देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय : राष्ट्रपतिको सह्रानीय चाहना

देशान्तर

अघिल्ला दुई पूर्वराष्ट्रपति तथा केही पूर्वप्रधानमन्त्रीहरुको उपचारमा राज्यकोषबाट करोडौं खर्च भएको भनेर आलोचना भइरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले हालै भारतमा गराएको उपचारको खर्च आफैं व्यहोर्ने चाहना व्यक्त गरेर सार्वजनिक रुपमा भइरहेका आलोचना सम्बोधन मात्रै गरेका छैनन्, राज्य कोषमा कुनै पनि राज्यका सक्षम पदाधिकारीले दोहन गर्नु हुँदैन भन्ने सन्देश पनि दिएका छन् । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान अस्पताल(एम्स)मा उपचार गराएर गत साता स्वदेश फर्के लगत्तै राष्ट्रपति पौडेलले आफ्नो उपचारमा लागेको खर्च आफैं व्यहोर्ने चाहना व्यक्त गरेर असल अभिभावकको जिम्मेवारी प्रदर्शन गरेका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४मा उल्लेख भएअनुसार राष्ट्रपति र उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार गर्न नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुकै सल्लाहमा उपचारका लागि नयाँ दिल्ली गएका राष्ट्रपति पौडेलले ऐनमा उपचार खर्च सरकारले व्यहोर्ने उल्लेख भए पनि खर्च आफैंले व्यहोर्ने चाहना व्यक्त गरेका हुन् । कतिपयले राष्ट्रपतिले खर्च व्यहोर्छु नभनी व्यहोर्ने चाहना मात्रै राखेको भन्दै आलोचना गरे पनि त्यसका लागि सरकारले निर्णय गर्नु पर्ने भएकाले पौडेलले व्यक्तिगत हिसावमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । यसअघि कुनै पनि राष्ट्रपति, प्रधानमन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरुले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने चाहनासमेत व्यक्त गरेका थिएनन् । बरु लाग्ने खर्चभन्दा बढी रकम राज्यकोषबाट लिएका थुप्रै दृष्टान्त छन् ।
राष्ट्रपतिलाई उपचार खर्च व्यक्तिगत रुपमा नै व्यहोर्न आग्रह गदै आएका नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले पनि राष्ट्रपतिको चाहनाको सम्मान गरेका छन् । यसलाई नजिरको रुपमा स्थापित गर्नुपर्ने उनको तर्क छ । सक्षम हुँदासम्म आफैंले उपचार खर्च व्यहोर्ने र नसक्ने अवस्थामा मात्रै राज्यले सहयोग गर्नुपर्ने थापाको भनाइ छ ।
छातिमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा नै उपचार गराउँदै आएका पौडेल सिकिस्त भएपछि उपचारका लागि भारत गएका हुन् । फोक्सोको झिल्लीमा पानीको फोका देखिएको र त्यसैको असरका कारण बेहोससमेत हुन थालेपछि उनलाई चिकित्सकहरुले नै भारत जान सुझाब दिएका थिए । सोही अनुसार सरकारले पौडेललाई भारतमा उपचारको व्यवस्था गरेको हो । करिव दुई साता लामो उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ र अझै केही दिन आइसोलेसनमा नैै बस्न चिकित्सकहरुले सुझाब दिएका सार्वजनिक समारोहमा सहभागी भएका छैनन् ।

फागुन २५ मा मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित पौडेलले यसबीचमा जनसाधारणबाट आलोचित हुने कुनै पनि काम गरेका छैनन् । बरु यसअघिका राष्ट्रपतिले अँगाल्दैै आएका आम नागरिकलाई सास्ती हुने परम्परालाई उनले तोड्दै गएका छन् । कुमारीको दर्शन, पशुपतिनाथको दर्शन, घोडेजात्रा समारोह लगायतमा जाँदा उनले कुनै तामझाम देखाएनन् । त्यसबाट पनि उनको प्रशंसा भइरहेको छ ।
राष्ट्रपति उपचार गराएर स्वदेश फर्केकै दिन नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी पनि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा करिव साढे दुई महिना लामो उपचारपछि स्वदेश फर्केका छन् । फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना गरिए पनि त्यहाँ उपचार सम्भव नभएपछि सरकारले मुम्बई पठाएको थियो ।
नेपालमै उपचार गराउने अडानमा रहेका भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीको दबाबमा भारत पठाइएको थियो । उनको उपचार खर्च पनि सरकारले व्यहोर्ने यसअघि नै निर्णय गरिसकेको छ । त्योसँगै जलनसम्बन्धी उपचारका लागि सुविधासम्पन्न अस्पताल स्थापना गर्ने निर्णय पनि सरकारले गरिसकेको छ । भारतमा उपचार गराएर फर्केका सांसद भण्डारीले आफ्नो उपचारमा लागेको खर्च आफैंले व्यहोर्ने भन्दै सरकारसँग हिसाब मागेका छन् । आफ्नो क्षमताले भ्याएसम्म आफैं तिर्ने र नभ्याएमा मात्रै बाँकीका लागि सरकारको सहयोग माग्ने उनको भनाइ छ ।विगतमा बर्सेनि नेताहरुको उपचारमा सरकारले करोडौं खर्च गरेको परिप्रेक्ष्यमा राष्ट्रपति पौडेल र सांसद भण्डारीको भनाइले देशभर सकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।