मलेसियामा निधन भएका पतिको शव बुझ्न आएकी एक महिला होटेलको पैसा तिर्न नसक्दा अलपत्र परेकी छिन् ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० का श्रीमान उमेश टमाटा ६ वर्ष अघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।
तर, गत फागुन १४ गते मलेसियामा अचानक स्वास्थ्यमा समस्या आएको र उनको उतै निधन भएको थियो ।
उमेशको शव फागुन २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो ।
विमानस्थलबाट शव बुझेर श्रीमति चम्फा टमाटाले अन्त्यष्टि पनि गरिन् । अन्त्यष्टिका लागि उनका परिवारका अरु सदस्य पनि काठमाडौं आएका थिए ।
अरु घर फर्किए पनि उमेशकी श्रीमति खर्च अभावका कारण अहिले पनि काठमाडौंको माछापोखरीमा रहेको एक होटेलमा बस्न बाध्य छिन् ।
होटेल सञ्चालकले उनी बसेको खर्च नतिर्दासम्म जान नदिने बताएपछि सहयोगका लागि याचना गरेकी छिन् ।
उमेशको मलेसियामा निधन भएर शव पठाउँदा राजदूतावासले क्षतिपुर्तिका लागि कुनै पहल नगरेका उनका आफन्तले बताएका छन् ।
वैदेशिक रोजगार विभागले शव ब्यवस्थापन खर्च भनेर २५ हजार रुपैया दिएको र त्यो पैसा त्यसैमा खर्च भएकाले आफू अहिले होटेलमा बन्धक जसरी बस्नु परेको बताइन् ।
उनले भनिन् ‘बन्धक भनेर यातना त दिइएको छैन, तर पैसा नतिर्दासम्म साहुले जान नदिने भन्नु भएको छ, मलाई साह्रै अप्ठेरो परेको छ , कसैले आर्थिक सहयोग गरिदिए घर जाने र त्यहाँ आफ्ना २ जना बच्चालाई भेट्न पाउने थिए भन्ने आशा गरेकी छु ।’
उमेश वैदेशिक रोजगारीमा जाँदा गुराँस लाइफ इन्स्योरेन्सबाट ४ वर्षको इन्स्योरेन्स गरेका थिए । तर उनी ६ वर्ष उता बस्दा २ वर्षदेखि नविकरण नभएकाले त्यहाँबाट पनि सहयोग नपाएको श्रीमती चम्फाले बताइन् ।
उनलाई सहयोगका लागि ९८६२७५०२७३ मा सम्पर्क गर्न सकिने छ भने कुमारी बैंकको खाता नम्बर १७१०१३६७४७२००००१ को खाता नम्बर चम्फा टमाटा रहेको छ ।
प्रतिक्रिया