहाँहरूले नसक्ने हो भने भन्न प¥यो ‘हामीले यो गर्न सकेनौं, हामी ठूलाठूला पदमा निर्वाचित भएका छौं, त्यसैले हामीले गर्न सकेनौं’ भने पछि हामीले त्यो काम गर्दिन्छौं ।

तपाईंहरूलाई कसले त्यो जिम्मेवारी दिने, छलफल बहस हुन्छ र कांग्रेसमा ?

समस्या त्यही देखियो । जो पदाधिकारी साथीहरूले जिम्मेवारी लिनु भएको छ, कार्यसम्पादन समितिमा पनि छलफल हुन्छ । उहाँहरू पनि शीर्ष नेताहरू, पोर्टफोलियोको आधारमा जो पहिला केन्द्रीय सदस्य बन्यो उसलाई बनाउने भन्ने आधारमा कार्यसम्पादन समिति गठन भयो । कसले बढी मत ल्यायो त्यसलाई प्राथमिकता दिएको छैन । अहिले हामीहरू एक किसिमको केन्द्रीय सदस्य त छौं, तर, धेरै हदसम्म ल्याप्चे केन्द्रीय सदस्य बनेका छौं । त्यसैले अब आउने केन्द्रीय कार्यसमितिको बैठकमा यी कुराहरू उठाउँछौं । विशेष गरेर भ्रातृ संगठनको कुरा त्योभन्दा पनि महत्वपूर्ण कुरा पछिल्लो चुनावमा युवा र महिलाहरू नेपाली कांग्रेसप्रति किन आकर्षित भएनन् भन्ने समीक्षा हुन जरुरी छ । अहिले नेपाली कांग्रेसले वडावडामा केन्द्रीय प्रतिनिधि खटाएर भेलाहरू आयोजना गर्न सुरु गरेको छ । हाम्रो जिल्लामा पनि केही दिन पहिला भएको थियो । अब हामी सांसदहरू पनि गाउँ फर्किएर वडावडामा रहेका क्रियाशील सदस्यहरूसँग अन्तरक्रिया गर्नेतर्फ पनि केन्द्रित भएका छौं । अब विशेष गरेर नेपाली कांग्रेसले हाम्रो संगठनको रिभिजिट गर्नुपर्ने जरुरी भएको छ । हाम्रो कमीकमजोरीहरू के के भएका छन्, विशेष गरेर कार्यकर्ताहरू किन यसपालिको निर्वाचनमा जति सक्रिय हुनुपर्ने त्यति सक्रिय भएनन्, मात्र होइन, महत्वपूर्ण जिम्मेवारीमा रहेका साथीहरूले पनि कांग्रेसलाई मत हालेनन् भन्ने कुरा आएको छ ।

कहिले बस्छ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक ?

अब अघि पनि भनिहालें, हामी ल्याप्चे केन्द्रीय सदस्य । अब हामीले केन्द्रीय कार्यसमितिको बैठक बोलाउनका लागि नेतृत्वलाई दबाब दिन्छौं । म विशेष गरेर अहिले हाम्रा भ्रातृ संगठनको बारेमा बढी चिन्तित छु ।

नेपाली कांग्रेसको नीति अधिवेशन के भदौमा गर्ने तयारी गरेको हो ?

यसलाई हामीले नीति अधिवेशन भने पनि भयो, महासमितिको बैठक बोलाए पनि भयो । तर, बोलाएर हाम्रो पार्टीको अर्को पाँच वर्षको निम्ति हाम्रो रणनीति के हुने, हाम्रो नीति तथा कार्यक्रम के हुने, हामीहरू जनतामा कसरी जाने र विशेष गरेर हामीले आफूलाई कसरी प्रस्तुत गर्ने र प्रस्तुत गर्ने माध्यमहरू पाँच वर्षअगाडि र अहिलेको अवस्थामा अत्यन्तै ठूलो फरक आएको छ । हामीले सामाजिक सञ्जालमा हाम्रो उपस्थिति अत्यन्तै कमजोर देखिएको छ । हामी सामाजिक सञ्जाल मैत्री कसरी हुने, फेसबुक, ट्विटर, टिकटकजस्ता सामाजिक सञ्जालका प्लेटफर्ममा कसरी पुग्ने ती धेरै कुराहरूमा छलफल गर्नुपर्छ । महासमिति बोलाएर गरे पनि भयो, अथवा नीति महाधिवेशन बोलाएर गरे पनि भयो । तर, मुख्य कुरा हाम्रो रोडम्याप अव परिवर्तन गर्नुपर्ने भएको छ । हाम्रो रोडम्याप अहिलेको युवा तथा भाइबहिनीहरूलाई आकर्षण गर्ने किसिमले पार्टीको रङ फेरेर अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ ।

थोरै, सरकारको कामको कुरा गरौं ।

अहिलेको सरकारले गरेको कामबाट सन्तुष्ट हुनुहुन्छ, नेपाली कांग्रेस पनि सरकारमा छ ?

