देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हामी एक भएकाले चुनाव जित्छौं

देशान्तर

वैशाख १० गते देशका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै छ । मंसिर ४ गते सम्पन्न भएका १६५ निर्वाचन क्षेत्रमध्ये तनहुँ १ का रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति र चितवन १ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि अहिले तनहुँ १ चर्चामा छ । कारण हो राष्ट्रपतिको गृह जिल्लाका साथै उनकै निर्वाचन क्षेत्र । त्यहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । उनलाई सत्तारूढ पाँचदलीय गठबन्धनले साथ दिएको छ भने उनीसँग प्रतिस्पर्धा गर्नका लागि नेकपा एमालेले काठमाडौंमा पराजित भएका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्लेलाई पठाएको छ । अन्य उम्मेदवारको तुलनामा माटोमा भिजेका उम्मेदवारको रूपमा गोविन्द भट्टराईलाई लिन सकिन्छ । उनै भट्टराईले देशान्तर साप्ताहिकका लागि सिटी पोखरेलसँग कुरा गर्दै अहिले पार्टी र गठबन्धन एक ढिक्का भएकाले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । कुराकानीको सम्पादित अंश ।

अहिले उपनिर्वाचनमा उम्मेदवार बन्नु भएको छ, उम्मेदवार बन्न नै निकै समय लाग्यो है ?
तनहुँ जिल्ला राष्ट्रिय राजनीतिमा महत्वपूर्ण जिल्ला हो । विगतदेखि नै यहाँबाट नेतृत्व गर्नेहरू उच्च तहमा रहनु भयो । रामचन्द्र पौडेल र गोविन्दराज जोशी दाइहरूले नै यो क्षेत्रमा लामो समयदेखि चुनाव लड्नु भयो ।  जिल्ला पनि सानो भएको र अन्य जिल्लाबाट चुनाव लड्ने कुरा त्यो बेला मेरो लागि भएन । त्यो कारणले गर्दा मात्रै मैले धेरै समय टिकट पाउनकै लागि कुर्नु पर्‍यो ।

यसले त युवाहरूलाई कांग्रेस अवसर पाउन त धेरै नै कुर्नुपर्ने रहेछ भन्ने बुझियो ?
सबै युवाहरूले एकै पटक अवसर नपाउन पनि सक्छन् । मैले पनि कुर्नु परेको हो । यहाँ पहिलादेखि नै भनिन्छ नि, हेभिवेट उहाँहरू भएकाले हामी युवाहरूले मौका ढिला पाएका हौं ।  अरू युवाहरूले त अवसर पाइरहनु भएकै छ नि । यसमा माथिबाट छान्ने मान्छेको पनि कुरा हुँदो रहेछ । मैले ग्राउन्ड लेभलमा पिकअप गरे तर माथिबाट मलाई पिकअप गर्न केही समय लाग्यो ।

कतै गृह जिल्ला तनहुँ भएका कारणले त पछि परिन भन्ने मनमा लाग्छ ?
जिल्ला सानो भएकाले पनि हो र सँगसँगै अन्य राजनीतिक नियुक्तिहरूमा पनि म अन्यत्र जान नचाहेकाले यस्तो भएको हो ।

अहिले तपाईं उम्मेदवार हुनुहुन्छ, पार्टीभित्र सबै एक छ कि अलि जोखिम नै हो ?
विगतमा तनहुँ कांग्रेसमा अलिअलि विवाद थियो । तर अहिले चुनावको सन्दर्भमा कुनै त्यस्तो विवाद छैन । सौहाद्र्रपूर्ण वातावरणमा हामी चुनावी प्रचारप्रसारमा केन्द्रित भएका छौं । वैशाख १० गतेका लागि सिंगो पार्टी एक भएर लागेको छ । हामी ढुक्क छौं । यसभन्दा अगाडि पनि नेपाली कांग्रेसले जितेकै क्षेत्र हो, त्यसले गर्दा हाम्रो जित सुनिश्चित छ ।

अहिले पार्टीले त गोविन्दराज जोशीको कारबाही फिर्ता लिएको छ, तपाईंसँग समन्वय भएको छ उहाँको र उहाँको टिमको ?
गोविन्दराज जोशी तनहुँ कांग्रेसको अग्रज नेता हो । उहाँको र मेरो बीचमा द्वन्द्व पनि छैन र हुनुपर्ने कारण पनि छैन । विगतमा उहाँले टिकट लिएर आउँदा मैले सधैं उहाँको झोला बोकेर हिँडेकै हो । त्यसले गर्दा उहाँले मलाई नै सहयोग गर्नुहुन्छ ।

