देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्र दिवस

लोकतन्त्र कुलिनतन्त्रमा परिणत हुने खतरा छ 

देशान्तर

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पछिल्लो समय लोकतन्त्र खतरामा पर्न थालेको औंल्याएका छन् । तर, लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले अहिलेको अवस्था कायम रहे विस्तारै मुलुक कुलिनतन्त्रमा प्रवेश हुने बताए । देशान्तर साप्ताहिकका लागि मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै नेता घिमिरेले कुलिनतन्त्रमा पैसा र परिवार हावी हुने भएकाले यसबाट मुलुकलाई जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समय राजनीतिबाट विरक्तिएका जस्ता अभिव्यक्ति दिने घिमिरेले यसलाई आफूप्रति हेर्ने दृष्टिकोणका आधारमा धारणा बनाएको टिप्पणी गर्दै उनले भने ‘म एकदमै उत्साहित छु ।’

तपाईं राजनीतिबाट विरक्तिएको हो ?

मान्छेहरूले हेर्ने, बुझ्ने आफ्नो आफ्नो दृष्टिकोण हुन्छ । कस्ता गतिविधिलाई सक्रिय भएको कस्ता गतिविधिलाई निष्क्रिय भएको भनेर हेर्ने कुरा मान्छेको नजरमा भर पर्छ । म अहिले एकदमै उत्साहित छु, विरक्तिएको पटक्कै छैन । मान्छेको शैली भने फरक हुन सक्छ । मेरो यो शैली मात्रै हो, म राजनीतिबाट विरक्तिएको छैन । निकै उत्साहित छु ।  किनभने देशको अहिलेको परिस्थितिबाट मुक्त गर्नको लागि केही न केही गर्नुपर्छ । अहिलेको वर्तमान मौजुदा स्थितिबाट मुलुकलाई, अहिलेको लोकतन्त्र र आफ्नो पार्टी नेपाली कांग्रेसलाई माथि उठाउनका लागि केही न केही गतिविधि गर्नुपर्छ भनेर नै म लागिरहेको छु ।

त्यो केही न केही गतिविधि भन्या के हो त ?

मेरो पछिल्ला सामाजिक सञ्जालमा व्यक्त कुराहरूलाई लिएर धेरै साथीहरूले कतै गुरुराज घिमिरे राजनीतिबाट विरक्तिएको त होइन भन्ने रूपमा पनि लिनुभयो र उहाँहरूले आफ्नो आफ्नो विचार सुनाउनु पनि भयो । एक वर्षअगाडि म यस्तो विन्दुमा पुगेँ त्यतिबेला मैले गरेको राजनीति निरर्थक हो कि जस्तो अवस्थामा पुगेको थिएँ । किनभने त्यतिबेला ममाथि एकपछि अर्को घटनाहरू भएका थिए । ती राजनीतिक घटनाहरू म माथि नै केन्द्रित भएर आएका थिए । त्यसैले आफूहरू जस्तै मान्छेको बीचमा रमाउन सकिँदो रहेछ । तर, आफूभन्दा ठ्याक्कै फरक प्रवृत्तिको मान्छेहरूको जतासुकै बाहुल्य देखेपछि त्यता गाह्रो हुन्छ कि जस्तो लागेर केही गतिविधिहरू मैले गरेको थिएँ । पछि साथीहरूको सल्लाह सुझावअनुसार यो ठाउँ छाडिदिनु भन्या खराब प्रवृत्ति भएका मानिसलाई मैदान छाडेको वा भनौं ‘वाकओभर’ दिएजस्तो हुन्छ भनेर धेरैले सम्झाउनु भयो । उहाँहरूले तपाईं (म) प्रति धेरै आशा छ, एकदमै भरोसा छ भन्ने धेरै साथीहरूको कुरा आयो । मलाई जीवनमै त्यति धेरै साथीहरूले कहिल्यै फोन म्यासेज गरेर कहिल्यै भन्नु भएको थिएन । त्यसयता म एकदमै नयाँ तरिकाबाट अगाडि बढ्ने भनेर लागेको छु ।

