देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नयाँ रणनीतिका साथ अघि बढ्नु पर्छ 

देशान्तर

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी अब नयाँ रणनीति लिएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । उपनिर्वाचनमा पार्टीले भोगेको पराजयका गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै सक्किने नभई अब सच्चिने बेला आएको बताए । गठबन्धनका दलहरूबाट उपनिर्वाचनमा राम्रो साथ पाए पनि प्रतिपक्षी एमालेले नै आफ्नो मत जोगाउन नसक्दा कांग्रेसले पराजय भोगेको टिप्पणी पनि परियारले गरे । सहमहामन्त्री परियारसँग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

उपनिर्वाचनको समीक्षा कसरी गर्नुहुन्छ ?

मंसिर ४ गते भएको आम निर्वाचनपछि वैशाख १० गते देशका ३ वटा निर्वाचनमा उपनिर्वाचन भएको हो । विविध कारणले खाली रहेका तीन क्षेत्रमा उपनिर्वाचन हुँदा हामीले दुई क्षेत्रमा उम्मेदवारी दिएका थियौं भने एक क्षेत्रमा हाम्रै गठबन्धनमा रहेको जनता समाजवादी पार्टीलाई छाडेका थियौं । तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई नै साझा उम्मेदवारका रूपमा अघि सारेका थियौं । त्यसमा हामी दुई ठाउँमा असफल भयौं भने एक ठाउँमा मात्र सफल भयौं । गठबन्धन एक ठाउँमा सफल भए पनि नेपाली कांग्रेसको कुरा गर्दा दुवै ठाउँमा हामी असफल अर्थात् पराजित भयौं । कांग्रेसले चितवन २ र तनहुँ १ मा उम्मेदवार उठाएको थियो । हामीले उठाएका चितवनमा जितनारायाण श्रेष्ठ र तनहुँमा गोविन्द भट्टराई दुवै जना पराजित हुनुभयो ।

दुई दोब्बर नेकपा एमालेबाट वाग्लेलाई समर्थन भएको जस्तो देखिन्छ । मलाई के लाग्छ भने नेकपा एमाले पार्टी अहिले प्रतिपक्षमा भएको हुनाले अप्रत्यक्षरूपमा डा. भित्री रूपमा वाग्लेलाई समर्थन गरेको पनि हुन सक्छ भन्ने आकलन पनि गर्न सकिन्छ ।

मंसिर ४ को चुनावमा नेपाली कांग्रेसले तनहुँ १ मा विजय हासिल गरेको थियो । वैशाख १० को उपनिर्वाचनमा हामीले त्यो क्षेत्र सुरक्षित गर्न सकेनौं । हामीले क्षेत्र गुमाउनुका पछाडि धेरै कारणहरू हुन सक्छन् । ती कारणका बारेमा हामी गम्भीर समीक्षाकै क्रममा छौं । अहिले जसले निर्वाचन तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर डा. स्वर्णिम वाग्लेले चुनाव जित्नुभयो । उहाँलाई अप्रत्यक्ष रूपमा सपोर्ट गरेको जानकारी हामीलाई प्राप्त भएको छ । तथापि हामीले निर्वाचनमा पराजित भइसकेपछि के कति कारणले पराजित भयौं भन्ने बारेमा हामीले यसलाई गम्भीर रूपमा लिएका छौं । र आगामी दिनमा हामीले कस्तो रणनीति अपनाउनु पर्छ, र किन हामी पराजित भयौं भन्ने बारेमा पार्टीभित्र गम्भीर समीक्षा हुन बाँकी नै छ ।

गम्भीर समीक्षा कहिले गर्ने, मंसिर ४ कै चुनावको समीक्षा भएको छैन, अब वैशाख १० को समीक्षा कहिले गर्ने ?

हामीले अब एकै पटक समीक्षा गर्छौं । मंसिर ४ को समीक्षा गर्न पनि बाँकी नै छ । हामीले गरेका छैनौं । अब वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनको पनि समीक्षा हामीले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गर्छौं ।

तपाईंले सुरुमा भन्नु भएको थियो, वाग्लेलाई पार्टीका केही व्यक्तिले पनि सघाए भनेर के संकेत गर्न खोज्नु भएको हो ?