तपाईंले प्रतिस्पर्धीहरूलाई कसरी लिनु भएको छ ?
तनहुँको उपनिर्वाचनमा प्रतिस्पर्धा नेपाली कांग्रेस र एमाले पार्टीका बीचमा हुन्छ । रातारात नेपाली कांग्रेस छाडेर गएकाहरूको उदय अहिलेसम्म भएको इतिहास पनि छैन र यस पटक पनि हुँदैन । त्यसैले छोड्नेहरूको अवस्था अलपत्र नै देखिन्छ । कांग्रेसको स्थापनाकालदेखि नै कांग्रेसलाई च्यालेन्ज गर्न आएका पार्टीहरू कहिले कांग्रेसभन्दा ठूला पनि भए होलान् तर अधिकांश समय कांग्रेसभन्दा एकदमै सानो भएका छन् र एकदमै टुटे, फुटेर खिइएका छन् । अहिले यहाँ आउनु भएका उम्मेदवार भनेको भेलजस्तो हो । उहाँहरूको नीति सिद्धान्त र नैतिकता केही पनि छैन ।

तपाईंको प्रतिस्पर्धा स्वर्णिम वाग्लेसँग कि सर्वेन्द्र खनालसँग ?
मेरो प्रतिस्पर्धा एमालेका उम्मेदवारसँग हो । मंसिर ४ को चुनावमा स्वतन्त्र पार्टीले त यहाँ साढे ५ हजार मत मात्र त ल्याएको थियो । यहाँ विगतदेखि नै नेपाली कांग्रेस र एमालेका बीचमा नै मुख्य प्रतिस्पर्धा हुँदै आएको छ ।

तर, स्वतन्त्र पार्टीको ह्विम पनि बढ्दो छ भन्छन् फेरि ?
एउटा सानो बच्चा भर्खर जन्मिएको अनि ६–७ महिनाको बच्चा त सबैका लागि प्रिय नै हुन्छन् । अनि अलि हुर्किन थाल्छ, उसका काम कारबाहीहरू विस्तारै उजागर हुँदै जान्छन् ।  चुनाव लड्नुभन्दा अगाडि त्यो पार्टीको अवस्था के थियो र चुनाव लडिसकेपछि त्यो पार्टीको अवस्था के छ भन्ने कुरा पनि होला । अहिले निष्ठा, नैतिकता, इमान्दार, भ्रष्टाचारविरोधी कुरा आएको थियो । जुन पार्टीको अध्यक्षकै नागरिकताको टुंगो रहेनछ । उहाँकै मुद्दाहरू रहेछन् । यो त विस्तारै जाने कुरा हो । लोकतन्त्रमा जसले जसलाई पनि च्यालेन्ज गर्न त मिल्छ । जुन कुरा एक्सपोज हुँदै जान्छ त्यसपछि सबै कुराहरू बाहिर आउँदै जान्छ ।

यसले त ठूला दलहरूलाई च्यालेन्ज गरेको जस्तो देखिएन र ?
च्यालेन्ज त सधैं भइरहन्छ नि । पहिला नेपाली कांग्रेस मात्रै ठूलो पार्टी थियो । पछि एमाले आयो । त्यसपछि माओवादी पनि आयो । लोकतन्त्रमा दलहरू आउने र जाने क्रम चलिरहन्छ । तर, कुन पार्टी टिकेर बस्छ, कसको सिद्धान्त राम्रो रहेछ, कस्को व्यवहार राम्रो रहेछ, भन्ने कुरा त पछाडि न थाहा हुने हो ।

अहिलेका नयाँ दल भनेका पुराना दलहरूलाई सुध्रिनका लागि पनि त हुन सक्छ नि ?
सुध्रिनका लागि पनि त राम्रो विकल्प खोजी गर्नु पर्‍यो । सुध्रिन पाइन्छ र सुधार्न पनि सकिन्छ । यही पार्टीलाई पनि सुधार्न नसक्ने भन्ने त होइन । तपाईंको घरभित्र फोहोर छ भने तपाईं घर नै छाडेर हिँड्नु हुन्छ कि घरको सरसफाइ गर्नतिर लाग्नुहुन्छ कुरा त्यहाँनेर हो ।