त्यो भने अहिले पनि हामीमा परम्परागत कार्यशैली छ । पार्टीभित्र नेता प्रधान छ । नेताको मनोगत चाहनाले मात्रै पार्टीका गतिविधिहरू अगाडि बढ्छन् । विधि र विधान मिचिएको छ । अहिले त पार्टीभन्दा गुट ठूलो गुटभन्दा उपगुट ठूलो भएको अवस्था छ । लाखौं सदस्य भएको पार्टीलाई ४–५ जनाको समूहले नचाइराख्या छ ।

४/५ जनाले घुमाइराख्या पार्टीलाई नयाँ तरिकाले लैजान्छु भन्दा गुरुराज घिमिरे कसरी सफल हुने ?

नयाँ तरिकाले मै लान्छु भनेको होइन, अब नयाँ तरिकाले पार्टी लैजानुपर्छ । म एक्लै यो गर्छु भनेको होइन । सबै मिलेर पार्टीलाई नयाँ तरिकाले लैजाने हो । नेपाली कांग्रेस ‘डेमोक्र्याटिक’ पार्टी हो । यसका केही ‘फन्डामेन्टल प्रिन्सिपलहरू’ हुन्छन् । त्यसैका आधारमा पार्टी चल्नुपर्छ भन्ने मान्यता हो । मार्गचित्रअनुसार विधि र प्रक्रियाहरूबाट नेपाली कांग्रेस चल्नुपर्छ । ती सबै कामहरूलाई अनुसरण गरेर मात्रै राजनीतिक दल अगाडि बढ्नुपर्छ भन्ने विश्वव्यापी मान्यता हो । राजनीतिक दल बन्नका लागि लाखौं सदस्यको ऊर्जा क्षमता मिसिएको हुन्छ, कतिपयले आफ्नो ऊर्जाशील समय नै राजनीतिक दललाई दिएर योगदान पनि गरिरहेका छन् । तर, केही व्यक्तिहरूले ती लाखौं सदस्यको मर्म विपरित सवै आफूले मात्रै गरेर अघि बढेको जसरी काम गर्दा निराशा छाएको हो ।

पछिल्लो समय किन नेपाली राजनीतिमा यति धेरै निराशा छायो ?

हामीले राजनीतिलाई राजनीति जस्तो बन्नै दिएनौं । राजनीतिक दललाई व्यापारिक कम्पनीजस्तो रूपमा मात्रै बनायौं । यो नेपाली कांग्रेसको मात्रै कुरा होइन, नेपालका सबै राजनीतिक दलको अवस्था त्यस्तै छ । राजनीतिक दलका गतिविधिले नै  राजनीतिलाई स्वस्थ र स्वच्छ बनाउने हो । हाम्रा गतिविधिहरू अहिलेको राजनीतिलाई स्वच्छ बनाउने खालका पटक्कै छैनन् । हाम्रो निर्णय गर्ने प्रक्रिया नै प्रदूषित छ । पार्टीको निर्णय भनेको आम सदस्यको चासोको विषय हो । त्यो निर्णयले कार्यकर्ताको जीवन पनि जोडिएको हुन्छ । तर, यहाँ निर्णय सीमित नेताहरूका लागि ख्याल ठट्टाको विषय बन्ने गरेको छ । पार्टीको निर्णयका आधारमा कार्यकताको भविष्य पनि अडिएको हुन्छ । जस्तो एक जना कार्यकर्ता कुनै ठाउँमा उम्मेदवार बन्न खोज्दै गर्दा पार्टीका केही नेताहरूले गठबन्धनको नाममा फलानो ठाउँ अर्को पार्टीलाई छाडिदिने भनेर निर्णय गर्दा वर्षौदेखि राजनीतिक लगानी गरेको कार्यकर्ता त मारमा पर्छ । त्यसैले नेताहरूको लागि ख्याल ठट्टाको विषय बन्दै गर्दा कार्यकर्ताको लागि नियति बन्ने गर्छ ।