डा. स्वर्णिम वाग्लेलाई स्वतन्त्र पार्टीका कार्यकर्ताले मात्र होइन, नेपाली कांग्रेसका समर्थकहरू र अझ बढी नेकपा एमाले समर्थक मतदाताहरूले सहयोग गरेको नतिजा देखिन्छ ।  मंसिर ४ मा भएको आम निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नु भएका रामचन्द्र पौडेल (हाल राष्ट्रपति) ले २५ हजार मत ल्याएर चुनाव जित्नु भएको थियो । नेकपा एमालेले २० हजार मत ल्याएको थियो । अहिले नेकपा एमालेको ११ हजार मत आएको छ भने नेपाली कांग्रेसको २० हजार मत आएको छ । यसले के देखिन्छ भने, नेपाली कांग्रेसका केही मतहरू चोरिए, त्यसमा हाम्रो दुई मत नै छैन ।

त्योभन्दा पनि दुई दोब्बर नेकपा एमालेबाट वाग्लेलाई समर्थन भएको जस्तो देखिन्छ । मलाई के लाग्छ भने नेकपा एमाले पार्टी अहिले प्रतिपक्षमा भएको हुनाले अप्रत्यक्षरूपमा डा. भित्री रूपमा वाग्लेलाई समर्थन गरेको पनि हुन सक्छ भन्ने आकलन पनि गर्न सकिन्छ । तर, जनताले मत दिएर जिताइसकेपछि हामीले हार स्वीकार गर्नुपर्छ । हामी स्वीकार गरेर नै अघि बढेका छौं । हामी अहिले चितवन र तनहुँको मत परिणाम हेरेर आगामी दिनको रणनीति पनि बनाउन कांग्रेसका लागि जरुरी छ । साथै अहिलेको परिणामलाई दलहरूप्रति पनि वितृष्णाको मत हो कि भन्ने रूपमा विश्लेषण गर्नुपर्छ जस्तो लाग्छ । त्यसलाई हामीले सुधारेर जान आवश्यक छ । हाम्रो कमजोरी पनि भएको होला । त्यसका कारणले पनि असर परेको छ । चुनावी व्यवस्थापनमा पनि हाम्रो केही कमी, कमजोरी भएको होला अबका दिनमा सुधार गर्न जरुरी भइसकेको छ ।

तपाईंहरूको गठबन्धन इमान्दार भएको थियो त ?

गठबन्धन दलभित्र खासै ठूलो समस्या थिएन । गठबन्धनका उम्मेदवारलाई जिताउने प्रयत्न सबैले गर्नुभएकै हो । पुष्पकमल दाहाल प्रचण्ड आफैं निर्वाचन क्षेत्रको सभामा पुग्नु भएको छ । माधवकुमार नेपाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई पुग्नु भयो । सबैले प्रयास गर्दा पनि हामी पराजित भएका हौं । तर अहिले गठबन्धनमा आबद्ध दलहरूबाट असहयोग भयो भनेर निष्कर्ष निकाली हाल्नु उपयुक्त हुँदैन ।

नेपाली कांग्रेस पार्टीबाटै मन्त्रिपरिषद्मा सहभागी हुनुपर्ने व्यक्तिहरू सहभागी नहुँदा सरकारले पूर्णता पाउन सकेको छैन ।

सभापति देउवाले संसदीय दलको बैठकमा जनताले ठूला दललाई पत्याएनन् भन्ने कुरा सुनियो, यो के कांग्रेसले रियलाइजेसन गरेको कि के हो ?

अब यो कुन प्रसंगमा कुन कार्यक्रममा भन्नुभयो त्यो मलाई थाहा छैन । यसको बारेमा पार्टीभित्र छलफल गरिसकेपछि त्यहाँ आफ्ना दृष्टिकोण आइसके पछिमात्रै हाम्रो बारेमा के छ मूल्यांकन भनेर आकलन गर्न सकिन्छ ।

अहिले राजनीतिमा सक्किने कि सच्चिने भन्ने शब्द चल्या छ नि, यो भन्या के हो ?

