काठमाडौं। कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी छ ।
कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप नामको टुंगो लगाउन बैठक बसिरहेको छ । कांग्रेसले ९ मन्त्री र एक राज्य मन्त्रीको दाबी गरेको छ । त्यसमध्ये ६ जना संस्थापन पक्षबाट हुने भएका छन् ।
पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, भ्रातृ संस्थाको कार्यसमितिको पूर्णता, विभाग गठन लगायतमा पनि छलफल हुने भएको छ ।
गत मंसिर २७ मा १४ औँ महाधिवेशन गरेको कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन ।
कांग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर कांग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डसमेत अपुरो छ । १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्नै बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १५६ जना सदस्यमात्र छन् । सभापतिले १२ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ ।
प्रतिक्रिया