कांग्रेसमा डेलिभरी कमजोर भयो पनि भन्छन् फेरि ?
डेलिभरी कमजोर भयो भन्ने कुरा स्वर्णिम वाग्लेजस्ता अवसरवादीलाई अवसर नदिएका कारणले भनिएको हो । यस्तै अवसरवादीलाई पद नदिएको, नराखेको विदेशबाट आउनेवित्तिकै राज्यमन्त्री सरहको उपाध्यक्षले पुगेन उहाँलाई । त्योभन्दा माथिको खोज्नु भयो । जसको क्रियाशील सदस्यता लिएकै पाँच वर्ष पुगेको थिएन । आजसम्म उहाँ पार्टीको कुनै पनि निकायमा निर्वाचित हुनु भएको छैन, महासमिति सदस्यमा पनि उहाँलाई मनोनीत गरेर ल्याइदिएको हो । अनि यस्तै अवसरवादीहरूलाई अवसर नदिएका कारणले कांग्रेस कमजोर भयो भन्ने कुरासँग म सहमत छैन । कांग्रेस एउटा निष्टाबाट, इमान्दारिताबाट र क्रान्तिबाट विचारले जन्मिएको पार्टी हो । नेपाली कांग्रेसमा यस्तो भइरहन्छ । कोही आउँछन्, जान्छन् । यो समुन्द्र हो ।

जनताले अवस्था परिवर्तनको आक्रोश तपाईंहरूमाथि देखाएका होइनन् र ?
म प्रश्न गर्छु, यो बीचमा उहाँहरूले के अवस्था परिवर्तन गर्नुभयो । आउनेवित्तिकै उहाँहरूलाई त सत्ता चाहिने रहेछ । आफ्नो मात्रै परिवर्तन चाहिने रहेछ ।  नयाँ आउनु भएकाहरू आफ्नो मात्रै परिवर्तनको खोजीमा हुनुहुन्छ जनताको परिवर्तनको खोजीमा होइन । आफ्नो परिवर्तन कुन पार्टीमा गए पछि पाइन्छ भनेर खोज्दै चहार्दै हिँडिरहने मान्छेले अनि देश परिवर्तन गराउँछुभन्दा जनताले पनि पत्याउँदैनन् ।

तपाईंले विद्यार्थी राजनीति गर्दाको कांग्रेस र अहिले ढिला अवसर पाएर उम्मेदवार बन्दाको कांग्रेस कसरी तुलना गर्ने ?
म त स्वार्थ त्यागेर राजनीतिमा आएको मान्छे हुँ । मलाई पनि पहिला अन्य दलहरू र अन्य व्यवस्थाबाट अवसरका लागि अफर आएको थियो । पञ्चायतकालमा हामीजस्तो मान्छेलाई मन्त्री हुनुपर्छ । एमपी हुनुपर्छ भन्ने अफर थियो । तर हामीले निष्ठा छाडेनौं, पार्टी छाडेनौं । हामी त त्यही व्यवस्थाको विरुद्ध संघर्ष गरिराख्यौं । अहिले पनि पञ्चायत नढलेको भए पनि गोविन्द भट्टराई नेपाली कांग्रेसबाट व्यवस्थाविरुद्धको संघर्षमै रहन्थ्यो । केवल पद प्राप्तिका लागि मात्रै राजनीति गर्ने एकथरी मान्छेहरू छन् भने अर्काथरी मान्छेहरू सिद्धान्त व्यवहारमा अडिग रहेर राजनीति गर्नेहरू पनि छन् । त्यसैले यस्ता दुई खाले मान्छेहरूमा को असल, को खराब भन्ने मूल्यांकन मतदाताले गरिहाल्छन् ।