सामाजिक सञ्जालमा यी विषयहरू आएका छन्, यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ । हामी अब सक्किनेतर्फ जाने हो भने अहिले जस्तो छ त्यस्तै अघि बढौं चुप लागेर बसौं । होइन, नेपाली कांग्रेसलाई अझ राम्रो बनाउने अहिले भएका कमी, कमजोरीहरू सच्याएर अघि बढ्ने हो भने हामीले नयाँनयाँ रणनीतिहरू निर्माण गरेर जनतासमक्ष जानुपर्छ । र हामीले काम गरेर देखाउनुपर्छ ।

खासगरी सच्चिने र सक्किनेको प्रश्न अहिले नेतृत्वमा रहेकालाई गरिएको छ, के फलानो व्यक्तिको ठाउँमा फलानो व्यक्ति नेता भयो भने सच्चिएको मान्ने हो ?

होइन, आफ्नो पार्टीको अहिलेको संगठनात्मक संरचना, हामीले गरेका नीतिगत निर्णयहरू र विगतमा हामीले गरेका काम कुराहरू र रणनीतिको समीक्षा हुन जरुरी छ । ती कुराको समीक्षा गरिसकेपछि वर्तमान अवस्थामा के कस्तो ढंगको हामीले निर्वाचन परिचालन ग¥यौं, त्यसको पनि समीक्षा होला । त्यसपछि आगामी दिनमा गर्नुपर्ने कामका बारेमा पनि तय गर्ने रणनीतिले नै हामी सच्चिने कुराको एजेन्डा बाहिर ल्याउन सम्भव हुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेसको वैकल्पिक शक्तिको रूपमा हेर्न थालिएको छ तपाईंलाई त्यस्तो लाग्दैन ?

त्यो कुरा त भविष्यले बताउँला । कांग्रेसको विकल्प हो भनेर कसैलाई लाग्न सक्ला । कुनै कम्युनिस्ट पार्टी भएको भए कम्युनिस्टको विकल्प भन्थे । उहाँहरूले कम्युनिस्ट पार्टी भन्नु भएको छैन । त्यसैले त्यस्तो अनुमान गरे होलान् । विकल्पको रूपमा धेरै दलहरू निस्किन्छन् । पहिला मधेसका दलहरूलाई पनि त्यही भनिएको थियो । अहिले मधेसका ती दलहरू कहाँ छन् भन्ने देखिएकै कुरा हो । रास्वपा कांग्रेसको वैकल्पिक शक्तिको रूपमा हो भनेर भन्ने वैज्ञानिक कुनै आधार पनि छैन । उनीहरूको त अहिलेसम्म नीति दर्शन केही पनि सार्वजनिक भएको छैन । हो त्यहाँ भएका केही नेताहरू विगतमा डेमोक्र्याट भएका नाताले यस्तो चर्चा गरिएको मात्रै हुन सक्छ ।

नेपाली कांग्रेस अब पनि यसैगरी चलाउने कि करेक्सन कहाँबाट सुरु गर्ने ? 

यत्तिकै चुप्प लागेर बस्यौं भने हामीले परिस्थितिलाई नै बेवास्ता गरेको देखिन सक्छ । त्यसकारणले गर्दा हामीले त्यतिकै चुप लागेर बस्न हुँदैन । अहिलेको भन्दा नयाँ रणनीति अपनाउन जरुरी भइसकेको छ ।

तपाईंहरू पनि त नेतृत्वलाई दबाब दिनुको साटो सामाजिक सञ्जालमा मात्रै लेखेर बस्नुहुन्छ ?

नेतृत्वलाई दबाब दिने बारेमा पनि कतिबेला कुन समयमा दिने भन्ने होला । जथाभावी बोल्ने, सामाजिक सञ्जालमा लेखेर नेतृत्वको उछितो काडेर समस्याको समाधान निस्कँदैन होला । त्यसको उचित फोरमहरू हुन्छन् । यस्ता कुराहरू हामीले उचित ठाउँमा छलफल गरेर रणनीति अख्तियार गर्ने हो ।

सरकारको कामबाट सन्तुष्ट हुनुहुन्छ ?

