काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीको सचिवालयले समसामयिक विषयमा दुई नेताबीच भेटवार्ता भएको जनाएको छ । दुई नेताबीच सिंहदरबारमा भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो । प्रधानमन्त्री दाहाललाई भेट्न ओली बिहीबार दिउँसो सिंहदरबार पुगेका थिए । भेटपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति, कार्यक्रम र बजेटको विषयमा छलफल भएको बताए ।
अर्को प्रसंगमा ओलीले दोषीलाई कारबाही हुनुपर्ने बताए । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले यस्तो बताएका हुन् । उनले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरे । निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने ओलीको भनाई थियो । निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने उनले चेतावनीसमेत दिए । पक्राउ पुर्जीपछि आफूले पनि फोन गरेर कुरा गरेको बताउँदै रायमाझी काठमाडौं आउँदै गरेको उनले जनाए । उनले त्यसबारे प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएको बताएका छन् ।
यसैगरीओलीले रास्वपाका सभापति रवि लामिछानेलाई आफूले प्रधानमन्त्रीको अफर गरेको कुरामा अनबिज्ञता जनाएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि बाहिरिले क्रममा उनले प्रस्तावबारे अखबारहरूमा पढेको तर अरु आफूलाई थाहा नभएको बताए ।
प्रतिक्रिया