यो कुरामा अहिलेका राजनीतिक दलहरू बढिरहेका छन् । नेपाली कांग्रेस पनि यो गलत बाटोमा हिँडिरहेको छ । नेपाली कांग्रेसमा निर्णय प्रक्रिया अपारदर्शी छ, सरोकारवालाहरूलाई कुनै पनि निर्णयमा संलग्न गराइँदैन । दलहरूका नेताहरूकै बीचमा समझदारी पनि छैन । दललाई प्राप्त भएका अवसरहरू लाखौं सदस्यहरूको संघर्षबाट प्राप्त भएका अवसरहरू हुन् । तर, पार्टीभित्र अवसरको वितरण नै न्यायोचित छैन । अवसरहरू अहिले नेताको तजबिजमा अवसरहरू वितरण हुँदै आएका छन् । त्यसो भएपछि कार्यकर्ताको मन टुट्दै जान्छ र नयाँ सदस्यहरू पार्टीमा प्रवेश गर्न नमान्ने अवस्था आउँछ । त्यसैले नयाँ सदस्यको आगमन रोकिने र पुराना सदस्यको योग्यता र तागतमा सधैंभरि पार्टी उभिन सक्ने अवस्था हुँदैन र उसको लोकप्रियताको ग्राफ स्वाट्टै घट्छ । अहिले नेपाली कांग्रेसमाथि यति धेरै संकटहरू आएका छन् । अहिलेको लोकतान्त्रिक शासन प्रणालीमाथि संकटहरू थपिँदै छन् । यो अवस्थामा कसले पुर्‍यायो त भन्दा त यसको जवाफ सहजै भन्न सकिन्छ, हामी नै हौं ।

नेपाली कांग्रेसको नेतृत्वले त सवै आफ्नै ग्रिपमा छ, सबैभन्दा सहज ठाउँमा छ भन्ने दावी गर्छ त ?

सबै कुरा नेपाली कांग्रेसको ग्रिपमा छ भन्ने कुरा प्राविधिक मात्रै हो । मान्छे कति निराश छन् भन्ने कुरा तपाईंले नै केही व्यक्तिलाई सोध्दा प्रष्ट भइहाल्छ ।  अहिलेको राजनीतिक कसरी चलिराख्याछ भन्ने कुरा सिमान्तमा रहेको जनतालाई सोध्नुस् ।  उहाँहरूलाई तिमी सरकारबाट सन्तुष्ट छौं, तिमी अहिलेका राजनीतिक दलहरूबाट सन्तुष्ट छौं भनेर सोध्नुस् त, कुरा बुझिहाल्नुहुन्छ नि । नेपालबाट वार्षिक पाँच लाख युवाहरू रुवावासी गर्दै एयरपोर्टबाट बिदेसिएका छन् ।   अहिले बालबच्चाहरू विदेश जाने क्रम बढ्दै गइराख्या छ । अहिले झज्डै ६० लाख नेपाली विदेशमा छन् । ऊर्जाशील समय नेपालमा बिताउनुपर्ने थियो, उनीहरू अहिले विदेशमा छन् । ती ऊर्जाशील व्यक्तिहरू देशमै बसेर केही न केही काम गर्दा मात्रै देश विकास हुन्छ । तर विडम्बना यहाँको अहिलेको अवस्थाका कारण मानिसहरू आत्तिएका छन् ।

