देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले जित्याे थ्री नेसन्स कपको उपाधि

देशान्तर

काठमाडौं – नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनल खेलमा पहिलो हाफमा बराबरी खेल्दा दोस्रो हाफमा भने पुनरागमन गर्न सफल भएको हो ।

नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि दिलाउन सफल भएका हुन् । प्रतिष्पर्धात्मक बनेको खेलमा पाहुना टोली लाओसले शुरुवात भने आक्रामक गरेको थियो । सो क्रममा १७ औं मिनेटमा फौटाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए ।

बाउनफाचन बाउनकोङले डिबक्स बाहिरबाट मिलाइिदएको पासलाई सदुपयोग गर्दै साङभिलेले नेपालका गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए । त्यसपछि दबाबमा परेको घरेलु टोलीले केही राम्रा बनाएपनि सदुपयोग गर्न असफल भएको थियो ।

२४ औं मिनेटमा आयुष घलानले नेपाललाई बराबरीमा ल्याए । एरिक बिष्टले उपलब्ध गराएको पासलाई आयुषले पेनाल्टी क्षेत्रबाट अगाडि बढाउँदै जाली चुमाउन सफल भएका थिए ।खेलको ८७ औं मिनेटमा मनिषले अञ्जन बिष्टले उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरे । बाँकी सयम पनि थप गोलका लागि प्रयास भएपनि हुन सकेन र नेपालले घरेलु भूमिमा उपाधि उचाल्न सफल भयो ।

यस जितसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ । फाइनलमा खेलमा मनिष डाँगी म्यान अफ दि म्याच चुनिँदै नगद २ सय ५० डलर प्राप्त गरे । यस्तै प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी हुँदै नगद ५ सय डलर हात पारे । प्रतियोगितामा तीन टोलीको सहभागित रहेको थियो । भुटान समूह चरणबाटै बाहिरिँदा नेपाल र लाओसले उपाधिका लागि प्रतिष्पर्धा गरेका हुन् ।