यो चाहिँ अलि नमिल्ने प्रश्न हो । नेपाली कांग्रेस सरकारमा सहभागी भएको डेढ महिना भयो । सरकारले पूर्णता पनि पाएको छैन । सरकारले पूर्णता नपाएको विषयमा कारण जे भए पनि अहिले नै यो सरकारले काम ग¥यो कि गरेन भन्ने होइन । अहिले यो प्रश्न गर्नेबित्तिकै धेरै सांसदहरूले सीधै काम गर्न सकेन भन्ने उत्तर दिइहाल्नु हुन्छ । त्यसैले म अहिले नै सरकारले काम गरेन भन्ने तर्फ छैन । पहिलो कुरा यो सरकारले बजेट ल्याओस्, बजेट ल्याइसकेपछि हामीले दसैंसम्म कुरौं ।

कस्तो बजेट ल्याउने, अर्थतन्त्र त पूरै शिथिल छ ?

अहिले बजेट अलि टाइट ल्याउनुपर्छ । अहिले फजुल खर्चहरू हामीले काट्नै पर्ने हुन्छ । अहिलेको परिस्थितिमा पनि धेरै योजनाहरूको स्रोत सुनिश्चितता छैन । ती योजनाहरू बजेटबाट काटिनु पर्छ । यो विषयमा एक जना सांसदका हिसाबले म क्लियर छु । कागजको भरमा बहुवर्षीय योजना बनायो तर त्यसको स्रोत सुनिश्चितता गरेको छैन, त्यो प्रदेशमा अवस्था त झनै खत्तम छ । यस्ता योजनाहरू ‘च्यापच्याप’ काटिदिनुपर्छ । र जुन बहुवर्षीय योजनाहरूको स्रोत सुनिश्चितता भएको छ, ती योजनाहरूलाई अगाडि बढाउनुपर्छ । यो खालको समस्या भौतिक पूर्वाधार मन्त्रालयमा चार खर्बको छ । केपी ओलीको सरकारदेखि अहिलेसम्मका जुन अर्थमन्त्रीहरूले बजेट बनाउँदा गल्ती गरे त्यसबाट हामीले अहिले अत्यन्तै कठिन निर्णय गरेर भए पनि अर्थतन्त्रलाई सही बाटोमा ल्याउन जरुरी छ ।

अहिलेको परिस्थितिमा ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्था छ । हाम्रा ठूला योजनाहरू जुन बनेका छन्, भैरहवा एयरपोर्ट र पोखरा एयरपोर्ट । त्यसको ऋण तिर्नका लागि ती परियोजना सक्षम नभएको परिस्थितिबारे सबै जानकार हुनुहुन्छ । त्यसैले अब आउने दिनमा यस्ता ठूला योजना ‘इमोसन’मा होइन आवश्यकताअनुसार चयन गर्नुपर्ने हुन्छ । योभन्दा अगाडि केपी ओली प्रधानमन्त्री र युवराज खतिवडा अर्थमन्त्री हुँदा विदेशी ऋण पनि अथाह रूपमा बढाउनु भएको छ । त्यसको मार पनि अहिले हामीलाई परेको छ । कोभिडको समस्याले पनि यसलाई थप प्रभाव पारेको छ । हाम्रो बैंकिङ प्रणालीमा पनि ब्याजदर बढेर गएको छ । यसैगरी रूस र युक्रेन युद्धले पनि हाम्रो महँगी बढेर गएको छ । आजको दिनमा विदेश पढ्न जाने विद्यार्थीलाई जति हामीले विदेशी मुद्रा दिन्छौं, त्यो अहिले पेट्रोलियम पदार्थ आयात गर्नुभन्दा बढी खर्च त्यसमा भएको छ । भनेपछि अर्थतन्त्रलाई सही बाटोमा ल्याउने केही कठोर निर्णयहरू गर्न जरुरी भइसकेको छ ।

साउनदेखि अर्थतन्त्र सुधार हुन्छ त ?

आजको भोलि नै अर्थतन्त्र सुधार होला भन्ने मलाई लाग्दैन । २१ औं शताब्दीको अर्थतन्त्र नेपाल एक्लैमा मात्रै पनि सीमित छैन । ग्लोबल इकोनोमीका कारण पनि हामीलाई असर पर्छ । भारत र चीनको पछिल्लो दुई वर्षको आर्थिक अवस्था पनि अलि ‘स्लोडाउन’ भएको कारणले नेपाललाई मात्र होइन, अरू देशहरूमा पनि समस्या ल्याएको छ । एक किसिमले हेर्दाखेरि हाम्रो इकोनोमी अरूको इकोनोमीभन्दा आइसोलेटेड छ । त्यसैले लकडाउन र कोभिडको मार पनि धेरै परेन । तर, रुस युक्रेन युद्धले, हामीले इन्धन बाहिरबाट ल्याउनुपर्ने भएकाले प्रभाव परेको हो ।

वैशाख २४ गते आइतबार देशान्तर साप्ताहिकमा प्रकाशित अन्तर्वार्ता