कोरियाको उदाहरण दिने हो, भने त्यहाँ राष्ट्रिय राजमार्ग बनाउँदा २० हजार नर्सलाई जर्मनीमा पठाएर कमाउन लगायो र उनीहरूले कमाएको पैसा राष्ट्रले ऋण लिएर राजमार्ग बनायो । अहिले नेपालमा विप्रेषण आइरहेको छ । तर त्यो हाम्रो राज्यले सदुपयोग नै गर्न सकेको छैन । विदेशमा नेपालीले कमाएको पैसा नेपालमा लुगाफाटा र विलासिताका सामान किन्दामै खर्च भएको छ, यहाँ त सदुपयोग नै हुन सकेको छैन ।  नेपालमा लगानीको कुनै सुरक्षा नै छैन । बाहिर आफ्ना नागरिकले कमाएको पैसा त राज्यले सदुपयोग गर्न सक्छ तर यहाँ त्यो पनि छैन ।  नेपालमा बेरोजगारीको अवस्था त्यत्तिकै छ, औद्योगिकीकरण छैन । कृषिमा आधुनिकीकरण छैन । किसानहरू अहिले पनि निर्वाहमुखी खेती गर्न बाध्य छन् ।  राजनीतिक दलहरूभित्र पनि एउटा समझदारी छैन । दल दलका बीचमा राष्ट्र बनाउने कुरामा कुनै पनि कुरा मिल्दैन । राजनीति भनेको मुलुकलाई सुशासन दिने, समृद्धका साथै धनी बनाउने र जनतालाई सुखी बनाउने हो । अधिकार सम्पन्न नागरिक त्यसपछि सुशासन त्यसपछि सुखी जनता र समृद्धि मुलुक  र अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा नै राजनीति हो । तर हामी यो बाटोमा हिँड्न सकेका छैनौं । त्यसैले यो बाटोमा मुलुक हिँड्नु पर्छ भन्ने हाम्रो  अभियान हो ।

तपाईंको अभियानको कार्ययोजना प्रष्ट पार्नुस् त ?

हामीले मुलुकमा पुनर्जागरण अभियान चलाउनु पर्छ । जागरण अभियान त बारम्बार भइनै रहेका छन् । आन्दोलन पनि एउटा जागरण अभियान हो । हामी नै दुईदुई पटक क्रान्तिमा सहभागिता जनाउने अवसर पायौं । हाम्रो पुस्ताले दुई पटक यो मुलुकको राजनीतिक परिवर्तनमा योगदान पुर्‍याइसक्यो ।  हामीले २०४८ साल यताका ११ वटा निर्वाचन हेरिसक्यौं ।  यसबीचमा संसदीय, स्थानीय, संविधानसभा र प्रदेशसभाका चुनावहरू भइसके । निर्वाचनका प्रवृत्तिहरू पनि हामीले देखिसक्यौं या भनौं झेलिसक्यौं । र मुलुक कसरी अगाडि बढेको छ, निर्वाचन कसरी हुन्छ ? जनता कुन अवस्थामा मतदान गर्ने ठाउँमा पुग्या छन्, भनेपछि यो हामीले हुर्काएको  गलत संस्कार र प्रवृत्ति हो । यो प्रवृत्ति अझ सघन हुँदै गएको छ । त्यसैले गलत प्रवृत्तिका विरुद्ध फेरि प्रयास गरौं भनेर हो । यसका लागि हामीले देशभित्रका विभिन्न सेक्टरमा रहेकाहरूलाई भेटेर भनौं भन्ने अभियान हो । अब पनि हामीले सही ‘ट्र्याक’मा मुलुकलाई अघि बढाउन सकेनौं  लोकतन्त्रलाई ‘ब्याक टु द ट्र्याक’ गर्न सकेनौं भने अब यो कुलिनतन्त्रमा परिणत हुन्छ । कुलिनतन्त्रमा नाता र पैसाबाहेक अरू कुनै कुराले काम गर्दैन ।

तपाईंको अभियानमा एक्लै हो ?

यो अभियानमा म एक्लै छैन, साथीहरू पनि हुनुहुन्छ । यो समय क्रममा को को साथीहरू संलग्न हुँदै जान्छन् त्यो प्रष्ट आइहाल्छ ।

अभियानले पुस्तान्तरण र पार्टी शुद्धीकरणको कुरा गर्नु भएको छ, सम्भव छ ? 