सर्वेन्द्र खनाल, काठमाडौंमा हारेर जानु भएको छ, स्वर्णिम वाग्ले टुरिस्ट उम्मेदवार, फेरि तपार्इंंले तनहुँ कांग्रेस पनि मिलाउन पहल गर्नु भएन भन्छन् ?
नेविसंघमा पनि अलिअलि गुटबन्दी हुन्थ्यो । सबै नेविसंघका साथीहरू मिलाएर इतिहासमै सबैभन्दा धेरै युनियनमा निर्वाचन जिताएको मान्छे हुँ । एमालेबाट अहिले मसँग प्रतिस्पर्धा गर्न आउनु भएका उम्मेदवार मंसिर ४ को चुनावमा काठमाडौंमा पराजित हुनु भएको उम्मेदवार हो । उहाँ आफ्नो घरबास भएको ठाउँमा पराजित भएपछि अहिले यतातिर झर्नु भएको हो । उहाँ त जागिर खाएर रिटाएर भएपछि रिल्याक्स गर्न राजनीतिमा आउनु भएको हो । उहाँको सन्दर्भ भनेको आए आँप गए झटारो भन्ने मानसिकताका साथ तनहुँ झर्नु भएको छ । त्यसले गर्दा उहाँहरू यहाँको माटोसँग भिज्नु पनि भएको छैन भने यहाँका कुनै योजनामा एक हजार छुट्ट्याएर योगदान पनि गर्नु भएको छैन । एक मिटर पाइप बाँड्ने कुरा त परको हो उहाँहरू यहाँका जनताको कामका लागि एउटा निवेदन लिएर कुनै सरकारी कार्यालयमा गएको रेकर्ड पनि छैन । त्यसैले उता हारे पनि यहाँ केही पाइहालिन्छ कि भन्ने उद्देश्यले आउनु भएको हो । यसैगरी नेपाली कांग्रेस छाड्दा कतै ठूलो भाग पाइहालिन्छ कि भनेर अर्को उम्मेदवार आउनु भएको छ । आफूले पाउनका लागि आएको उम्मेदवार र अरूलाई दिनका लागि यही जन्मिएको उम्मेदवारका बीचमा तुलना नै हुँदैन ।

तपाईंको चुनावी एजेन्डा के हो त ?
मेरो एजेन्डा भनेकै जनताको सेवा गर्ने हो । यहाँका हरेक समस्या समाधानका लागि मेरो पहल जहिले पनि हुन्छ । हिजो हामीभन्दा अगाडिका नेताहरूले पनि काम गर्नुभएको छ । उहाँहरूले गर्दागर्दै अपूरा रहेका योजनाहरूलाई हामीले अघि बढाउने हो । यसका लागि म प्रतिबद्ध पनि छु ।

विकासका योजनाहरू त केही प्राथमिकीकरण गर्नु भएको होला नि ?
मैले विकासका योजनाहरूलाई प्राथमिकीकरण गरेको छु । सडक विस्तार गर्ने । उत्तर दक्षिण करिडोर निर्माण गर्ने कुराहरू । यसैगरी विभिन्न ठाउँमा पुल निर्माण गर्ने कुराहरू, बाटो पिच गर्ने कुराहरू समावेश गरिएका छन् । खानेपानीको त म अभियन्ता नै हुँ । धेरै खानेपानीमा म र अरू साथीहरूको ठूलो भूमिका रहेको छ । यसलाई पनि मैले निरन्तरता दिन्छु ।  यसैगरी माओवादीका साथीहरू र विगतमा एकीकृत समाजवादीका  नेता किसान श्रेष्ठ मन्त्री बन्दा योजनाहरू आएका छन् । त्यसैगरी कृषि क्षेत्रलगायत हरेक कुरामा मेरो ध्यान हुन्छ । म जनताकै बीचमा रहन्छु । यसैगरी पयर्टनको विकासदेखि तनहुँको प्राकृतिक स्रोतसाधनको प्रयोग गर्ने कुराहरूमा पनि विशेष ध्यान हुन्छ ।  साथै यस क्षेत्रमा मैले धेरै काम गरेकाले यहाँका मतदाताले गोविन्द भट्टराई जनताका काम गर्ने मान्छे हो भन्ने रूपमा बुझेका छन् ।

गठबन्धनको परिचालन कसरी गर्नुहुन्छ ?
गठबन्धनको विषय केन्द्रबाटै बनेर आएको हो । त्यसैअनुसार चुनाव परिचालन समिति अघि बढेको छ । त्यही आधारमा सबै साथीहरू परिचालित हुनु भएको छ ।

विगतको कांग्रेसको राजनीतिले केही प्रभाव पार्छ कि ?
तपाईंले भन्न खोजेको रामचन्द्र पौडेल र गोविन्दराज जोशीको विषय होला । म उहाँहरू दुवैजनाको चेलो हुँ । उहाँहरूका ेबीचमा हिजो के थियो त्यो अर्को पाटो हो त्यसमा म टिप्पणी पनि गर्दिनँ । उहाँहरू दुवै जनाको साथ हुन्छ । संविधानअनुसार रामचन्द्र पौडेल राष्ट्रपति भएका कारण प्रत्यक्ष सहयोग हुँदैन, उहाँको मलाई आशीर्वाद मात्र हो । गोविन्दराज जोशीले सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।