यो सरकार भर्खर बन्दै छ । कांग्रेस सरकारमा सहभागी भएको दुई, तीन हप्तामात्रै भएको छ । कतिपय कुराहरू संसद्मा पनि सरकारका बारेमा स्पष्ट दृष्टिकोण राखेका छौं । त्यसले गर्दा सरकारले गरेका सम्पूर्ण कामहरूको समर्थन नै गर्नुपर्छ भन्ने पनि छैन । गलत कामलाई गलत भनेर स्पष्ट रूपमा हामीले राख्छौं ।

अहिले सरकार सफल कि असफल ? 

अहिल नै सरकार पूरै असफल र पूरै सफल भन्न मिल्दैन । सरकारले आफ्ना निर्णयहरू कार्यान्वयन गर्ने सन्दर्भमा कतिपय कुराहरू कमी, कमजोरी भएको हुनसक्छ त्यसलाई सच्याउनका लागि हामीले दबाब दिने हो । कतिपय कुराहरू सरकारसँग आफैं सच्चिएर अघि बढ्नुको विकल्प छैन ।

सरकारले पूर्णता नपाउनुको दोष त कांग्रेसले त लिने होला नि ? 

नेपाली कांग्रेस पार्टीबाटै मन्त्रिपरिषद्मा सहभागी हुनुपर्ने व्यक्तिहरू सहभागी नहुँदा सरकारले पूर्णता पाउन सकेको छैन । पहिलो कुरा त कांग्रेस आफूले पनि सोच्नुपर्छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सरकारलाई पूर्णता दिने सवालमा पहलकदमी लिनुपर्छ ।

अहिले नयाँ समीकरण बन्छ भन्ने चर्चा पनि छ, के कांग्रेस एमालेका बीचमा केही खिचडी पाकेको हो ?

अहिलेको गठबन्धन तोडेर नयाँ गठबन्धन (समीकरण) बन्ने कुनै सम्भावना छैन । हामी विगत केही समयदेखि नयाँ शिराबाट अघि बढिरहेका छौं । अहिलेका गठबन्धन दलहरूसँग सहकार्य गर्दै पनि आएका छौं । नेकपा एमालेसँग धेरै पहिलादेखि नै सहकार्य टुटेको छ र अहिले जोडिने सम्भावना छैन ।

तपाईंहरूको केन्द्रीय कार्यसमितिको बैठक अब कहिले बस्छ ?

अब तत्काल केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्छ । बैठक बसेर केही निर्णयहरू गर्न जरुरी भइसकेको छ ।

केही दिन चिच्याउने अनि सेलाउन है तपाईंहरू ?

हुन त केही पनि नभएको देख्दा तपाईंहरूले हामीलाई यो प्रश्न गर्ने कुरा स्वाभाविक हो । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यथाशीघ्र बस्ने कुराका लागि नेतृत्वलाई पनि कुरा पु¥याएका छौं ।

संसद्को हिउँदे अधिवेशनको कसरी समीक्षा गर्नुहुन्छ ? 

हिउँदे अधिवेशनको सन्दर्भमा सरकार गठन र पुनर्गठनका लागि बढी समय खर्च भएको छ । यही बीचमा उपनिर्वाचन पनि सम्पन्न भएको छ । संसद्को नियमावली पनि संशोधन गरेर भर्खर पारित गरेको अवस्था हो । यी धेरै कुराले गर्दा हामीले सोचेको जस्तो नीति नियम र कानुनहरू संसद्बाट बनेन होला, तर केही पनि भएन भनेर निष्कर्ष निकालिहाल्न हुँदैन ।

संसद् संसद् जस्तै चल्यो त ?

संसद्ले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सबै दलहरूले आआफ्नो तरिकाबाट आवश्यक प्रयत्न गरेका छौं । तथापि के हो भने संसद् सञ्चालन गर्ने सम्बन्धमा सरकार र सभामुखको विशेष खालको भूमिका रहन्छ ।