मूलतः यो जागरण अभियान हो । यसको प्रतिफल भनेको झिल्कोले डँढेलो लगाउने हो । कुनै पनि सानो झिल्कोबाट सबै कुराको प्रारम्भ हुन्छ । दुनियाँका क्रान्ति तथा आन्दोलनहरू तपाईंले हेर्नुभयो भने  जागरण अभियानबाटै प्रारम्भ भएका छन् । यो भनेको सुधार आन्दोलन पनि हो । त्यसैले हामीले कोसिस गरेका हौं ।  हुन्छ हुँदैन थाहा छैन ।  किनभने समाज यसरी विकृतिले गाँजिएको छ । लोकतन्त्रको सबैभन्दा खराब पक्ष के हो भने यहाँ विधिको गणना नभई टाउकोको गणना हुन्छ । फेरि यो प्रणालीभन्दा गतिलो प्रणाली पनि अर्को छैन । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो ।  यसका पनि केही खराब पक्ष हुन्छन् । यहाँ  १०–२० जना मान्छेले होहल्ला गरेपछि त्यही कुरा लागू हुन्छ । लोकन्त्रका विकृतिहरूलाई  यहाँभित्रका विधिविहीनतालाई  यहाँको अराजकतालाई प्रश्रय दिने नेतातन्त्र चलिरहेको छ । त्यसैले लोकतन्त्रलाई आफ्नो मूल चरित्रमा फर्काउनु पर्छ अनिमात्रै देशको भविष्य हुन्छ र नयाँ पुस्ताको पनि भविष्य सुरक्षित हुन्छ भन्ने कुराहरू साथीहरूलाई बुझाउनका लागि यो गर्न लागेका हौं ।

पछिल्लो समय नेपाली राजनीतिमा अलि बढी चटकहरू देखिन थाले है ?

राजनीतिका मूल खेलाडीहरूप्रति जनताको भरोसा टुटिसकेपछि यी नेताहरूबाट मुलुक अघि बढ्न सक्दैन भन्ने मानसिकता बनेको छ । यस्तो अवस्थामा निराश भएका जनतासँग म गर्छु भन्न कोही जान्छ भने  तत्कालै उनीहरूले विश्वास गरिहाल्छन्, अहिले भएको पनि त्यही हो ।  जनताले अहिले भरोसा खोजेको छ ।   जनता आश्वस्त हुन चाहन्छ ।  किनभने पछिल्ला ११ पटकका चुनावमा यिनै नेताबाहेक अरूलाई देखेकै छैन । संसद् र संविधानसभाका ७ तथा स्थानीय निकाय र स्थानीय तहका ४ गरी २०४६ सालको परिवर्तन पनि मुलुकमा ११ वटा निर्वाचन हुँदा यिनै अहिलेका नेताहरूमात्रै त मतदाताको नजरमा परे । हामी ११ वटा निर्वाचनमा सहभागी भएको पुस्ता अहिलेको हो । यी निर्वाचनबाट निर्वाचित भएर आएका हामीहरूप्रति जनताको भरोसा नै टुट्न थालेको छ ।

पहिलाको अवस्था र अहिलेको अवस्थामा कुनै भिन्नता पनि छैन । यसको जिम्मा हामीले नै लिनुपर्छ । हामीले जनतालाई भन्दा पनि नेतालाई नै दोष दिनुपर्छ । २०४६ पछि हामीले ३५ वर्ष गुजारिसकेका छौं ।  यो ३५ वर्षमा कुनकुन क्षेत्रमा चित्तबुझ्दो काम भयो भनेर कुरा गर्ने हो कुनै पनि क्षेत्रमा चित्तबुझ्दो काम भएको छैन ।  कृषि, उद्योग, पर्यटन, स्वास्थ्य, शिक्षा तथा सेवा कुनै पनि क्षेत्र सन्तुष्ट हुने अवस्था छैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यसको विपक्षमा हामी जानै सक्दैनौं । अहिलेकै व्यवस्थालाई परिस्कृत गर्नका लागि हामी सबै लाग्नुपर्छ ।